सिन्धुपाल्चोकमा पाँच वटा सरकारी कार्यालयको उद्घाटन

 भदौ २८, २०७६ शनिबार १४:५:५६ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक - भूकम्पबाट क्षति भएका सिन्धुपाल्चोक जिल्लाका पाँच वटा सरकारी भवनको पुनर्निर्माणपछि उद्घाटन गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली, संघीय संसदका सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङले पुनर्निर्माण सम्पन्न भएका भवनहरुको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन गरिएका भवनहरुमा जिल्ला वन कार्यालय एनेक्स भवन, कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रमुख जिल्ला अधिकारीको आवास भवन, मालपोत कार्यालय एनेक्स भवन र जिल्ला आकस्मिक सहायता भवन छन् ।

यी भवनहरुको नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगमा भवनहरु पुनर्निर्माण गरिएको हो । पाँचवटा भवनको पुनर्निर्माण लागत १५ करोड रुपैयाँ छ ।

शुक्रबार चौतारामा आयोजित उद्घाटन समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण गरिएका नयाँ भवनहरुमा सरकारी सेवा प्रवाह अझ प्रभावकारी हुने र जनतालाई थप सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चाेकमा निजी आवास, विद्यालय, सरकारी भवन लगायतको पुनर्निर्माणले विपद्लाई अवसरका रुपमा परिणत गरेको बताउनुभयो ।

सांसद अग्नि सापकोटाले भौतिक संरचनाहरुको पुनर्निर्माणले सिन्धुपाल्चोकको मुहार बदलेको बताउनुभयो । उहाँले यसरी पुनर्निर्माण होला भनेर विपद् लगत्तै आफूले नसोचेको उल्लेख गर्दै पुनर्निर्माणमा संलग्न सबैलाई धन्यवाद दिनुभयो । सांसद सापकोटाले भूकम्प स्मृति पार्कको पुनर्निर्माण प्रकृया अघि बढेको भन्दै यसलाई नमूनाका रुपमा अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो ।

अर्का सांसद शेरबहादुर तामाङले जिल्लामा पुनर्निर्माण राम्रोसँग अघि बढेको बताउँदै मानवीय क्षति भए पनि भूकम्प अभिशाप नभइ वरदान सावित भएको बताउनुभयो । उहाँले पुनर्निर्माणपछि सिन्धुपाल्चोक विकासको नमूना जिल्लामा पर्ने दावी गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जनता, जनप्रतिनिधि लगायतलाई धन्यवाद दिनुभयो ।

प्रदेश नम्बर-३ का सभासद् सुरेश नेपालले निजी आवास, सरकारी भवन लगायतका संरचनाहरु बनेको खुशी व्यक्त गर्नुभयो । उहाँले बाँकी रहेका सम्पदा र जनताका गुनासाको सुनुवाइ गर्न सुझाव दिनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ९भवन० का आयोजना निर्देशक नवराज प्याकुरेलले भूकम्पबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणलाई समयमा सम्पन्न गर्नेगरी काम गरेको बताउँदै पुनर्निर्माणमा सहयोग गर्ने निर्माण व्यवसायी लगायत सबैलाई धन्यवाद दिनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख सन्तोष निरौलाले नेपाल सरकार र एसियाली विकास बैंकमार्फत १७ वटा भवनमध्ये ६ वटाको पुनर्निर्माण सम्पन्न भएको र १० वटा पुनर्निर्माणको प्रकृयामा रहेको जानकारी दिनुभयो । उहाँले भारतीय एक्जिम बैंकबाट प्राप्त हुने रकमबाट बन्ने सरकारी भवनहरुको पुनर्निर्माण प्रकृया पनि अघि बढेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया