म्याग्दीमा बाढी : एक विद्यालयसहित ८ ओटा घरमा क्षति, बेपत्ता २ बालिका अझै भेटिएनन्

 असोज ५, २०७६ आइतबार १२:१२:२२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलामा आएको बाढी बस्तीमा पस्दा बुद्ध एकेडेमी विद्यालयसहित ८ घरमा क्षति पुगेको छ ।

बाढीले तीन वटा घर भत्किँदा भाग्ने क्रममा हराएका २ बालिका १० वर्षीया प्रविना परियार र ६ वर्षीया अनुस्का परियार अहिलेसम्म भेटिएका छैनन् । बाढीका कारण ८ घर परिवार पीडित बनेको र ३१ जना प्रभावित भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घर बाढीले पूर्णरुपमा क्षति पुर्याएको छ । यसैगरी, सेते किसान, विष्णु दर्जी, अनिता परियार, रेशम दर्जी र चमेली परियारको घरसहित ३१ जना प्रत्यक्ष रुपमा प्रभावित भएको प्रहरी नायब उपरीक्षक मरासिनीले बताउनुभयो ।

कोटखोलाले परम्परागत धार परिवर्तन गरी मानववस्ती र विद्यालयतर्फ पसेपछि क्षति पुगेको हो । बुद्ध एकेडेमीको खेलमैदानमा बाढी पसेको र कक्षाकोठा बन्द भएका कारण बग्न नपाउँदा क्षति पुगेको बताइएको छ । 

बाढीकै कारण बुद्ध एकेडेमी नजिकै रहेको ब्लक उद्योगमा समेत क्षति पुगेको छ भने स्थानीयको धानखेत पुरिएको छ । कोटखोलामा ठूल्ठूला रुख तथा दाउरा, ढुङ्गा, माटो र गेगरसहित आएको लेदोले बेनी–हाँडेभीर–बगरफाँट–सुर्केमेला हुँदै बराङ्जा जाने ग्रामीण सडक अवरुद्ध बनाएको छ । 
अहिले हराइरहेका २ जना बालिकाको खोजी भइरहेको छ ।

बाढीबाट विस्थापित र प्रभावितको उद्दार गर्ने, राहत वितरणको काम भैरहेको बेनपा–२, ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो । नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासीले खोज, उद्दार एवं पीडितको व्यवस्थापनका लागि काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

बाढीले क्षति पुर्‍याएको खबरलगत्तै गण्डकी प्रदेशका सदस्य विनोद केसी, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले स्थलगत रुपमा अवलोकन गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया