पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
मोरङ – धनकुटाको महालक्ष्मी नगरपालिकाका शिक्षा संयोजक (उपसचिव) सूर्यप्रसाद सुवेदीले तलब नपाएको साउन महिनादेखि नै हो ।
दशैँ आउन अब १० दिन पनि बाँकी छैन तर अहिलेसम्म तलब नआउँदा सुवेदीजस्ता धेरै कर्मचारीलाई समस्या भएको छ । सुवेदीले तलब नपाएको गुनासो फेसबुकमा पोख्नुभयो, ‘आज पनि मोबाइलको म्यासेज बक्समा राष्ट्रिय वाणिज्य बैंकको म्यासेज आएन । भोलि दशैँको जमरे औँसी रे । चाडपर्व खर्च त टाढैको कुरो भयो । श्रावणदेखि आजसम्म धन्न होटलमा खाना खान पाइएको छ । होटल धनी राम्रो हुनुहुन्छ । म र म जस्ताको मर्म बुझ्नु हुन्छ । आफै पकाएर खाना खान थालेको भए बिजोग हुने रहेछ । अब महिनावारी तलब खाने व्यवस्थाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन पठाउनु पर्ने भयो जस्तो छ । तलब दिन पनि आफ्नै निजी सम्पत्तिबाट दिनु पर्ने जस्तो व्यवहारदेखि म अचम्मित छु । तलबको पेरोल, भौचर र चेक तयार गर्न नसक्ने भए सक्दिनँ भनेर श्री ३ ले हात उठाए म नै १ घण्टामा तयार गरेर बैङ्क पठाउने थिएँ ।’
उहाँले लेखेको यो फेसबुक स्टाटसले महालक्ष्मी नगरपालिकामा कार्यरत सबै कर्मचारीको प्रतिनिधित्व गर्छ । निजामती कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायत कसैले पनि साउनदेखि तलब पाएका छैनन् ।
सुवेदीकै भनाइलाई आधार मान्ने हो भने, ‘संघीयता कार्यान्वयन पछि न तलब समयमा छ, न कर्मचारी सञ्चयकोषको रकम नियमित जम्मा नै हुन्छ ।’ अनि नागरिक लगानी कोषको रकम समेत समयमा जम्मा हुन नसकेको आरोप लाग्दै आएको छ । बेथितिले सीमा नाघेको कर्मचारीहरु बताउन थालेका छन् ।
यस नगरपालिकामा मात्र ४५ जना कर्मचारीको दरबन्दी हो । स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा ७० जनाभन्दा माथि कर्मचारी गरि करिब १२० जना कर्मचारीले साउनदेखि तलब नपाएको गुनासो गरेका छन् । यस नगरपालिकामा काम गर्ने शिक्षकको त गन्ती नै गरिएको छैन । कति कर्मचारी छन् भन्ने जानकारी प्रमुख प्रशासकीय अधिकृतसँग पनि छैन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीले निकासा हुन ढिला भएको कारण मुख्य समस्या भएको बताउनुभयो, ‘अहिलेसम्म कुनै पनि कर्मचारीलाई तलब दिइएको छैन, मैले पनि तलब खाएको छैन ।’ उहाँले भन्नुभयो, ‘अबको २/३ दिन भित्रमा सबैलाई तलब खुवाउने तयारी भइरहेको छ ।’
सुरुमा नियमित तलब खुवाएको दाबी गरे पनि प्रमुख प्रशासकीय अधिकृत रायमाझीले पछि भने चार महिनादेखि तलब निकासा नभएको स्वीकार गर्नुभयो । ‘खाता सञ्चालन नभएका कारण निकासा भएको थिएन’, उहाँले भन्नुभयो, ‘संघबाट नै यस्तो हुँदा मैले पनि तलब पाएको छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।