त्रिकोणात्मक टी-२० सिरिज : शनिबार नेपाल सिंगापुरसँग खेल्दै

 असोज ११, २०७६ शनिबार ९:४५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाअन्तर्गतको दोस्रो खेलमा शनिबार नेपाल र घरेलु टोली सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिस्पर्धी सिंगापुरलाई हराउने अपेक्षा गरिएको छ । सिंगापुरकाे इन्डियन एसाेसिएशन मैदानमा हुने याे खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजेदेखि सुरू हुनेछ ।

तर पछिल्लो खेलमा टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई ८२ रनले हराएर सिंगापुरले ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको थियो । त्यही प्रतियोगिताको तयारीका लागि उसले यो त्रिकोणात्मक शृंखला आयोजना गरेको हो । एसिया छनोटमा सिंगापुरले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपाल १०९ रनमै अलआउट भएको थियो ।

अस्ट्रेलियाली मूलका सिंगापुरका ब्याट्सम्याट टिम डेभिड नेपालका लागि शनिबारको खेलमा पनि मुख्य खतरा हुन सक्छन् । एसिया छनोटको खेलमा उनी एक्लैले ४३ बलमा ७७ रन प्रहार गरेका थिए ।

टी-२० क्रिकेटमा अहिलेसम्मको ६ भेटमा सिंगापुरले नेपाललाई पराजित गरेको त्यही पहिलोपल्ट थियो । त्यो हार नेपालका लागि भने निकै महंगो यसकारण पनि परेको थियो कि नेपालको विश्वकप सपना तुहिएको थियो ।

टेस्ट मान्यताप्राप्त जिम्बाब्वेसँग हिजो नेपालको ब्याटिङमा कमजोर प्रदर्शन गरे पनि बलिङमा सन्दीप लामिछानेले सानदार प्रदर्शन गरेका थिए । १ सय ३३ रनको लक्ष्य पछ्याएको जिम्बावेले ११ बल अगावै ५ विकेटको क्षतिमा जित हासिल गरेको थियो । सन्दीपले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएका थिए ।

जिम्बाब्वेविरुद्धको खेलमा नेपालका कुशल मल्ल र इशान पान्डेले सिनियर टोलीबाट डेब्यू गरेका थिए । दुवैले आफ्नो डेब्यू खेलमा सम्झनलायक प्रदर्शन भने गर्न सकेनन् ।

युवा खेलाडीलाई अनुभवको अवसरका साथै आसन्न १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका क्रममा नेपालले त्रिकोणात्मक शृंखला खेलेको हो । यो शृंखलापछि नेपाल पाँच देश सम्मिलित अर्को शृंखला खेल्न ओमान जानेछ ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया