नेपाल क्रिकेट संघमाथिको निलम्बन सशर्त फुकुवा गर्ने आईसीसीकाे निर्णय

 असोज २७, २०७६ सोमबार २१:३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर - आईसीसी

काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ ।

दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा राजनीतिक हस्तक्षेप भएको भन्दै क्यानमाथि गरिएको निलम्बन सशर्त फुकुवा गरेको हो । साथै आईसीसीले जिम्बाब्वे क्रिकेट संघमाथि लगाएको निलम्बन पनि फुकुवा गरेको छ । तर आईसीसीले के–के शर्तमा नेपाल क्रिकेट संघमाथि लगाएको निलम्बन फुकुवा गरेको हो भन्नेबारे केही खुलाएको छैन ।

आईसीसीका अध्यक्ष शंशाक मनोहरले निलम्बन फुकुवाका बारेमा भने, ‘नेपाली क्रिकेटमा भएको प्रगतिलाई मध्यनजर गर्दै अब एसोसियट सदस्यको रुपमा सबै मापदण्ड अनुपालन गराउनका लागि नेपाल क्रिकेट संघका लागि एउटा संक्रमणकालीन योजना पनि अघि सारिनेछ । जसमा नियन्त्रित फण्डिङ पनि पर्नेछ ।’

निलम्बन फुकुवाका लागि आईसीसीले केही शर्तहरु भने अघि सारेको जनाइएको छ । आईसीसीको बोर्ड बैठकमा क्यान निलम्बन फुकुवाबारे गम्भीर छलफल भएको थियो ।

तत्कालीन समयमा भएको अधिवेशनबाट चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भएपछि राष्ट्रिय खेलकुद परिषद् राखेपले उक्त अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता नदिएर नयाँ तदर्थ समिति गठन गरेको थियो । त्यसपछि क्यानमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो ।

निलम्बन फुकुवा गर्नका लागि आईसीसीले आफ्नो रोडम्याप नेपाललाई दिएको थियो । आईसीसीले दिएको रोडम्यापअनुसार विधान संशोधन गरेर जिल्ला, प्रदेश कार्यसमितिका साथै केन्द्रीय कार्यसमितिको निर्वाचन भएको थियो । असोज ११ गते भएको निर्वाचनबाट पनि चन्द नै अध्यक्ष भएर आएका छन् ।

यतिबेला भएको निर्वाचनलाई राखेपले पनि मान्यता दिइसकेको छ भने आईसीसीले पनि स्वागत गरेको थियो । आईसीसीका प्रतिनिधिको निगरानीमा भएको अधिवेशनलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका थिए ।

आईसीसीले क्यान निलम्बनको फुकुवाका लागि आर्थिक पारदर्शीताको कुरालाई पहिलो प्राथमिकतामा राखेको थियाे । यसअघि पनि पटक–पटक क्यानमा आर्थिक अनियमितता हुने गरेको उजुरी आईसीसीसमक्ष पुग्ने गरेकाले यस पटक यस विषयमा आईसीसीले चासो देखाएको हो । आर्थिक पाटोका साथै क्यानको कार्यालय व्यवस्थापनको विषयमा पनि आईसीसीले शर्त राखेको छ ।

केही समयका लागि आईसीसीले नै आफ्नो मातहतमा रहेर काम गर्न निर्देशन पनि दिन सक्नेछ । क्यानको नयाँ निर्वाचन भएपछि तत्कालै उसको कार्यालय सञ्चालनका लागि बजेट छैन, क्यानको खाता फेरि खुलाउन पनि प्रक्रिया अघि बढाउनु पर्नेछ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया