ताप्लेजुङको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्ने तयारी

 मंसिर १५, २०८१ शनिबार ११:५४:४८ | रासस
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ८ मा निर्माण भएको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिँदैछ । काबेली खोलामा निर्माण भएको आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ ।

आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गएको आइतवारदेखि शुरू भएको थियो । परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी आज बेलुकासम्म आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ ।

उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरको अमरपुर सब–स्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । सिरिजङ्घा–८ याम्फुदिनको राते खोलामा विद्युतगृहबाट अमरपुर सब–स्टेसनसम्मको ३१ किलोमिटर दूरीमा रहेका प्रसारण लाइनको परीक्षण पनि सफल भएको छ ।

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना स्नो रिभर्स लिमिटेडले निर्माण गरेको हो । २०७९ मङ्सिर अन्तिम हप्ताबाट शुरू भएको आयोजना छोटो अवधिमै सम्पन्न भएको छ । दुई अर्ब ६३ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो आयोजनाले क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा छ ।

यसै क्षेत्रमा काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले २१ दशमलव १३ मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया