प्रधानमन्त्री ओली बेइजिङमा

 मंसिर १७, २०८१ सोमबार १७:५४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पुगेको हो ।

ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा आज बिहान चीन जानुभएको हो । प्रधानमन्त्री ओलीलाई भोलि चिनियाँ समकक्षी छ्याङले स्वागत गर्ने र त्यसपछि दुई पक्षीय वार्ता र हस्ताक्षर समारोह हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भोलि नै चीनका राष्ट्रपति सी जिनपिङसँग पनि भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । यस्तै उहाँले नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्नु हुने छ । प्रधानमन्त्री ओलीको चार दिने भ्रमणमा नेपाल र चीनबीच कम्तीमा आठ वटा समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुने र चीनले आठ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी अनुदान सहायता उपलब्ध गर्ने सम्बन्धमा सहमति हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणमा मुख्य एजेन्डाका रूपमा 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआई) अन्तर्गतको सहायतालाई लिइएको छ । सरकारले 'बीआरआई' अन्तर्गत अनुदान मात्रै स्वीकार गर्ने बताएको छ ।

सत्तारूढ कांग्रेस–एमालेबीच पनि ऋण नलिने सहमति भएको छ । प्रधानमन्त्रीको ८७ सदस्यीय भ्रमण टोलीमा मन्त्रिपरिषद्बाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा मात्रै सहभागी हुनुहुन्छ । प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया