शेयर बजार झन्डै २९ अङ्कले बढ्यो
पुस ८, २०८१ सोमबार
इलाम – कात्तिक महिनाको अन्त्यतिर मात्रै पाक्ने किवी भदौको पहिलो हप्ताबाटै बजारमा छ्याप्छ्याप्ती भेटिएपछि गुणस्तर जाँच गरिएको छ ।
बजारमा आएका काँचो किवीलाई नियन्त्रण गर्ने उद्देश्यले किवी जोन सञ्चालक समितिको सक्रियतामा गुणस्तर जाँच गरिएको हो । गुणस्तर जाँचका क्रममा बजारमा भेटिएका किवीमा पाँच प्रतिशत मात्रै गुलियोपना पाइएकाले बजारको किवी कम गुणस्तरको रहेको पुष्टि भएको छ ।
विषादीको प्रयोग नगरी पाकेको किवीलाई ‘रिफ्याक्ट्रोमिटर’ले नाप्दा ७ देखि ९ प्रतिशत गुलियोपना हुनुपर्छ । यसलाई मात्र पोषण तत्व पर्याप्त भएको खानयोग्य किवी मानिने गरेको किवी विज्ञहरुको भनाइ छ ।
मज्जाले पाकेको किवीमा २० प्रतिशतसम्म गुलियोपना भेटिने किवी जोन सञ्चालक समितिका अध्यक्ष देउकुमार राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘समुद्री सतहबाट १२ सयदेखि साढे १५ सय मिटरसम्मको जमिनमा फलेका किवीको परीक्षण गरिएको हो ।
सन्दकपुरको ओझा कृषि फार्म, इलाम नगरपालिकाको बिस्ट किवी फार्म लगायत सबै क्षेत्रको किवी परीक्षण गरिएको छ । परीक्षणमा गुणस्तर कम भएको किवी स्वादिलो नहुने, अमिलोपना ज्यादा हुने, टिप्नयोग्य नभइ टिपिएका किवीमा चाउरिने र कुहिने जस्ता समस्या देखापर्छ ।
टिप्नयोग्य नभइ किवी टिप्ने प्रतिस्पर्धा बढेर गए किवीमा फल पकाउने केमिकलसमेत प्रयोग हुनसक्ने देखिएकाले सिजन सुरु नभइ किसानहरुलाई किवी नटिप्न आग्रह गरिएको छ ।
सबैलाई सचेत गराउँदा पनि अटेर गरेकाले काठमाण्डौका एक व्यापारीलाई इलाम नगरपालिकाको साङ्गरुम्बाबाट किवी नकिन्न भन्दै फर्काइएको समिति अध्यक्ष राईले बताउनुभयो । जिल्लाका अन्य स्थान माइपोखरी, आलुबारीलगायतका स्थानमा समेत निगरानी गर्न थालिएको छ ।
इलाम किवी खेतीका लागि योग्य जिल्ला भएकाले ‘किवी जोन कार्यक्रम’ सञ्चालन भैरहेको छ । जिल्लाका सन्दकपुर गाउँपालिकाका ६ ओटा वडा र इलामको १, २, ३, र ४ नम्बर वडालाई किवी जोन क्षेत्र घोषणा गरिएको छ ।
इलाम सुपर जोन बनेपछि इलामेलीको उत्पादनमा उपभोक्ता सन्तुष्ट बनोस् भनेर नै काँचो किवी टिपाइमा कडाइ गर्न थालिएको समिति अध्यक्ष राईले भन्नुभयो ।
किसान र व्यापारीले काँचै किवी बजारमा लान थालेपछि पहिलो चरणको जाँच गरिएको छ । अब कार्तिक दोस्रो साता पुनः जाँच गरिने बताइएको छ । दोस्रो चरणमा भने किवी खेती गरिरहेका सम्पूर्ण कृषकलाई भेला गरेर कुन समयमा किवी टिप्ने, कसरी टिप्ने, किवीको सुरक्षा कसरी गर्न सकिन्छ भन्नेबारेमा समेत ज्ञान दिइने समिति अध्यक्ष राईले जानकारी दिनुभएको छ ।
इलामको किवी इलाम बजार, राँके, झापाको बिर्तामोड, दमक हुँदै काठमाण्डौसम्म निकासी भैरहेको छ । यो समय जिल्लाका सोयाङ्ग, साङ्गरुम्बा, सन्दकपुरको आलुबारीलगायतका स्थानमा काँचै किवी टिपिएको पाइएको छ ।
यसले इलामका आगामी उत्पादन व्यापारीको रोजाइमा नपर्ने, इलामको किवीमा उपभोक्ताको विश्वास घटेर जाने जस्ता दीर्घकालीन समस्या देखापर्ने भएकाले यस्ता कार्यलाई रोक्ने सयन्त्र खोजिरहेको समितिले जनाएको छ ।
काँचो किवीलाई नियन्त्रण गर्न उद्योग वाणिज्य संघ इलामले झापाको बिर्तामोड र दमक उद्योग वाणिज्य संघलाई काँचो किवी टिपेर बिक्री गर्ने कार्यलाई रोक्न आग्रहसमेत गरेको छ ।
जिल्लाका तीन हजार किसानले इलाममा किवीको व्यवसायिक खेती गरिरहेको कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कमा उल्लेख छ । वर्षमा तीन सय मेट्रिक टन किवी उत्पादन हुने गरेको पाइएको छ ।
अहिले किवी प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री भैरहेको छ । इलामसहित सोलुखुम्बु र दोलखामासमेत ‘किवी जोन कार्यक्रम’ लागू भएको छ । यी दुई जिल्लामा भने हालसम्म किवी टिप्न सुरु नगरिएको समितिले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।