देशभरको मौसम सफा
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डौ - भारतसँगको सीमा समस्या अहिले मात्रै आएको नयाँ समस्या होइन । लिम्पियाधुरा, लिपुलेक र कालापानीको विवाद लामो समयदेखि चल्दै आएको छ । तर त्यसको स्थायी समाधान हामीले नखोज्दा आजसम्म पनि यो समस्या यथावत रहन पुगेको हो । भारतले नियतवश नै सीमा अतिक्रमण जारी राखेको पछिल्लो पटक उसले प्रकाशित गरेको राजनीतिक नक्साले पनि स्पष्ट पार्छ ।
नेपालको भूमि भन्ने विभिन्न तथ्य र प्रमाण रहँदारहँदै पनि उसले आफ्नो राजनीतिक नक्सामा त्यसलाई समेट्नु भनेको उसको मिचाहा प्रवृत्ति नै हो ।लिम्पियाधुरा, कालापानी, लिपुलेक निर्विवाद नेपाली भूमि हुन् । कसैले जोरजबर्जस्ती गरेर त्यो अरुकाे बनाउन मिल्दैन ।
लामो समयदेखि विवादित यो विषयलाई अब भने स्थायी रुपमा नै समाधान गर्नुपर्ने समय आएको छ । विगतमा राजनीतिक अस्थिरताका कारण समाधान गर्न हाम्रा नेतृत्वहरुले चासो दिएनन् । तर अहिले राजनीतिक अस्थिरताको अन्त्य भएको छ । झण्डै दुई तिहाइकै सरकार छ । त्यसैले अब यसलाई कुनै पनि हालतमा स्थायी रुपमा नै समाधान निकाल्नु पर्छ ।
समाधानको उपाय सुगौली सन्धि
यसको समाधान गर्ने उपाय भनेको सुगौली सन्धि नै हो । सुगौली सन्धिलाई टेकेर नै हामीले यसको समाधान निकाल्न सक्छौँ । सुगौली सन्धिलाई कि त मान्दिन भन्नुपर्याे भारतले । सुगौली सन्धि मान्दिन भन्नुको अर्थ हामीलाई गढवालसम्म फिर्ता गर्नुपर्याे भन्ने हुन्छ फेरि । किल्ला काँगडासम्म फिर्ता गर्नुपर्याे । कुमाउँ र गढवाल त सुगौली सन्धि नमान्ने हो भने नेपालको हुन्छ नि त ।
त्यसकारण कि त कुमाउँ र गढवालसम्म फिर्ता गर्नुपर्ने आँट गर्नुपर्याे होइन भने ३७२ वर्ग किलोमिटर नेपाललाई छाड्नुपर्याे । यो त सुुगौली सन्धिले ठेगान लगाएको हो ।
यसबारेमा नबुझेको दुवै सरकारले होइनन् । तर भारतले अतिक्रमण गर्ने नियतले नै यस्तो गरिरहेको हो । नेपालका शासकहरुले भारतको सरकार खुशी भए भने, भारतका नेता खुशी भए भने हाम्रो पनि सरकार टिक्छ भन्ने कमजोर मनस्थिति र हीन भावनाकै कारण त्यो कुरा उठाउन नसकिरहेका हुन् ।
यो कुरा उठाएर मात्रै साध्य हुँदैन । सचिवस्तरको बैठकले पनि केही गर्न सक्दैन । प्राविधिक स्तरको बैठकले पनि केही गर्न सक्दैन । यसलाई सिधै दुई देशका उच्चस्तरका राजनीतिक नेतृत्वले मात्रै समाधान गर्न सक्छ । त्यसभन्दा बाहेक अरु समाधान छैन ।
हामीसँग भएको बलियो प्रमाण भनेकै सुगौली सन्धि हो । नेपालको पश्चिमी सीमालाई ४ मार्च १८१६ मा सुगौलीमा सम्पन्न इष्ट इण्डिया कम्पनी सरकार र नेपाल सरकारबीचको ‘शान्ति सन्धि’ले निर्धारित गरेको छ । त्यस सन्धिको दफा ५ मा के लेखेको रहेछ भने, ‘नेपालका राजाले, उनका उत्तराधिकारीहरूले र पछि सत्तारुढ हुने राजाहरूले समेत कालीनदीदेखि पश्चिमका मुलुकहरूमा दावी गर्न र सम्बन्ध राख्न इन्कार गर्दछन्’ भनिएको छ ।
यो भनेको काली नदीको पश्चिम तर्फको भूभागमा हाम्रो दावी छैन, काली नदीको पूर्व हाम्रो दावी छ भन्ने हो । तर अहिले आएर खास काली नदीको मुहान कुन हो भन्ने विवादमा देखाइएको छ । यसका लागि हामीसँग ब्रिटिश लाइब्रेरीमा भएको (तत्कालीन ब्रिटिश इण्डियाले निकालेको)नक्सा, अनि १८६५ भन्दा अगाडि भारत आफैँले निकालेको नक्सा प्रमाणका रुपमा छ । काली नदीको मुहान लिम्पियाधुरा नै हो भनेर नक्सामा देखाएको छ ।
त्यसमा कुनै विवाद र अलमल नै छैन । तर सर्भे अफ इण्डियाले १९६२ पछि नक्सा निकाल्दै जाँदा उसले पटक पटक नक्सा फेरेको छ । पछिल्लो पटक उसले कश्मीरको विवादपछि नक्सा निकालेको हो ।
योभन्दा अगाडि पनि थुप्रै पटक भारले नक्सा निकालेको छ । त्यो नक्सामा उसले पटक भूभागहरु थप्ने काम गरेको छ । २०५५ मा हामी कालापानी मार्चमा गएर फर्केपछि भारतले निकालेको नक्सामा ३८/४० हेक्टर जमिन अझै मिचेर नक्सा निकालेको थियो । नक्सा त उसले पटक पटक निकाल्ने गर्छ ।
भारतले नक्सामा के राख्यो भन्ने कुरा महत्वपूर्ण होइन । महत्वपूर्ण पक्ष के हो भने नेपाल र भारतको सीमाना कहाँबाट सुरु हुन्छ भन्ने हो ।
नेपालकै नक्सामा छैन लिम्पियाधुरा
नेपालले अहिले प्रचलनमा ल्याएको नक्सामा पनि लिम्पियाधुरा देखिँदैन । यहाँसम्म कि कालापानी, लिपुलेक सम्मकाे क्षेत्र समेटेर नक्सा बनाउन पनि हाम्रा शासकहरुले आँट गरिरहेका थिएनन् ।
अब कि त भित्र–भित्रै सहमति गरेर भारतलाई जिम्मा लगाइसक्यौँ भनेर नाङ्गो तरिकाले सरकार आउनु पर्याे । होइन जिम्मा लगाएको छैन भने हाम्रो सीमा कहाँ हो भनेर त देखाउनु पर्याे नि ।
सुगौली सन्धिमा प्रष्टै लेखेको छ काली नदी भनेर । काली नदीको मुहानमा विवाद ननिकाली त्यसको वैज्ञानिक मुहान खोज्ने काम गरौँ । अहिले त काली नदीको मुहानलाई विवादित बनाएर भारतले गुन्जीदेखि तलपट्टीको कुटी, नाबी, नाबीडाङ, लिपुलेक सबै कब्जा गरेर बसिरहेको छ ।
युद्ध होइन शान्ति वार्ता
यो मुद्दामा भारतसँग सिगौंरी खेलिहाल्ने, दुश्मनी गरिहाल्ने, आजैदेखि युद्धको घोषणा गरिहाल्नुपर्छ भन्ने पनि होइन । त्यो उपयुक्त पनि हुँदैन । तर के हो भने हाम्रो सिमाना १८१६ मा जुन उल्लेख भएको थियो त्यही कायम गराउन पहल त गर्नुपर्याे नि ।
काली नदीको वास्तविक मुहान कुन हो भन्ने बारेमा ‘हाइड्रोलोजिकल थ्याेरी’ अनुसार अघि बढ्न सकिन्छ । अब सरकारले हाम्रो सिमाना काली हो । कालीको मुहान निर्क्याैल गरौँ । तपाईँहरुका ‘हाइड्रोलोजिस्ट’हरु पनि ल्याउनुस्, हाम्रा पनि ‘हाइड्रोलोजिस्ट’हरु राखौँ । सबै बसेर छलफल गरौँ । छलफलले कालीको मुहान निर्क्याैल गर्छ । त्यसपछि काली पारि तपाईँहरु बस्नुस्, वारि हामी बस्छौँ भनेर शान्तिपूर्ण तरिकाले यो विवाद टुंग्याउनु पर्छ ।
यसमा फेरि एउटा प्राविधिक टोली गठन गर्ने, सचिवस्तरीय टोली गठन गर्दिने अनि टुंगोमा लगाउने भन्ने गरि अगाडि बढ्नु उपयुक्त हुन्न । यसो गर्ने भनेको फेरि पनि तिमीहरु गर्दै गर हामी चुप लागेर बस्छौँ भन्ने मात्रै हो ।
यस बारेमा हाम्रो प्रधानमन्त्री आफैले भारतीय प्रधानमन्त्रीलाई भन्नुपर्छ । कार्यकारी प्रमुख जो छ उसले भन्नु पर्छ । भारत सरकारसँग प्रधानमन्त्रीकै तहबाट उच्चस्तरीय बैठक बसेर राजनीतिक समाधान निकाल्नु पर्छ ।
सीमामा सेनाको क्याम्प राखौँ
तत्कालका लागि सरकारले विवादित क्षेत्रमा सशस्त्र प्रहरी र नेपाली सेनाको क्याम्प राख्न ढिला गर्नु हुँदैन । भएका प्रहरी चौकीलाई स्थायी रुपमा राख्ने काम गर्नुपर्छ । अहिले त भएकाे प्रहरी चौकी पनि तल तल झरेको छ । तिंंकरमा रहेको छ्यांङरु प्रहरी चौकी अहिले तल्लो क्षेत्रमा सरेको छ ।
उनीहरु बंकर बनाएर भए पनि अतिक्रमण गर्दै हाम्रा भूभाग कब्जा गरेर बसिरहेका छन् तर हाम्रो त ६ महिना माथि बस्ने ६ महिना तल झर्ने गर्ने गरेका छन् । यो त लज्जास्पद कुरो हो । यसरी पनि देश चल्छ ? यसरी सीमाको रक्षा हुन्छ ?
त्यसैले सरकारले जतिसक्दो छिटो स्थायी रुपमा नै सशस्त्र प्रहरीको क्याम्प, नेपाली सेनाको क्याम्प राख्नु पर्छ । सिमानामा लगेर राष्ट्रिय झण्डा फहराउनु पर्छ ।
हङकङ र मकाउ मोडल
यो विवाद समाधान गर्न हामीले हङकङ र मकाउको सिद्धान्त पनि अपनाउन सक्छौँ । भारतलाई चीनसँग आउजाउ गर्न, मानसरोबर यात्राका लागि जान बाटो चाहिने भए ठिक छ त्यो बापत हामीलाई लेवी तिर्नुस् न त । २०/३० वर्षलाई भनेर सहमति गरौँ ।
नेपालको भूभागमा यो बाटो भएर हामी व्यापार गर्न चाहन्छौँ, यो बाटो भएर तीर्थयात्रा गर्न चाहन्छौँ भनेर सन्धि गरौँ ।
सार्वभौम सत्ता हाम्रो हुन्छ । तपाईँहरु बाटो बनाएर प्रयोग गर्नुस् । त्यो बापत हामीलाई लेवी तिर्नुस् भनेर हामी अघि बढ्न सक्छौँ । सबभन्दा शान्तिपूर्ण तरिकाले यसरी पनि जान सकिन्छ ।
देशभक्तिको भावना जाँच्ने मौका
सरकारको राजनीतिक इच्छा र देशभक्तिको भावनाको जाँच हुने समय यो विवादले ल्याइदिएको छ । सत्तामा रहेकाहरुले यो विवाद समाधान गर्न चाहन्छन् कि चाहँदैनन् भन्ने कुरामा निर्भर गर्छ ।
सरकार सञ्चालकहरु साँच्चिकै देशभक्त छन् र साँच्चिकै राजनीतिक रुपले समाधान गर्न चाहन्छन् भने यतिबेला सरकारले सक्छ । किनभने अहिले दुई तिहाईको सरकार छ । चाह्यो भने संविधान नै फेर्न सक्छ । तर उहाँहरुको राजनीतिक इच्छाशक्ति, दृढता र देशभक्तिको भावना छ, छैन भन्ने कुरा महत्वपूर्ण हो ।
प्रधानमन्त्रीस्तरमै कुराकानी भयो भने यो सहजै समाधान हुन्छ । पाखुरा सुर्केर मात्रै हुँदैन । टेबुलमा बस्दा ऐतिहासिक प्रमाणहरु, तथ्यहरुका आधारमा तर्कहरु राख्नु पर्छ । इच्छाशक्ति, संकल्पशक्ति र देशभक्तिको भावना लिएर उच्चस्तरमा कुराकानी गरेर जाने हो भने कालापानीको विवाद सल्टाउने सबैभन्दा राम्रो मौका पनि यही हो ।
(२०५५ मा कालापानी मार्चपासमा संलग्न तथा त्याे बेला बनेकाे सीमा अतिक्रमण प्रतिरोध समिति अन्तर्गतकाे ऐतिहासिक तथ्य खोजविन टाेलिका सदस्य ऋषिराज लुम्सालीसँग नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
लुम्साली २०५५ मा कालापानीमा मार्चपास गर्दै पुग्नु भएकाे थियाे । उहाँ त्याे बेला स्वतन्त्र रुपमा बनेकाे सीमा अतिक्रमण प्रतिरोध समिति अन्तर्गतकाे ऐतिहासिक तथ्य खोजविन टाेलिकाे सदस्य पनि हुनुहुन्छ ।