पुरानो संरचनामा काम गरेका हाकिमहरुलाई हटाउन सकिएन : प्रचण्ड

 मंसिर २०, २०७६ शुक्रबार १९:५२:३८ | सीताराम ओझा
unn.prixa.net

कैलाली - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखा परेको बताउनुभएको छ । 

शुक्रबार धनगढीमा ‘सुदूर पश्चिम वित्तीय सम्मेलन’मा सम्बोधन गर्दै प्रचण्डले राजनीतिक परिवर्तनसँगै पुरानो राज्य व्यवस्थामा काम गरेका कर्मचारीलाई बिदा गर्न नसक्नु  आफूहरुको ठूलो कमजोरी भएको पनि बताउनुभयो ।

कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको टिप्पणी गर्नुभएका प्रचण्डले नेताले हार्ने र कर्मचारीले जित्ने अवस्था आउन नहुने पनि बताउनुभयो ।

उहाँले कर्मचारीहरु नयाँ व्यवस्थामा काम गर्नै नसक्ने खालका भएको पनि आरोप लगाउनुभयो । प्रचण्डले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि पुरानो संरचनामा काम गरेका हाकिमहरुको एउटा लेयरलाई सम्मानजनक रुपमा बिदा गर्नुपर्थ्यो । तपाईँहरु पुरानो स्कुलको मान्छे पर्नुभयो । हामी नयाँ स्कुलका मान्छे पर्यौँ । हामीले साह्रै ठूलो परिवर्तनको घोषणा गर्‍याैँ, तपाईँहरुलाई बुझ्न गाह्रो हुन्छ भन्दै उहाँहरुलाई बिदा गर्नुपर्थ्यो । ’

प्रचण्डले नयाँ व्यवस्थामा पुराना कर्मचारीलाई हटाएर आफूहरुले नयाँ र सक्षम कर्मचारी ल्याउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी तपाईँहरुको ठाउँमा आफूले भनेका मान्छे ल्याउँथ्यौँ । गोल्डेन ह्यान्डसेक वा अरु केही दिएर उहाँहरुलाई सम्मानपूर्वक रुपमा बिदा दिनुपर्थ्यो । तपाईँहरु बिदा भएर घर घर जानुस् अरु पेशा गर्नुस् भन्नुपर्थ्यो । सुरुमै सम्झौता नै गरेर बिदा गर्नु पर्थ्यो । मैले नै गर्न सकिनँ । अरुलाई के भन्नू । गर्न त सबैभन्दा बढी मैले गर्नुपर्थ्यो । सबैलाई बिदा गर्न गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री मै भएको थिएँ । तपाईँहरु हुन्न भन्न सकिनँ । अहिले यसो हेर्दा संविधानअनुसार चल्न पर्यो भन्दा नमान्ने कर्मचारीलाई बिदा गर्न नरोक्नु पर्ने हो नि । तर हामी त्यसो गर्न सकिरहेका छैनौँ । बरु कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा दिइएको अधिकार पनि संघतिरै लैजाने काम भएको छ ।’

प्रचण्डले संघीयता लागू गर्ने सवालमा कर्मचारीतन्त्रबाट असहयोग भएको पनि आरोप लगाउनुभयो । कर्मचारीहरु केन्द्रिकृत मानसिकताबाट मुक्त हुन नसकेको बताउँदै प्रचण्डले अहिलेको अवस्था हेर्दा फेरि पनि उपलब्धि गुम्ने हो कि भन्ने खतरा देखिएको बताउनुभयो । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया