श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावरको व्यवसाय रोकिन्छ : महानिर्देशक भूसाल

 पुष ४, २०७६ शुक्रबार १४:४९:३६ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्म कुमार भूसालले श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावर कम्पनीको व्यवसाय रोक्ने बताउनुभएको छ। 

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले वैदेशिक रोजगार विभाग तथा बोर्डको कार्य सञ्चालन प्रभावकारिता सम्बन्धी गरेको कार्यक्रममा महानिर्देशक भूसालले श्रमिकबाट पासपोर्ट लिएर पैसा नदिएसम्म विदेश पठाउन्न भन्ने म्यानपावरको व्यवसाय रोक्ने बताउनुभएको हो । 

पछिल्लो तीन महिनामै ३७ वटा म्यानपावरमा अनुगमन गरेको जानकारी गराउदै उहाँले विभागले डण्डा लिएर हिँड्दैमा व्यवसायीहरु नसुध्रने र त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

यस्तै महानिर्देशक भूसालले २०७४ सालभन्दा अघि विभागमा परेको मुद्दाको अबको १० दिनभित्रमा नै फरफारक गरिसक्ने योजना रहेको भन्दै जतिसक्दो छिटो पूराना मुद्दाको फरफारक गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

वैदेशिक रोजगारीमा भएका विकृति विसंगती रोक्नका लागि विभागले पछिल्लो समय एकीकृत वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (एफइएमआईएस) प्रणाली विकास गरेको र यसले नै यो क्षेत्रमा भएका थुप्रै विकृतिलाई रोक्ने पनि उहाँले बताउनुभयो । 

एफइएमआइएस प्रणालीलाई सजिलै रुपमा प्रयोग गर्न मिल्ने बनाउने र वैदेशिक रोजगार प्रक्रियालाई नै यही प्रणालीमार्फत अनलाइनबाटै गर्ने तयारीमा विभाग रहेको उहाँले जानकारी दिनुभयो । 

यस्तै, विभागले एफइएमआइएसमार्फत अनलाइनबाट नै मागपत्र स्वीकृत गर्ने तयारी पनि गरिरहेको उहाँले जानकारी दिनुभयो । विदेशस्थित नेपाली नियोगले मागपत्र प्रमाणीकरण गरेपछि पूर्व स्वीकृतिका लागि म्यानपावरका प्रतिनिधि फाइल बोकेर श्रम कार्यलय जानुपर्ने अवस्था छ । तर यो अवस्थाको अन्त्यका लागि विभागले काम गरिरहेको छ । 

निर्णय भए, तर काम भएन

विभाग र बोर्डको कार्य क्षेत्रभित्र पर्ने काम पनि नभएको र भएका काम पनि नतिजामुखी नभएर खाली निणर्यमा मात्र सीमित रहेको सहभागीको भनाइ थियो । 

बोर्डबाट हुने कल्याणकारी काम अब पालिकाबाटै हुनेगरी निर्णय भए पनि यसको प्रभावकारिताबारे भने प्रश्न उठेको छ । धेरैले जानकारी नभएकाले अहिले पनि पालिकामार्फत निवेदन आउन सकेका छैनन् ।

तर बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बोर्ड हिँड्न खोजेको तर विभिन्न कारणले बीचमा नै लड्ने समस्या भएकाले अब मिलेर अघि बढ्दै बोर्डबाट थप काम गर्ने बताउनुभयो । 

पालिकामार्फत परदेशी र उनीहरुका परिवारलाई वित्तीय साक्षरता, निःशुल्क सीप परीक्षणदेखि सहुलियत ऋणका लागि आह्वान गरेको कुराको स्मरण गर्दै उहाँले यो वर्ष वैदेशिक रोजगारीमा जान चाहने १५ हजार युवालाई १९ वटा विषयमा निःशुल्क सीप तालिम प्रदान गर्ने पनि जानकारी दिनुभयो । 

कार्यक्रममा वैदेशिक रोजगार विज्ञ तथा अनुसन्धानकर्ता रामेश्वर नेपालले झुक्याउन पाईंदैन भन्दै सरकारले एजेण्टको व्यवस्था खारेज गरेको भए पनि वैदेशिक रोजगारीमा जाने धेरैजसो युवा एजेण्टकै भरमा रहेकाले यो व्यवस्था प्रभावकारी नभएको टिप्पणी गर्नुभयो ।

साथै सरकारले विदेशबाट नेपाली कामदार माग्ने कम्पनीको अवस्था कस्तो छ अध्ययन गरेर मात्र मागपत्र प्रमाणीकरण गर्न दूतावासलाई जिम्मेवार बनाए पनि अहिले पनि श्रमिकले उही समस्या भोग्नुले मागपत्र प्रमाणीकरणमै समस्या भएको उहाँको भनाइ थियो । 

वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्लले एजेण्ट बिचौलिया लगायतका कारण म्यानपावर व्यवसायीले पनि समस्या भोगेको भन्दै यो समस्याबाट आफूहरु पनि मुक्त हुन चाहेको र यसका लागि संघ समन्वय गर्न तयार रहेको बताउनुभयो । 

‘हामीले माग ल्याउँछौं, कतिपय मानिस मसँग यति पासपोर्ट छ भन्दै बार्गेनिङ गर्न आउनुहुन्छ, हामी के गर्ने के नगर्ने अवस्थामा हुन्छौं,’ उहाँले भन्नुभयो,‘ ‘यो समस्याबाट संघ पनि मुक्ति चाहन्छ ।’

मल्लले व्यवसायीले अनधिकृत शुल्क लिने गरेको आरोप स्वीकार गर्दै व्यवसायी संघले यसका लागि काम गर्ने बताउनुभयो । 

कार्यक्रममा सहभागीहरुले विभाग र बोर्डले प्रभावकारी रुपमा काम गर्नका लागि अध्ययन, अनुसन्धानसँगै प्रविधिको विकासमा ध्यान दिन सुझाव दिएका छन् ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया