पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
यूएई - सगरमाथाको सफल आरोहण गरेकी पहिलो लेबनानी महिला फतिमा डेरयानले जीवनकालमा एक पटक नेपाल नघुमे जीवनको सार्थकता नहुने बताउनु भएको छ ।
नेपाल पर्यटन वर्ष २०२० को उद्घाटन समारोहलाई यूएईमा सम्बोधन गर्दै उहाँले सगरमाथा आरोहणका अनुभव सुनुउनुभयाे ।
फतिमाले सगरमाथा चढेको दिन आफूले आफ्नो जीवनकै महत्वपूर्ण क्षण भएको उल्लेख गर्नुभयो । उहाँले नेपालीको मन सगरमाथाजस्तै उचो भएकाले पनि नेपाल घुम्न जान विदेशी समुदायलाई आग्रह गर्नुभयो ।
सगरमाथा चढ्ने बेला शेर्पा दाजुभाइले गरेको सहयोग सम्झँदै कठिन यात्रामा नेपालीहरु कति सहयोगी हुन्छन् भन्ने कुरा त्यतिबेला आफूले बुझेको फतिमाले स्मरण समेत गर्नुभयो । नेपाल घुम्ने बेला सगरमाथाको फेदमा गरेको पूजा र त्यही बेला लगाएको घाँटीको माला देखाउँदै आफूलाई त्यो मालाले शक्ति प्रदान गरिरहेको बताउनुभयो ।
नेपाल पर्यटन वर्षको अवसरमा यूएई सरकारका उच्च पदस्थ अधिकारी तथा यूएईमा रहेका विभिन्न क्षेत्रका विदेशी प्रतिनिधिहरुको उपस्थितिमा नेपाली दूतावास यूएईले मंगलबार साँझ आबुधाबीमा गरेको कार्यक्रमको प्रमुख अतिथिको रुपमा आमन्त्रित फतिमालाई नेपाली दूतावासले सम्मान समेत गरेको थियो ।
कार्यक्रममा यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले फतिमालाई नेपाली कोसेली तथा चिनोसहित सम्मान पनि गर्नुभयाे ।
नेपाल भ्रमण वर्षको अवसरमा नेपाल पर्यटन बोर्डले निर्माण गरेका वृत्तचित्र, फोटो प्रदर्शनी, सुदूरपश्चिमको छलिया नाच, कुमारी नाचसमेत प्रस्तुत गरिएको थियो । उपस्थित पाहुनालाई नेपाल भ्रमण वर्ष लेखिएका हाते झोलामा नेपाली कोसेलीसमेत प्रदान गरिएको थियो ।
नेपाल भ्रमण वर्षलाई सहयोग पुग्नेगरी आयोजित कार्यक्रममा नेपाल भ्रमण गर्ने लक्षित समुदाय अन्तर्गत विश्वविद्यालय, होटल तथा पर्यटन व्यवसायी, एयरलाइन्स, विदेशी लगानीकर्ता तथा नेपाली समुदायका प्रतिनिधिहरुसमेत गरेर झन्डै एक सय जनाको उपस्थिति थियो ।
गएको मे २२ मा सगरमाथा आरोहण गरेकी २६ वर्षीया अरबी युवती फतिमाले कार्यक्रममा सम्बोधन गरेलगत्तै उहाँलाई बिदेशी पाहुनाले भेटेर नेपाल र सगरमाथा बारे जिज्ञासा राखेका थिए ।
कार्यक्रममा स्थानीय सञ्चारमाध्यमका सम्पादकहरुको समेत सहभागिता थियो । सहभागीका भिजिटिङ कार्डहरुबाट गोला प्रथा गरेर एक जनालाई नेपाल एयरलाइन्सले नेपालको दुईतर्फी हवाई टिकट प्रदान गरेको थियो ।
दूतावासका द्वितीय सचिव भुवन ओझा, श्रम काउन्सिलर भेषबहादुर कार्की, तृतीय सचिव नारायण ज्ञवाली, रामविनय राय, लेखाप्रमुख पुण्यवती पौडेल तथा दूतावासका स्थानीय कर्मचारी र नेपाली समुदायले अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई स्वागत गरिएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।