चीनसँग भएको पारवहन सम्झाैता कार्यान्वयनमा

 पुष २७, २०७६ आइतबार १६:३०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ । सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न सक्ने भएकाे छ । 

पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले दिनुभएको जानकारी अनुसार चीनकाे तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह नेपालले प्रयोग गर्नसक्ने छ । त्यसैगरी तीन सुख्खा बन्दरगाहहरु लन्झाउ, ल्हासा र सिगात्से पनि नेपालले प्रयोग गर्ने बाटो खुलेको छ । यही जनवरी १ बाट पारवहन सम्झौता कार्यान्वयनमा आएको हो ।

यस्तै चीनतर्फका ६ वटा नाकाहरु प्रयोग गर्ने सहमति पनि भएको छ । रसुवा र तातोपानी (कोदारी) नाका यसअघि नै सञ्चालनमा आइसकेको छ भने हुम्लाको यारी, सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङ्गोला गरी ६ वटा नाका व्यपारका लागि नेपालले प्रयोग गर्न सक्ने छ ।

भारतसँग भएको पारवहन सम्बन्धी सन्धि पनि तत्कालका लागि नविकरण भएको छ । सचिव अर्यालले सन्धिमा आवश्यक नयाँ कुरा थप गरेर पुनः सन्धि गर्ने तयारी मन्त्रालयले पुरा गरेको बताउनुभयो ।

नयाँ सन्धि भएपछि नेपालले भारतको आन्तरिक जलमार्ग प्रयोग गरेर आयात निर्यात गर्न सक्ने छ । त्यसैगरी नेपाली ध्वजाबाहक पानी जहाज भारतीय आन्तरिक जलमार्गमा सञ्चालन गर्न पनि बाटो खुल्ने छ ।

सचिव अर्यालका अनुसार भारतको जलमार्गमा रहेका आन्तरिक तीनवटा टर्मिनलहरु साहेबगञ्ज, कालुघाट र बाराणसीबाट व्यापारिक वस्तुहरु आयात निर्यात गर्न सकिने छ, भने नेपालको व्यापार लागत कम हुन्छ । भारतसँगको रेल्वे सम्झौताको म्याद पनि ५ वर्षका लागि थप भएको छ । नेपालले विराटनगर, वीरगञ्जबाट भारतको कोलकत्ता र हल्दियासम्म नेपाली रेल सञ्चालन गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति भएको उहाँले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालको व्यापार घाटामा पनि कमी आएको छ । आन्तरिक उत्पादन बढाएर वितरण प्रणालीमा सुधार हुँदा, उपभोग नगर्दा पनि हुने वा जनस्वास्थ्यमा हानी पुर्‍याउने वस्तुहरुको आयातमा कडाई गरिएपछि ब्यापार घाटा कम भएको उहाँले बताउनुभयो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको पहिलो ५ महिनामा ६ प्रतिशत भन्दा बढीले व्यापार घाटा कम भएको छ । 

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया