पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
रत्नपार्क छेउछाउका सडक पेटीमा पुराना सिक्का र हिमाली जडिबुटीहरु बेच्न राखिएका छन् । किन्ने र हेर्नेहरुको घुईंचो छ ।
स्याङजाका प्रवेश नेपालीले राजा त्रिभुवनको पालाको मोरु १ लाई तीन सय रुपैयाँ तिरेर किन्नुभयो । विदेश जाने सोच बनाएका उहाँले भन्नुभयो, ‘पुराना पैसाले विदेशमा नेपालीपनको याद दिलाउँछ ।’
जुम्लाकी गोरीकला रोकायाले पुराना सिक्का बेच्ने काम थालेको चार वर्ष भैसक्यो । उहाँसँग वि.सं. १८१८ सालदेखिका बिभिन्न राजाका पालामा निश्कासन भएका पुराना सिक्काहरु छन् । यस्तै राजा त्रिभुवनको पालादेखिका पुराना नोटहरु पनि प्रशस्तै छन् । ‘भिजिट नेपाल’ का सिक्काहरु बढीजसोले खोज्छन् । वि.सं. २०५४ सालमा निश्कासन भएका यस्ता सिक्काको औंठी बनाएर लगाउँदा सुनको जस्तै देखिने उहाँले बताउनुभयो
समय र तौलको आधारमा व्यापारीले सिक्काको मूल्य तोक्ने गर्छन् । अर्का जुम्ली सिक्का व्यापारी मानबहादुर शाहीले भन्नुभयो, ‘सिक्का जति पुरानो र वजनदार भयो त्यति यसको भाव बढ्छ ।’
व्यापारीले सिक्काको मूल्य कम्तीमा एकसयदेखि ६ हजारसम्म तोकेका छन् । यस्तै उहाँहरुसँग बजारमा भेटाउन मुश्किल पर्ने एक दुईका नोटहरु पनि प्रशस्तै छन् । एक रुपैयाँको एउटा नोट दुईसय ५० र दुई रुपैयाँको नोटको तीनसय रुपैयाँ पर्छ । शाहीले भन्नुभयो, ‘यी सिक्का तथा नोटहरु हामीले पनि गाउँकै सिक्का संकलकबाट किन्ने हो ।’
किन्नेहरुमध्ये कसैले नक्कली सिक्का र नोट पनि भन्दा रहेछन् । सिक्का किन्दै गरेका एकजनाले जुम्लीले मात्रै यस्तो काम किन गर्छन भनेर सोध्दा गोरीकलाले हाँस्दै भन्नुभयो, ‘मधेशका देशी र पहाडका जुम्ली एकै हुन् ।’
उहाँको भनाइको अर्थ थियो, मधेशी र जुम्लीले काम सानो र ठूलो भन्दैनन् । जस्तो काम पनि लाज नमानेर गर्छन् ।
यसरी सिक्का बेचेर जुम्लीहरुले खाने गुजारा मात्र गरेका छैनन् । काठमाडौंमा आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा समेत दिएका छन् । ‘दिनमा पाँचसयदेखि दुईहजार रुपैयाँसम्म कमाई हुन्छ’, गोरीकलाले भन्नुभयो, ‘दुई छोरालाई काठमाडौंकै बोर्डिङ स्कुलमा पढाएकी छु ।’
जुम्लीहरु जडिबुटीको व्यापार धेरै गर्छन् । उनीहरुको साथमा सिलाजितदेखि भूतकेश, चिराइतो, अभिजाल, हिमाली बेसारजस्ता हिमाली जडिबुटीहरु हुन्छ । सानो झोलामा महत्वपूर्ण औषधी बोकेर सहरका गल्ली गल्ली पुगेका हुन्छन् उनीहरु ।
हिमालको सुन भनेर चिनिने यार्सागुम्बा पनि बेच्न छुटाउँदैनन् उनीहरु । एउटा यार्सागुम्बा दुईसयदेखि चारसय रुपैयाँसम्ममा बिक्री हुने गर्छ । जडिबुटी बेचिरहेका जुम्लाका प्रेम चौलागाईंले बताउनु भयो, ‘सहरका मान्छेले यार्सागुम्बाको माग बढी गर्छन् ।’
जुम्लीहरु सधैं एउटै सहरमा रहँदैनन् । व्यापारको क्रममा भारतको बेंगलोर सहरसम्म पुग्ने गर्छन् । चौलागाईंले बताउनुभयो, ‘नेपालका त करिब सबै सहरमा पुगिसकेका छु, पोहोरसाल भारतको बेंग्लोर र दिल्ली पनि पुगेका थियौं ।’
व्यापारको क्रममा हिँड्दा जुम्लीहरु प्रायः एक्लो कहिल्यै हिँड्दैनन् । एक्लै हिँड्दा असुरक्षित हुने र अरुले लुट्न सक्ने भएकाले समूहमा हिँड्ने गरेको चौलागाईंले बताउनुभयो । ‘हामी यसरी हातमा औषधीको बोत्तल बोकेर हिँड्दा कतिले त टाढैबाट बोलाएर सिलाजित छ भनेर पनि सोध्छन् ।’ उहाँले भन्नुभयो ‘अब त सबैलाई थाहा भैसक्यो जुम्लीसँग जडिबुटी पाइन्छ भन्ने ।’
भनाई नै छ, मार्केटिङ गर्ने कुरामा जुम्ली र देशी कहिल्यै पछि पर्दैनन् । जुम्लीहरुले काठमाडौंमा भेटिन गाह्रो हुने हिमाली जडिबुटी र पुराना सिक्काहरुको व्यापार त गर्छन् नै । गलैंचाको पनि व्यापार गरेर मनग्गे कमाउँछन् ।
बिहानै उठेर गलैंचाको एउटा भारी पिठ्युँमा र अर्को भारी काँधमा राखेर बेच्न निस्कनुहुन्छ, जुम्लाका वसन्त शाही । काठमाडौंकै ठमेल, महाबौद्ध तथा असन बजारबाट होलसेलमा गलैंचा किनेर घरघर चाहार्दै बेच्नु सजिलो काम छैन ।
आठ वर्षदेखि गलैंचाको व्यापार गर्दै आएका शाहीले भन्नुभयो, ‘काम भन्ने कुरा सानो ठूलो हुँदैन, आफूलाई जे मा सन्तुष्टी मिल्यो त्यही गर्ने हो । विदेश जानुभन्दा त यही काम नै राम्रो । यसरी बेचेर महिनाको ४० हजार रुपैयाँ जति कमाइ भैहाल्छ, परिवार पालिएकै छ ।’
व्यापार व्यवसायमा लगानी गरेर अहिले उद्योगपति बनेका कतिपय जुम्लीहरुको सुरुवाती यही हिँडुवा व्यापार नै थियो । मेहनत गर्न नडराउने जुम्लीहरु अझै पनि व्यापारको लागि देशका कुना कुनासम्म पुगेका हुन्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।
अग्नि अधिकारी सुर्खेत नेपाल
July 23, 2018, 6:53 p.m.सेर गन्न मिलाेस