दाङ झरेका २०० सय भेडा मरे

 माघ १८, २०७६ शनिबार ६:४७:० | रासस
unn.prixa.net

दाङ – चरनका लागि दाङ ल्याइएका २०० भेडा अज्ञात रोगले मरेका छन् । 

पूर्वी रुकुमको भूमे गाउँपालिका-१, लुकुमका चार जना भेडापालक किसान पनि यो वर्ष भेडालाई चिसोबाट जोगाउन भन्दै आफूहरुले पालेका सयौँ भेडा बाख्रा साथमा लिएर मङ्सिर दोस्रो साता दाङतिर झरेका थिए । 

मङ्सिर १० गते रुकुमबाट हिँडेका उनीहरु पुस २९ गतेमात्रै घोराही उपमहानगरपालिका १९ को पाँच पोखरीमा आइपुगेको भेडा किसान प्रेमबहादुर पुनले बताउनुभयो । 

करिब दुई महिनाअघि प्रेमबहादुरसहित भेडाको बथान लिएर हिँडेका धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुन रोल्पाको जलजला, भनभने, थामा हुँदै घोराही पाँचपोखरीमा आइपुगेका थिए ।

प्रेमबहादुर पुनका अनुसार उहाँले १२०, धर्म बुढाले पनि १२० वटा, धर्मकुमारी पुनका ११५ र रामकृष्ण पुनले ११५ वटा भेडा लिएर दाङ आउनुभएको थियो । 

चार सय बढी भेडा बाख्रा चराउन हिँडेका ती किसानको भेडाको अवस्था भने अहिले ठीक छैन । केही दिनयता अचानक भेडा मर्न थालेका छन् । बितेको दुई हप्तामा उहाँसँगै रहेका भेडामध्ये करिब २०० बढी मरेका छन् । दैनिक सरदर १०/१२ वटासम्म भेडा मर्ने गरेको प्रेम बुढाले बताउनुभयो । 

हिउँदमा पूर्वी रुकुमका उत्तरी भेगमा प्राय हिउँ पर्ने हुँदा यहाँ पशुपालक कृषक चिसो छल्न भन्दै आफ्ना पशु चौपायालाई बेँसीतिर झार्छन् ।मङ्सीरको सुरुवातसँगै उनीहरुले आफूले पालेका चौपाया भेडा बाख्रालाई चिसोबाट जोगाउन र चराउन दक्षिणी भेगका ल्याउने गर्छन् । 

विगत वर्षमा उनीहरुले जिल्लाका दक्षिणी भेगमा बथान सारेर हिउँदभर राख्ने गरेकामा यो वर्ष चरन राम्रो हुने, चिसो धेरै नहुने हुँदा भेडालाई रामो हुने भन्दै दाङ झरेका थिए । 

उहाँका अनुसार भेडामा मुख पाक्ने, पखाला लाग्ने र झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ । तर साथमा रहेका केही बाख्रामा भने यो समस्या नदेखिएको उहाँले बताउनुभयो । अचानक अज्ञात रोगका कारण भेडा मर्न थालेपछि उहाँहरु चिन्तामा बढेको छ । 

उहाँहरुले बिन्ती बिसाउँदै भन्नुभयो, ‘हाम्रो रोजीरोटी यही हो, हामी बर्बाद भयौँ यहाँ उपचार गराउने ठाउँ कहाँ छ भन्ने पनि थाहा छैन, सहयोग गरिदिन अनुरोध छ ।’ एक महिनाको बीचमा उनीहरुले पालेको करिब २०० बढी भेडा मरेका छन् । धर्मकुमारीका अनुसार रोल्पाको माडी भन्ने ठाउँमा आउँदा भेडामा समस्या देखिएको थियो ।

शुरुमा चिसोका कारण भेडा मरेको होला भनेर सामान्यरुपमा लिएको उहाँले बताउनुभयो तर अहिले भकाभक दिनमा १० वटासम्म मर्न थालेपछि भेडाको बथान नै सकिने होकी भन्ने पिरले सताएको उहाँको भनाइ छ । 

उहाँहरुले हाल भेडा चराउन राखेको स्थान पाँच पोखरी बस्तीभन्दा करिब ५०० मिटर पर जङ्गल क्षेत्र हो । भेडामा देखिएको समस्या समाधानका लागि उहाँहरुले स्थानीयलाई खबर गरे कसैले चासो नलिएको गुनासो गर्नुभयो । 

यसैबीच पाँचपोखरीमा ल्याइएका भेडा मर्दा किसान समस्यामा परेकाबारे घोराही उपमहानगरपालिका वडा नं १९ का वडा सदस्यजंग रोकाले आफूलाई जानकारी भए पनि के कारणले मरेका हुन् भन्नेबारे यकिन गर्न नसकिएको बताउनुभयो । 

दाङको विकट, सञ्चारविहीन र जङ्गल क्षेत्र भएका कारण यसबारेमा यहाँका स्थानीय प्रशासनलाई जानकारी हुन सकेको छैन । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया