ओम्नी ग्रुपलाई कालोसूचीमा राख्न ‘आलटाल’

 वैशाख १५, २०७७ सोमबार १६:५१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – औषधि र मेडिकल सामग्री खरिदमा बदमासी गरेको भेटिएपछि सरकारले गएकाे चैतको २० गते ओम्नी बिजनेश कर्पोरेशन इन्टरनेशनल ग्रुपसँगको सम्झौता तोड्यो । चौतर्फी विवाद भएपछि ओम्नीलाई कालोसूचीमा राखिएको स्वास्थ्य सेवा विभागका प्रमुख महेन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमै जानकारी गराउनुभएको थियो ।

विभागका प्रमुख श्रेष्ठले ओम्नीसँग पाँच करोड रुपैयाँ धरौटी जफत गरिएको पनि बताउनुभएको थियो । तर श्रेष्ठले भनेको एक महिना पुग्नै लाग्दा समेत ओम्नी कालोसूचीमा परेको छैन । अघिल्लो हप्ता मात्रै उसलाई स्पष्टीकरण सोधिएको छ । ३० दिनभित्र उसले चित्तबुझ्दो जवाफ दिनुपर्ने र चित्तबुझ्दो जवाफ नआए अरु प्रक्रियाअघि बढाइने सार्वजनिक खरिद अनुगमनको कार्यालयले जनाएको छ ।

ओम्नी ग्रुपले दिएको जवाफ र उमाथि लागेको आरोप हेरेर अनुगमनको कार्यालयका सचिवले निर्णय गर्नेछन् । एक पटक दिएको जवाफमा केही अस्पष्ट भएमा फेरि दोहोर्‍याएर सोध्न सकिने पनि प्रावधान छ ।

अहिले सार्वजनिक खरिद अनुगमन कार्यालयमा मोहनकृष्ण सापकोटा सचिवको रुपमा हुनुहुन्छ । तर उसलाई कालोसूचीमै नराख्न दबाब आइरहेको सार्वजनिक खरिद अनुगमनको कार्यालयका एक कर्मचारीले बताए । ‘बाहिर मिडियामा धेरै आयो तर यसलाई सकभर कालोसूचीमै नराख्ने नियतले काम भएको छ, दबाब पनि आयो रे भन्ने सुनिएको थियो’, एक कर्मचारीले भने, ‘ओम्नीलाई कारबाही गर्ने नियत भएको भए सरकारले सम्झौता तोडेको भोलिपल्ट नै कालोसूचीको लागि प्रक्रिया थाल्न सक्थ्याे होला तर आलटाल र समय बिताउनकै लागि हप्ता दिन पहिले मात्रै प्रक्रिया सुरु भएको छ ।’

सार्वजनिक खरिद ऐन २०६३ र नियमावली अनुसार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अनुचित प्रलोभन दिन वा त्यसकाे प्रस्ताव गरेमा, तथ्य बङ्ग्याइ वा झुक्याइ पेस गरेमा, भ्रष्टाचारजन्य वा जालसाजीपूर्ण कार्य गर्न वा त्यस्तो कार्यमा संलग्न भएमा कालोसूचीको प्रक्रियाअघि बढाउन सकिन्छ ।

यस्तै बोलपत्र वा प्रस्तावसम्बन्धी काम कारबाहीमा कुनै किसिमले संलग्न हुने अन्य प्रतिस्पर्धी बोलपत्रदाता वा प्रस्तावदाताको सहभागितामा हस्तक्षेप गरेमा, खरिद कारबाहीमा संलग्न कुनै व्यक्तिको जीउ ज्यान वा सम्पत्ति नोक्सान गर्ने प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने कार्य वा करकापजन्य कार्य भएमा पनि कालोसूचीमा राख्न सकिने व्यवस्था छ । 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया