गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - अर्थमन्त्री डा.युवराज खतिवडा र एशियाली विकास बैंकका अध्यक्ष मासाचुगु आसाकावाबीच कोभिड-१९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोग बारे टेलिफोन वार्ता भएको छ ।
वार्तामा अर्थमन्त्री र बैंकका अध्यक्षबीच कोभिड-१९ ले अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बैंकले नेपाललाई गरिरहेको सहयोग र आउँदो दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्नसक्ने थप सहयोगका विषयमा छलफल भएको छ ।
कुराकानीका क्रममा अर्थमन्त्री खतिवडाले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपालले लिएको रणनीतिबाट ठूलो सङ्क्रमण हुन नपाएको जानकारी गराउनुभयो।
उहाँले कोरोना महामारीको असरलाई सम्बोधन गर्न एशियाली विकास बैंकले अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामाग्रीहरु र २ सय ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्रदान गर्न लागेकोमा धन्यवाद व्यक्त गर्नुभयो।
अर्थमन्त्रीले एशियाली विकास बैंक नेपालको मुख्य विकास साझेदार रहेको बताउनु हुँदै बैंकले उर्जा, यातायात, खानेपानी र शहरी विकासलगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगलाई विशेष प्रशंसासमेत गर्नुभयो ।
साथै, नेपालले अंगिकार गरेको संघीय प्रणालीको प्रतिफल आम नागरिकले पाउन सक्ने तुल्याउनका लागि संघीय संरचनाका सबै संस्थाहरु बलियो बनाउनुका अतिरिक्त स्थानीय पूर्वाधार विकासमा लगानी बढाउनु पर्ने कुरामा समेत जोड दिनुभयो ।
माननीय अर्थमन्त्रीले यस सन्दर्भमा पालिकाहरुबीच अन्तर आबद्धता बढाउन चाहिने पूर्वाधार विकासमा बैंकबाट सहयोग हुने अपेक्षा पनि गर्नुभयो। माननीय अर्थमन्त्रीले कोभिड-१९ बाट स्वास्थ्य सेवामा सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी रहनुपर्ने तथ्य उजागर भएको बताउँदै आउँदा दिनमा नेपालको स्वास्थ्य पूर्वाधार विकासमा बैंकको थप सहयोगको अपेक्षा गर्नुभयो।
उहाँले कोरोना सङ्क्रमणबाट वैदेशिक रोजगारीका अवसरहरु खुम्चिदै जाँदा युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आधुनिक एव व्यवसायिक कृषि र स्थानीय पूर्वाधार एवम् ग्रामीण वित्त व्यवस्था विस्तारमा लगानी गर्नुपर्ने आवश्यकता रहेकोले यी क्षेत्रमा सहायता बढाउन एशियाली विकास बैंकलाई आग्रह गर्नुभयो।
एशियाली विकास बैंकका अध्यक्ष आसाकावाले कोभिड-१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्नुभयो । साथै उहाँले कोभिड-१९ का कारण सिर्जना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवं निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो।
उहाँले नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैंकले सहयोगलाई बढोत्तरी गर्दै जाने बताउँदै आउँदा दिनमा बैंकले उर्जा, यातायात, नागरिक उड्डयन, संघीयतामा सेवाप्रवाह जस्ता क्षेत्रमा थप लगानी गर्ने बारेमा पनि जानकारी गराउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।