विदेशमा ९८ नेपालीको शव व्यवस्थापनमा समस्या, उतै अन्त्येष्टिका लागि सहयोग गर्न परिवारसँग अनुरोध

 वैशाख २१, २०७७ आइतबार १७:२२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ९८ जना नेपालीको शव व्यवस्थापनमा कठिनाइ भएको  छ ।

नेपालमा लकडाउन हुनुअघि र लकडाउनको अवधिमा विभिन्न कारणले ज्यान गुमाएका १०९ नेपालीमध्ये ११ जनाको परिवारले गन्तव्य देशमा अन्त्येष्टि गर्न मञ्जुरी दिइसकेको भए पनि अझै ९८ जनाको शव व्यवस्थापनामा समस्या भएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

गन्तव्य देशमै अन्त्येष्टिका लागि ११ जनाले अनुमति दिए पनि अहिलेसम्म ४ जनाको मात्रै अन्त्येष्टि भएको छ । 

यो अवधिमा यूएईमा २४ जना, साउदीमा ३३ जना, मलेसियामा ३० जना, कतारमा १० जना, कुवतेमा ७ जना, बहराइनमा १, ओमानमा १ जना, टर्कीमा १ जना, सेसल्समा १ र दक्षिण कोरियामा १ जना गरी १०९ जना नेपालीको ज्यान गएको छ । जसमध्ये यूएईमा २ र टर्कीमा १ गरी तीन जनाको भने कोरोनाको कारण ज्यान गएको छ । 

लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द भएकाले शवको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापनमा थप कठिनाइ हुने कार्यकारी निर्देशक श्रेष्ठ बताउनुहुन्छ ।  परिवारले अनुमति दिएमा गन्तव्य देशमै अन्त्येष्टि गर्दा सहज हुने भए पनि धेरैका परिवारले यो कुरा स्वीकार नगरेको उहाँको भनाइ छ । 

सहयोग गर्न मृतकका परिवारसँग अनुरोध

सामान्य अवस्थामा पनि नेपालमा विदेशबाट दैनिक २ देखि ३ जनाको शव आउने गर्दथ्यो। साउदी लगायत केही देशबाट शव नेपाल आउन केही समय लाग्थ्यो । तर अहिले लकडाउनका कारणले अन्तर्राष्ट्रिय उडान रोकिंदा शव व्यवस्थापनमा सहयोग गर्न मृतकका परिवारलाई कार्यकारी निर्देशक श्रेष्ठले अनुरोध गर्नुभएको छ । 
‘भोलिको अवस्था कस्तो हुन्छ भन्न सकिन्न, लामो समय शव उतै हुँदा परिवारको अनुमतिबिनै पनि गन्तव्य देशले अन्त्येष्टि गरिदिन सक्छन्,’ कार्यकारी निर्देशक श्रेष्ठ भन्नुहुन्छ, ‘त्यसैले जे हुनु भसक्यो, परिवारले सहयोग गर्नुभयो भने समयमै शव अन्त्येष्टि हुन्छ ।’

अहिले विदेशबाट फर्कनेलाई पनि समाजले अर्कै नजरले हेर्ने समयमा शव ल्याउँदा परिवारलाई अर्को समस्या पनि हुन सक्छ ।

मृतकका परिवारसँग श्रेष्ठले आग्रह गर्नुभयो, ‘तपाईँहरुको मन मान्छ भने महिनौंसम्म शव कुर्नुभन्दा गन्तव्य देशमै शव व्यवस्थापन गर्दा गन्तव्य देशलाई  र तपाईँलाई पनि सहज हुन्छ ।’

 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया