आज २५६४ औँ बुद्ध जयन्ती, घरमै बसेर मनाउन आग्रह

 वैशाख २५, २०७७ बिहीबार ८:७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४ औँ बुद्ध जयन्ती। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।

यो वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न चलिरहेको लकडाउनका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत ठाउँमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर पूजालगायत विधि मात्र पूरा गर्ने भएका छन् । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसैबीच सरकारले आज बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्ती तथा कोरोना भाइरसविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकप्रति सम्मान, सङ्क्रमितको शीघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाएकाको शान्तिका लागि आज बेलुकी सात बजे घरघरमा दिपावली गर्न आग्रह गर्नुभएको हो । 

यसैबीच आज चण्डी पूर्णिमा अर्थात् किराँत राई समुदायले मनाउने उभौली पर्व । उभौली पर्वमा भूमेस्थानमा पूजा गर्ने गरिन्छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा छ । गर्मी सुरु हुने भएकाले मानिस बेँसीबाट लेकतिर अर्थात् उँभो लाग्ने भएकाले चण्डी पूर्णिमाको दिन उभौली पर्व मनाउने गरिएको सँस्कृतिविद्हरुले बताउने गरेका छन् । 

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । आजको दिन चण्डी नाच नाचिने भए पनि यसपटक लकडाउनका कारण चण्डी नाच प्रभावित हुने भएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मुख्य विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा शुभकामना दिनुभएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया