सबै सरकारी कार्यालय र पुस्तकमा नयाँ नक्सा राख्न मन्त्री अर्यालको अनुरोध

 जेठ ७, २०७७ बुधबार १५:५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालको नयाँ नक्सा आज सार्वजनिक सार्वजनिक भएको छ । भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटेर तयार पारिएको नक्सा आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको हो ।

नेपाल टेलिभिजनमार्फत नयाँ नक्सा सार्वजनिक गर्दै मन्त्री पद्मा अर्यालले लामो प्रयासपछि नक्सा सार्वजनिक गरिएको र अब छिटै भूमि पनि फिर्ता ल्याइने बताउनुभयो । उहाँले यो कार्यमा साथ दिएकोमा सबै नेपालीलाई धन्यवाद दिनुभयो ।

नेपालको अद्यावधिक नक्सा सार्वजनिक हुनु सबैको लागि ऐतिहासिक दिन रहेको मन्त्री अर्यालको भनाइ छ । उहाँले अब सिङ्गो विश्वमा नेपालको शान र मान बढेको दाबी गर्नुभयो । सरकारले संंकलन गरेका यथेष्ट प्रमाणका आधारमा नक्सा सार्वजनिक भएको भन्दै मन्त्री अर्यालले सरकारले नेपाल र नेपालीको शिर झुक्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सन् १८१६ मार्च १६ मा भएको सुगौली सन्धि अनुसार काली नदी पूर्वका सबै भाग नेपालको भए पनि नेपालमा अहिलेसम्म नाभी, कुटीलगायत केही ठाउँ छुटेकोले फेरि नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले जानकारी दिनुभयो । नक्सा जारी गरेर नेपाल सरकार राष्ट्रियता र सम्प्रभुता रक्षा गर्न सक्षम रहेको मन्त्री अर्यालको दाबी  छ ।

अब सबै कार्यालय, दस्तावेज, पाठ्यपुस्तक, कुटनीतिक नियोगलगायतमा नेपालको नयाँ नक्सा चलनमा ल्याउन मन्त्री अर्यालले आग्रह गर्नुभयो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएकाले  यो भूमि नेपालको नक्सामा राख्ने भन्दै नक्सा स्वीकृत गरेको थियो । मन्त्रिपरिषद्ले स्वीकृत गरेको नयाँ नक्सा सरकारले प्रमाणीकरण गरिसकेको छ ।

नेपालको निशान छापमा पनि नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदलाई सम्बोधन गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र यो फिर्ता ल्याएरै छाड्ने बताउनुभएको  छ । भारतले भने यो भूमि आफ्नो भएको  गर्दै सडक बनाइसकेको छ ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया