बजेटमा कुरा दोहोरियो : पूर्वप्रधानमन्त्री डा. भट्टराई

 जेठ १६, २०७७ शुक्रबार १७:५६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले विगत लामो समयदेखि हरेक वर्षको बजेटमा उही कुरा दोहोरिँदै आएको र आउँदो आवकोमा समेत उस्तै अवस्था रहेको टिप्पणी गर्नुभएको छ । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको श्रव्य/दृश्य छलफलका क्रममा उहाँले कोरोनाले पारेको प्रभावलाई कम गर्नेतर्फ बजेट केन्द्रित नभएको बताउनुभयो । 

उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका विषयमा राज्यले नै ध्यान दिनुपर्ने भए पनि त्यसतर्फ ठोस र प्रभावकारी कार्यक्रम आउन नसकेको गुनासो गर्नुभयो । आउँदो आर्थिक वर्षको बजेट परम्परावादी तवरले आएको आरोप लगाउँदै उहाँले गुणात्मक परिवर्तन र क्रमभङ्गको अपेक्षालाई त्यसले सम्बोधन गर्न नसक्ने आरोप लगाउनुभयो ।

बजेट समाजवादोन्मुख पनि नभएको र बजारवादतर्फ पनि जान नसकेर दोबाटोमा उभिएको जस्तो देखिएको र विगतदेखि नै त्यस्तै अवस्था रहेको भन्दै उहाँले दोबोटोमा उभिएर कहीँ पनि नपुगिने धारणा राख्नुभयो ।

सामाजिक सुरक्षामा खर्च भएको ७० अर्ब रुपैयाँलाई विशेष व्यवस्था गरेर गरिब, श्रमजीवी वर्गको हितमा लगाउनुपर्ने सङ्घीय समाजवादी पार्टीका नेता समेत रहनुभएका डा. भट्टराईको भनाइ छ । विदेशबाट फर्किएका युवालाई विशेष कार्यक्रमका साथ अगाडि बढाउनुपर्नेमा त्यसो नभएको र कृषि क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने अवस्था भए पनि त्यसतर्फ ध्यान नदिइएको उहाँको गुनासो छ । 

रेल, पानीजहाजजस्ता विषय यस वर्षका लागि अनावश्यक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यस वर्ष ती विषयलाई थाँती राख्दा फरक पर्ने थिएन । यस वर्ष स्वास्थ्य, शिक्षा, रोजगारीमा ध्यान दिनुपर्ने थियो त्यो भने हुन सकेन ।’

सरकारले साना, मझौला तथा ठूला उद्योगको विकासलाई प्रमुख प्राथमिकता दिएर वैदेशिक लगानी भित्र्याउनेतर्फ सहज वातावरण बनाउनुपर्नेमा त्यसतर्फ ध्यान नदिइएकामा आपत्ति जनाउनुभयो । 

नेपालमा आएको ऋणको दुरुपयोग भएकामा गुनासो गर्दै उहाँले ठूला भौतिक पूर्वाधारको विकासका लागि ऋण लिन डराउनु नहुने बरु त्यसको सदुपयोग हुनुपर्ने बताउनुभयो।

बुढीगण्डकी तानातानमा पर्‍याे 

उहाँले राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी ‘आसेपासे पुँजीवाद’को तानातानमा परेको आरोप लगाउनुभएको छ । 

कुल एक हजार २०० मेगावाट क्षमताको यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भएको र निर्माणमा लैजान सकिने अवस्थामा भए पनि कुनै प्रक्रिया अगाडि नबढाइएकामा आपत्ति प्रकट गर्नुभयो । 

आफू प्रधानमन्त्री रहेको समयमा यस आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको दुई नम्बरमा राखेर पेट्रोलियम पदार्थमासमेत कर लगाएको र मुआब्जा वितरणको कामसमेत भइरहेको अवस्थामा काम सुरु नहुनु दुःखद रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वार्थको तानातानमा परेका कारण आयोजना बन्दै नबन्ने हो कि भन्ने चिन्ता बढेको छ ।’ ऊर्जा सुरक्षाका लागि समेत बहुउद्देश्यीय आयोजना जरुरी रहेको भए पनि केही व्यक्तिको स्वार्थमा आयोजना बन्दी भएको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया