'राजदूत नियुक्तिलाई कार्यकर्ता पाल्ने अस्त्र बनाएका कारण सरकार कुटनीतिक क्षेत्रमा कमजोर बन्दै गयो'

 जेठ २५, २०७७ आइतबार १७:५४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले कुटनीति सम्बन्ध कायम गर्ने विषयमा सरकारले बुद्धिमतापूर्वक काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उहाँले सरकारले राजदूत नियुक्तिलाई आफ्ना कार्यकर्ता पाल्ने अस्त्र बनाएका कारण कुटनीतिको क्षेत्रमा कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो । उहाँले कुटनीतिक सम्बन्ध स्थापित गर्ने विषयमा गम्भीर बन्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले विदेशमा फजुलका राजदूतावास नबनाउन र कुटनीतिबारे प्रधानमन्त्रीलाई सही सल्लाह दिन आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीमा दक्षता भए पनि सल्लाहाकार ठिक नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विदेश नीतिमा आइरहेका समस्या । एमसीसीको विवाद छ । रोड एण्ड बेल्टको बारेमा राय बनाउनुपर्ने छ । हामीले भर्खरै हिन्दुस्थानमा मेघनाथले हनुमानलाई अथवा रामले रावणलाई प्रयोग गरेजस्तै अस्त्र प्रयोग गरेका छौँ । वायोशास्त्र ÷नक्सास्त्र । अब हामीले प्रयोग गरेको नक्सास्त्रलाई विफल हुन नदिन कुटनीति अपनाउनुपर्ने हुन्छ । के त्यसबारेमा हाम्रो मन्त्रालय सजग छ ? त्यसमा हामीलाई म्याड्रिडको राजदूतावासले कुनै सहयोग गर्न सक्छ ? डेनमार्कको राजदूतावासले सहयोग गर्न सक्छ ? गरे बरु बेइजिङले नै गर्ला ध्यान पुर्याउनुहोस् यदि तपाईँलाई अगाडि बढ्नु छ भने । होइन भने हिन्दुस्थानसँग लेनदेन गरेर बदलिदो परिस्थितिमा गणतान्त्रिक ढङ्गले निर्णय गर्नुहोस् । राजा महेन्द्रले जस्तो सुटुक्क एउटा चिठी पाएर एकातिर काम गर्ने अनि अर्कोतिर अग्रभाषण गर्ने काम नगर्नुहोस् ।’

उहाँले दूतावासमा हुने अनावश्यक खर्च कटौती गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘परराष्ट्रमा नियोग चलाउँदा हामीले भूगोल हेर्नुपर्छ । हाम्रो देशलाई आवश्यक पर्ने देश कसैले मन पराए पनि नपराए पनि हिन्दुस्थान हो, चीन हो । त्यसपछि छ भने अमेरिका हो । राजालाई हरेक शहरपिच्छे दरबार चाहिएजस्तै अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन । खर्च कटौती गर्नुहोस् ।’

चीन, अस्ट्रेलियालगायत देशमा बन्दै गरेका नेपाली दूतावासका लागि सरकारले ठूलो बजेट छुट्याएको तर विदेशमा रहेका श्रमिकलाई उद्धार गर्न न्यून बजेट विनियोजन गरिएको भन्दै उहाँले दूतावासका भवन निर्माणको तुलना बिदेसिन बाध्य भएका मजदुरसँग गर्न नसकिने तर्क गर्नुभयो । विदेशमा नेपालका दुई वटा दुतावास मात्रै नभएको भन्दै उहाँले ३० वटा दूतावास मध्येबाट कुन मापदण्डबाट दुई वटा दूतावास र काठमाण्डौमा भवन निर्माण गर्ने निर्णय गरियो ? भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सिङ्गो सरकारको आर्थिक दृष्टिकोण, कुन विचारधारमा हिँडेका छौँ । के छ हाम्रो दर्शन ? म सोध्न चाहन्छु परराष्ट्र मन्त्रीलाई– विदेशका ती नियोगमा हामी कति व्यापार गर्छौँ ? कति नोक्सानी भइरहेको छ । तिनलाई हामी किन चलाइरहेका छौँ ? मलाई थाहा छ परराष्ट्र नीतिका बारेमा । हाम्रो देश चलाउने व्यक्तिलाई अत्यन्तै कम चासो छ र कम जानकारी छ । म आरोप लगाउन चाहन्छु ।’ 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया