एन्फा महिला लिग फुटबल : नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब ख...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भइ बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
पार्टीका केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहनुभएको छ । यस्तै डाक्टर बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेताका रुपमा रहनुभएको छ । गएको वैशाख १० गते मध्यरातमा दुई पार्टी एक भएका थिए ।
वैशाख ११ गते नै जसपाले निर्वाचन आयोगमा दल दर्ताको निवेदन बुझाएका थियो । निवेदन दिएको ४५ दिनभित्र एकता प्रक्रिया टुङ्गोमा लगाउनुपर्ने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था छ । दलले निर्वाचन आयोगमा निवेदन दिएको हिजो शनिबार ४५ दिन पुगेको थियो ।
यसअघि पार्टीको वरीयतामा कुरा नमिल्दा दर्ता प्रक्रिया अलमलमा परेको थियो । हिजो शनिबार परेकाेले दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आज पार्टी पदाधिकारीबारे सहमति जुटेपछि दल दर्ता भएको हो ।
दल दर्ता भएपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले दुई अध्यक्ष र तीन जना वरिष्ठ नेताको नाम राखेर ५३ सदस्य कार्यकारी समितिको तर्फबाट दल दर्ता भएको बताउनुभयो । बाँकी जिम्मेवारी दल दर्ताको प्रक्रिया पूरा भएपछि तोकिने उहाँले बताउनुभयो ।
उहाँले जसपामा राजनीतिक समितिमा एक सय ५१ सदस्य र केन्द्रीय समितिमा सात सय एक जना रहने सहमति भएको र यसको पूर्णता पनि दल दर्ताको प्रक्रियाको क्रममा नै हुने बताउनुभयो ।
दल दर्ताकाे लागि शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुग्नुभएको थियो ।
वरिष्ठ नेता महतोले जसपाले दल दर्ता नम्बर १३९२ पाएको बताउनुभयो । सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि गएको वैशाख १० गते समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गर्ने सहमति भएको थियो ।
वैशाख ११ गते दुवै पार्टीका नेताहरु आयोग पुगेर एकताबारे लिखित जानकारी गराएका थिए । आयोगमा लिखित जानकारी गराएको ४५ दिनभित्रमा दल दर्ता गराउनुपर्ने प्रावधान अनुसार अन्तिम दिन आइतबार जसपाका नेताहरुले दल दर्ता गराएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।