नवलपरासीमा ट्राफिक सचेतनाका लागि ‘स्लो मोटरसाईकल रेस’
कात्तिक ३०, २०८१ शुक्रबार
म चीनको आन्हुई प्रान्तको एउटा गाउँमा थिएँ । जहाँ खाना खाँदै गर्दा सात वर्षीय बालकले आफूले दंगल चलचित्र हेरेको बताए ।
बालकले मात्रै होइन, डिनरमा बसेका अरु चार जनाले पनि दंगल निकै मन परेको बताए ।
दंगल, हिन्दी मिडियम, थ्री इडियट्स, पीके, ट्वाइलेट : एक प्रेमकथा जस्ता हिन्दी चलचित्रले चीनका गाउँ तथा शहरमा भारतको छवि सुधार्ने काम गरे, सायद यस्तो काम कुटनीतिबाट पनि सम्भव थिएन ।
शांघाईको एउटा पार्कमा मैले आमिर खानका फ्यान कैरन छनलाई भेटेँ । मेरो फर्माइसमा उनले ‘सिक्रेट सुपरस्टार’ फिल्मको ‘मै चाँद हूँ’ गीत गाएर सुनाए ।
छनसँग हिन्दी भाषाको ज्ञान त छैन तर उनलाई गीतको अर्थ भने थाहा थियो । दंगलले उनको परिचय केवल बलिउडसँग परिचय मात्रै गराएन, उनको निजी जीवनमा पनि प्रभाव पार्याे ।
छनले भनिन्, ‘जब मैले दंगल हेरेको थिएँ त्यतिबेला मेरो तौल ९८ किलो थियो । फिल्म हेरेपछि मलाई लाग्यो म तौल घटाउन अवश्य सक्नेछु । हेर्नुस् त अहिले म कस्ती भएकी छु ।’
छनसँगै आएका टिना र लीफले आफूहरुले सिडी र वेबसाइटबाट भारतीय फिल्म हेर्न सुरु गरेको बताए । लीफले भनिन्, ‘भारतीय फिल्मले सभ्यता देखाउँछन् । फिल्ममा देखाइने नृत्य, गीत, भगवानको पूजा र आस्था यी सबै कुराले मेरो मन छुन्छ ।’
सन् २०११ मा रिलिज भएको थ्री इडियट्समार्फत पनि चीनमा बलिउडका निकै फ्यान बनेका थिए । क्याम्पसका विद्यार्थीले अनलाइनमार्फत नै थ्री इडियट्स हेरेका थिए ।
सन् २०१४ मा रिलिज भएको धूम ३ ले चीनमा मात्र २० मिलियन युआन(झण्डै ३२ करोड नेपाली रुपैयाँ) बराबरको कारोबार गरेको थियो । तर २०१५ मा रिलिज भएको पीकेले चिनियाँ नागरिकमा बलिउडप्रतिको रुची बढायो । यी चलचित्रपछि दंगलले त रेकर्ड नै बनायो ।
चीनमा हिन्दी मात्रै होइन, भारतका अन्य भाषाका चलचित्र पनि मन पराइन्छ । साउथ इन्डियन फिल्मका फ्यान भिभियनले पीके हेरेपछि बाहुबली २ पनि हेरे । उनी यो फिल्मबाट यति धेरै प्रभावित भए कि फिल्मको पोस्टर नै जापानबाट मगाए । भिभियन फिल्मका मुख्य अभिनेता शांघाई आउन् भन्ने चाहन्छन् ।
सेन्ट्रल शांघाईको एउटा क्याफेमा हातमा प्रभासको पोस्टर र ब्याज लिँदै भिभियन भन्छन्, ‘प्रभासको फिट शरीर, आकर्षक अनुहार, घुम्रिएको कपाल, स्टाइलिस जुँगा, मिठो मुस्कान, तथा दर्बिलो आवाजका कारण उनलाई चीनमा आमी छोछो भन्ने गर्छौँ । प्रभासलाई देखेपछि अब मलाई पनि जुँगा मन पर्न थालेको छ ।’ चीनमा कलाकारका एक चिनियाँ नाम पनि हुने गर्दछ ।
गएको वर्षमा तीव्रताका साथ थिएटर निर्माण भएकाले चीनमा फिल्म बस्स अफिसको व्यापार ८.६ बिलियन डलरसम्म पुगेको थियो । डिलोयटको एक रिपोर्टका अनुसार सन् २०२० सम्म चीनको बक्स अफिस र दर्शकको संख्याले उत्तर अमेरिकालाई पनि पछि छाडिदिनेछ ।
सन् २०१६ मा तीन भारतीय फिल्म बाहुबली, पीके, फ्यान चीनमा रिलिज भएको थियो । गएको वर्ष चीनमा दंगल मात्रै रिलिज भयो । यसको कारण डोकलामको सीमा विवाद पनि भनियो । तर केही फिल्म जानकारहरु भने यसलाई नर्काछन् ।
यो वर्षको जुनसम्म पाँचवटा हिन्दी फिल्म चीनमा रिलिज भैसकेका छन् । सिक्रेट सुपरस्टार, हिन्दी मिडियम, बजरंगी भाइजान, बाहुबली २, ट्वाइलेट एक प्रेमकथा रिलिज भैसकेका छन् । सुल्तान र प्याडम्यान रिलिज हुने तयारीमा छन् ।
भारतीय फिल्ममा प्रस्तुत हुने कथावस्तु चीनमा यति लोकप्रिय भैरहेको छ कि चिनियाँहरु चीनमा बन्ने फिल्मको स्टोरीलाइन र ट्रिटमेन्टमै प्रश्न गर्दछन् ।
बलिउडका प्रशंसक तथा विदेशी फिल्म चीनमा भित्र्याउनेमध्येका एक चियानपिन ली आफ्नो विगत सम्झँदै आफू ‘थ्री इडियट्स’को साइलेन्सरजस्तै पुस्तकको सुगारटान लगाउँथे । पूर्वी बेइजिङमा आफ्नै कार्यालयमा भेटिएका चियानपिन बिइङ ह्यूमन टिशर्ट लगाएका थिए । उनको ल्यापटपमा भारतीय फिल्मका क्लिप र भिडियो थिए ।
उनी भन्छन्, ‘थ्री इडियट्स र हिन्दी मिडियमजस्ता चलचित्रमा पारिवारिक सम्बन्ध तथा भावना समेटिएको छ, जुन चिनियाँ फिल्ममा हुँदैन । परिवार र प्रेम भारतीय फिल्मको केन्द्रमा हुन्छ । चिनियाँ फिल्ममा एक्सन, स्पेसल इफेक्टस तथा अचम्मका प्लट हुन्छन् जुन म बुझ्दै बुझ्दिनँ ।’ चियानपिनले सन् २००८ मै थ्री इडियट्स हेरेका थिए ।
चियानपिनलाई साउथ इन्डियन फिल्म पनि उत्तिकै मन पर्छ । उनी भन्छन्, ‘म चाहन्छु कि चिनियाँहरु साउथ इन्डियन फिल्म हेरुन् । ती फिल्ममा एक्सनलाई बढाइचढाई गरेर देखाइन्छ । मानिस आकाशमा उडिरहेका हुन्छन् । केही समय त म पनि फिल्मका हिरोहरुले झैँ रंगीविरंगी कपडा लगाएर हिँडे नि । त्यतिबेला मलाई साउथ इन्डियन फिल्म हेर्दैछु भन्ने आभाष हुन्थ्यो ।’
चीनमा स्थानीय र विदेशी फिल्मको व्यापार झण्डै ५०–५० प्रतिशत जस्तै नै रहेको छ । विदेशी चलचित्रलाई चीनमा कोटा सिस्टम लागू गरिएको छ । अर्थात हरेक वर्ष निश्चित संख्याका विदेशी फिल्म मात्रै चीनमा रिलिज हुने गर्दछ ।
चियानपिनका अनुसार चीनमा प्रत्येक वर्ष झण्डै ८सय देखि ९ सयसम्म फिल्म रिलिज हुन्छन् । तीमध्ये ३ सयदेखि ४ सय मात्रै हलसम्म पुग्ने गर्छन् । अरु अनलाइन वा टेलिभिजनमा सीमित हुन्छन् वा रिलिज हुनै पाउँदैनन् ।
चीनमा धेरै फिल्म युवालाई केन्द्रित गरेर बनाइएको हुन्छ । गएको वर्ष बनेको वोल्फ वारियर २ ले बक्स अफिसका ५ अरब ६० करोड युआन कमाएको थियो ।
चीन घुम्दै गर्दा मलाई थाहा भयो कि ५०–५५ वर्षका केही मान्छेलाई राज कपूरको फिल्म ‘आवारा’ को टाइटल ट्रयाकको धुन थाहा छ । ‘आवारा हूँ’ लाई उनीहरु ‘आवालागू’ भनेर गाउने गर्छन् ।
आवारा, जितेन्द्र तथा आशा पारेखको ‘कारवां’ जस्ता फिल्मका गीत पनि चिनियाँहरु गुनगुनाउने गर्दारहेछन् । त्यस्तै एक हुन् स्टार फिल्म्सका प्रमुख एलेन ल्यू । बेइजिङको छाओयांग इलाकामा उनको अफिसमा पुग्दा ‘सिक्रेट सुपरस्टार’ का पोस्टर देखिन्थे ।
जब एलेन १०–११ वर्षका थिए, उनले हेरेको पहिलो फिल्म नै हिन्दी फिल्म ‘आवारा’ थियो । यो सन् १९८० को दशकको सुरुवातको कुरा हो ।
उनी सम्झन्छन्, ‘प्रत्येक हप्ता म बुवाआमासँग एउटा ठूलो मैदानमा फिल्म हेर्न पुग्थेँ । जहाँ ठूलो पर्दामा फिल्म देखाइन्थ्यो । हामी कुर्सीमा बसेर फिल्म हेर्ने गर्थ्यौँ । मैले हेरेको पहिलो फिल्म नै आवारा थियो । मेरो बुवाका उमेरका मान्छेहरु ‘आबालागू’ गीत गाउने गर्थे । त्यसपछि मलाई मन परेको अर्को फिल्म भनेको चिनियाँ नाम दा पंग छू(कारवां) हो ।’
ऐलनका अनुसार ७० र ८० को दशकमा चीनमा कमर्सियल थिएटर थिएनन् । धेरैजसो मान्छे ५ सय क्षमताका कल्चरल थिएटरका पर्दामा फिल्म हेर्ने गर्थे । विदेशी फिल्मलाई डब गरेर देखाइन्थ्यो । कुटनीतिक तथा अन्य कारणले गर्दा भारतीय फिल्मले लामो समयसम्म चीनमा प्रवेश पाएन ।
ऐलनले दंगल चीनमा ल्याएका थिए । उनी आफैले भने आमिर खानको मुम्बईमा रहेको घरमा पहिलो पटक दंगल हेरेका थिए ।
ऐलन भन्छन्, ‘जब दंगल सकियो, म त रोइरहेको पो थिएँ त । मलाई फिल्ममा आफ्नै जिन्दगीको हिस्सा बताइएको जस्तो लाग्यो । फिल्ममा देखाइएको छोराछोरीप्रतिको बाबुआमाको व्यवहार मैले आफूले भने पाइनँ । फिल्म हेरेपछि म पूर्ण विश्वस्त थिएँ कि यो फिल्म चीनमा अवश्य चल्नेछ ।’
दंगलले चीनमा झण्डै एक अरब ३० करोड युआनको व्यापार गर्यो । दंगल चीनका विभिन्न ठाउँका ९ हजार स्क्रिनमा देखाइएको थियो । चिनियाँ सिनेमाकै इतिहासमा दंगलले विभिन्न रेकर्ड पनि राख्यो ।
ऐलनका अनुसार सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका अवसरमा चीन सरकारले सम्बन्ध सुधारको एउटा सन्देश दिन चाहन्थ्यो ।
ऐलन भन्छन्, ‘सन् २०१५ मा चीन सरकारेको निवेदनमा भारतीय फिल्म चीन ल्याउने प्रक्रिया सुरु भयो । भारतीय फिल्मले थिएटरमा खासै प्रभाव राख्दैन कि भन्ने पनि लाग्यो किनकि यो पहिलो पटक हुँदै थियो ।’ चीनमा धर्म निकै संवेदनशील विषयवस्तु रहेको छ । पीके धर्मकै बारेमा थियो ।
ऐलन भन्छन्, ‘हामीले फिल्मलाई भन्दा आमिर खानलाइए प्रमोट गर्यौँ । आमिर चीन आए, उनले पत्रकार सम्मेलन गरे । अन्तर्वार्ता दिए । त्यसले पनि बजारमा प्रभाव पार्यो । हामीले फिल्मले ५० मिलियन कारोबार गर्छ होला भन्ने सोचेका थियौँ तर फिल्मले एक सय मिलियनको व्यापार गर्यो । यो भारतीय सिनेमाका लागि चीनमा एउटा रेकर्ड थियो ।’
पीकेको सफलतापछि ऐलनले बाहुबली, फ्याजस्ता फिल्म पनि चीन भित्र्याए तर सोचेजस्तो सफलता प्राप्ीत भएन । त्यसपछि उनले दंगल लिएर आए । दंगल रिलिज हुँदै गर्दा ऐलनले एउटा टिकेटिङ एपमाथि मानिसहरुको प्रतिक्रिया हेरिरहेका थिए ।
उनी भन्छन्, ‘मानिसहरुले दंगललाई कुनै विदेशी फिल्मजस्तो गरी हेर्दै हेरेनन् । चलचित्रको अन्तिममा भारतीय झण्डाले पनि उनीहरुलाई केही फरक पारेन । चीन र भारत भनेर उनीहरुले सोच्दै सोचेनन् ।’ दंगलपछि सिक्रेट सुपरस्टारले पनि चीनमा राम्रो व्यापार गर्यो ।
चिनियाँ फिल्म इन्डस्ट्रीसँग जोडिएका मानिसहरुका अनुसार चीनमा हलिउड र बलिउड फिल्म किन्ने प्रक्रिया लगभग एउटै हो । डिस्ट्रिब्यूटरलाई एउटा न्यूनतम ग्यारेन्टी दिनुपर्छ, कहिलेकाहीँ त उनीहरुलाई मुनाफाको हिस्सा पनि दिनुपर्छ । एक फिल्म खरिदकर्ताका अनुसार चीनमा अहिले हलिउडभन्दा पनि भारतीय फिल्मको मूल्य बढी भएको छ ।
ऐलन भन्छन्, ‘चिनियाँ खरिदकर्ता सबै भारतीय फिल्म एकदमै उच्च मूल्यमा किनिरहेका छन् । म यसैमा चिन्तित छु । यदि जस्तो पायो त्यस्तै भारतीय फिल्म चीनमा ल्याइरहने हो भने भारतीय फिल्मको छवि पनि नराम्रो हुन्छ ।’
उनी अगाडि भन्छन्, ‘मलाई एक जना डिस्ट्रिब्यूटरले भनेका थिए, सुरुमा जर्मनीमा पनि भारतीय फिल्मले राम्रो कारोबार गरेको थियो । पछि जस्तोसुकै फिल्म भित्र्याउन थालेपछि पूरै बजार ध्वस्त भयो । कतै चीनमा पनि यस्तै हुन्छ भन्ने चिन्ता मलाई पनि छ ।’
ऐलनले आमिर खानको एउटा फिल्म चीनमा रिमेक गर्दैछन । उनले कबिर खानसँगको को–प्रोडक्सनमा त्यो फिल्मको रिमेक गर्नेछन् । ऐलनले राम्रा चिनियाँ फिल्मलाई छिट्टै भारतीय बजारमा पनि प्रवेश गराउने योजना रहेको बताए ।
-बीबीसी हिन्दीका लागि पत्रकार विनीत खरेले तयार पारेको सामग्रीको अनूदित अंश
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।