इलामका घाेडचढी व्यवसायी भन्छन्, 'ऋण सम्झँदा मन रुन्छ'

 असार २५, २०७७ बिहीबार १८:५२:५७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – तेजबहादुर तामाङ सूर्योदय नगरपालिका ६ इलाममा बस्नुहुन्छ । तामाङले ६ वर्ष अघिदेखि ‘घोडचढी’ व्यवसाय सुरु गर्नु भएको हो । यही व्यवसायबाट घरबार चलाउँला, ऋण तिरौँला अनि केही बचत पनि गरौँला भन्ने उहाँकाे सपना थियो ।

तर कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण सरकारले घाेषणा गरेकाे लकडाउनले सपना पूरा गर्न त दिएन, यही बेला उहाँको घोडासमेत मर्‍याे । दुई लाख रुपैयाँमा किनेको घोडाले ५० हजार रुपैयाँ मात्रै ऋण चुक्ता गरेको थियो । 

घोडा किन्दा लागेको एक लाख ५० हजार रुपैयाँ ऋण तिर्न बाँकी हुँदाहुँदै लकडाउनमा घोडा मर्‍याे । अहिले उहाँलाई कसरी ऋण चुक्ता गर्ने भन्ने पीर लागेको छ । तामाङलाई घर चलाउन, छोराछोरी पढाउन भारतको बिहारबाट किनेर ल्याएको घोडाकै भर थियो ।

लकडाउनले घोडचढी व्यवसाय बन्द त गर्‍याे नै, तामाङको परिवारलाई हातमुख जोड्नसमेत धौधौ पारिदियो । घोडचढी व्यवसायबाहेक अरु सोच्दा पनि नसोचेकाेले पाल्ने घोडा मरे पनि यही व्यवसाय गर्ने रहर जीवितै रहेको तामाङले बताउनु भयो । 

व्यवसाय चल्दा रामेले (घोडाको नाम) आठ सय रुपैयाँको दाना खान्थ्यो । लकडाउनकाे कारण व्यवसाय ठप्प भएपछि भने दुई सय रुपैयाँको दानामा नै सीमित भयो । दाना किन्न रकमको समस्या भयो । 

घोडालाई बाँधेको बाँधेकै गर्नु परेकाेले कसरत पनि भएन । यही कारणले ६ महिनाअघि मात्रै किनेको तामाङको घोडा मरेको हो । योभन्दा अगाडि तामाङले दुई वटा घोडा किन्नु भएको थियो । सानो भयो, पर्यटकले रुचाएनन् अनि बेच्नु भयो । 

तेजबहादुरको यही पेसामा लत बसेको छ । यसैबाट परिवारले सहज जीवनयापन गर्न पाएका हुन् । ‘अब लकडाउन खुलेपछि फेरि ऋण लिएर अर्को घोडा लिने अनि लागेको ऋण तिर्ने । के गर्नु ? बाँच्नकाे लागि रहर त पाल्नै पर्‍याे नि !’ उहाँ घोडचढी व्यवसायमा अझै भविष्य देख्नुहुन्छ । 

महेन्द्र तामाङ भने आफ्नै लगानी भएकाले ऋणबाट जोगिनु भयो । तर छोटो समयमा जुन स्थिति झेल्नु भयो, त्यसलाई उहाँ भुल्नै सक्नुहुन्न । सूर्योदय नगरपालिका ६ का उहाँ तीन वर्षयता घोडचढी व्यवसाय गर्दै आइरहनु भएको छ । 

अहिले लकडाउन छ । कमाइ छैन । हात लाग्यो शून्य छ । यही समयमा घोडा पनि मर्‍याे । ‘घोडा किन्दा लागेको दुई लाख ४० हजार रुपैयाँ फिर्ता नआउँदै डब्लु (घोडाको नाम) लाई बिदा गर्नुपर्दा कम्ता पीर लागेको छैन नि', महेन्द्र भन्नुहुन्छ । फेरि व्यवसायमा फर्कन लकडाउन कहिले खुल्ला भन्ने प्रतिक्षामा उहाँ जस्तै ३९ जना व्यवसायी रहेका छन् ।

उनीहरुमध्ये १२ जना वैदेशिक रोजगारीबाट नेपाल फर्केर घोडचढी व्यवसाय सुरु गर्नेहरु रहेका छन् ।  यो व्यवसाय पालिकाबासीको मुख्य आयस्रोत बन्न पुगेको छ । 

इलामको कन्याम क्षेत्र विशेषगरी शुटिङ, पिकनिक र अवलोकन भ्रमणका लागि प्रमुख आकर्षणको केन्द्र हो । हरेक महिना पर्यटकको खचाखच हुने ठाउँ अहिले सुनसान छ । कन्याम सुनसान हुँदाको प्रत्यक्ष असर यहाँका व्यवसायीमा परेको छ । 

सिजन लागेको समयमा एक दिनमा ३९ घोडाले पाँचदेखि आठ पटकसम्म पर्यटकलाई घुमाउन पाउने गरेको घोडचढी व्यवसायी सङ्घका अध्यक्ष प्रेमलाल तामाङले जानकारी दिनुभयो । यस व्यवसायमा एक घरका २२ देखि ५३ वर्षसम्मका दुई जनासम्मले रोजगारी पाएका छन् । 

पर्यटकको पहिलो रोजाइमा सरेसा जातका घोडा 

व्यवसायका लागि ल्याइएका कन्यामका अधिकांश घोडा सरेसा जातका छन् । पर्यटकले यही जातका घोडा मन पराउने भएकाले व्यवसायीहरुले ऋण नै लिएर भए पनि यही जातका घोडा किन्ने गर्छन् । 

व्यवसायीहरुले आफ्नो पेसालाई निरन्तरता दिन ६० हजार रुपैयाँदेखि दुई लाख ५० हजारसम्मका घोडा भारतकाे पटना, दार्जिलिङ, बिहारलगायतका ठाउँबाट किनेर ल्याउने गरेका छन् । साना र छोटा जातको घोडालाई ३० देखि ५० हजार रुपैयाँसम्म पर्छ तर ती पर्यटककाे राेजाइमा पर्दैनन् ।

२५ वर्षअघि फोटो खिचेको एक रुपैयाँ लिएर एउटा घोडाबाट इलामको कन्याममा घोडचढी व्यवसाय​ सुरु भएको हाे । अहिले यस व्यवसायमा ३९ वटा घोडा रहेका छन् । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया