शेयर बजार झन्डै २९ अङ्कले बढ्यो
पुस ८, २०८१ सोमबार
इलाम– आफ्नै ठाउँमा पाखुरा बजारेर खान्छु भन्नेलाई इलाममा उपयुक्त ठाउँ र वातावरण छ । यहाँका अनेक विकल्पमध्ये धेरैले दूग्धजन्य उत्पादनबाट नै गुजारा चलाउँछन् ।
इलामका लागि डेरी उद्योग आर्थिक समृद्धिको आधार मानिन्छ । तर कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनले इलामका डेरी उद्योगमा प्रत्यक्ष असर परेको छ । यसले धेरै उद्योग बन्द मात्र गरेन, सञ्चालन भएका अधिकांश उद्योगमासमेत आर्थिक भार परेको छ ।
इलामको सन्दकपुर गाउँपालिका ५ जमुनाका केवल राईले पाँच वर्षअघि तामाङसुङ्ग डेरी उद्योग खोल्नु भयो । तामाङसुङ्गले गाउँका ५९ जना किसानलाई पालेको छ । यति मात्रै होइन, विदेशको दुःख स्वदेशी सुखमा परिणतसमेत गरिदिएको छ । तर हठात् विश्वमा महामारी आयो, कोरोना भाइरसको ।
यसले उद्योगी केवललाई भने पर्नुसम्मको पीर परेको छ । लकडाउनले उत्पादित छुर्पी, घ्यू बिक्री नहुँदा २० दिन उद्योग नै बन्द गर्नु पर्यो । उत्पादित छुर्पी, घ्यूको माग आएपछि भने धमाधम उत्पादन गर्दै बिक्री गर्न थाल्नु भयो, तर उधारोमा ।
‘छ महिना भयो, रकम नै पाएको छैन, २५ लाख मेरो पेमेन्ट हुन बाँकी छ’ उहाँ थप्नुहुन्छ, ‘दूध ल्याउने किसानलाई बैंकबाट लोन लिएको पैसाले रकम दिँदैछु ।’ उहाँले बैंकमा बुझाउनुपर्ने ब्याज समेत नबुझाई अहिले किरानलाई दूधको मूल्य दिइरहनुभएको छ ।
केवलले उद्योगमा १५ लाख लगानी गर्नुभएको छ । दिनमा तीन सय ५० लिटर दूध प्रशोधन हुन्छ । यसबाट साँडे १२ केजी घ्यू र १४ केजी छुर्पी उत्पादन हुन्छ । जसमध्ये महिनामा १० केजी घ्यू स्थानीय बजारमा र बाँकी सबै बाहिरी बजारमा पठाउने गरेको उहाँको भनाइ छ ।
पहिले उत्पादित घ्यू, छुर्पी जापान, भारतको दार्जीलिङ, मिरिक, सिलिगुढीसम्म जान्थ्यो, तर अहिले ठप्प छ । लकडाउनले गर्दा ५० प्रतिशत घाटा व्यर्होन परेको उहाँले बताउनुभयो ।
केवलले यो उद्योग सानो दुःखले खोल्नुभएको हैन । २०६० सालमा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुग्नुभएको थियो । चार वर्ष उतै बिते । तर सोचे जस्तो कमाई भएन । कमाउन गएको मनिस, कमाइ नै नभएपछि परदेशमा बस्ने कुरै भएन । त्यसैले परदेशको माया मारेर फर्कनुभयो ।
विदेशको दुःख भोगेर स्वदेश फर्किएपछि देशमै स्वरोजगार भएको पनि १७ वर्ष पूरा भइसक्यो । तर अहिलेको जस्तो विपत्ति कहिल्यै भोग्नु परेको थिएन । ‘विदेश गइयो प्रगति भएन, नेपाल आएर उद्योग खोलियो, यसले पनि घाटा लगाउला जस्तो भो, अब कसो गरेर व्यवहार सुधार्ने सोच्न सकेको छ्रैन ’ केवल भन्नुहुन्छ ।
एक दिन अवस्था सामान्य होला र डेरी व्यवसाय पुरानै लयमा फर्किएला भन्ने आशमा हुनुहुन्छ उहाँ ।
सधैं हँसिला देखिने सुकबहादुर राईको अनुहारमा अहिले बादल लागेजस्तै भएको छ । लकडाउनले उद्योग चौपट बनायो । बनाएको योजना पूरा भएन । यसले साह्रै ठूलो पीर दिएको छ उहाँलाई । एक दिन त परिस्थिति सामान्य होला भनेर उहाँ मन बुझाएर बस्नुभएको छ । तर कहिले होला थाहा छैन ।
इलामको सन्दकपुर गाउँपालिका २ माइमझुवामा छ, उहाँको डेरी उद्योग । एक वर्ष भयो डेरी सञ्चालन गरेको । आफू पनि स्वरोजगार हुने र गाउँमा रोजगारी पाइएन भन्दै परदेशिने तयारीमा रहेका युवालाई रोजगारी दिने योजनासहित सुरु गरेको उहाँको उद्योग कोरोनाको मारमा पर्यो ।
१७ वर्षअघि रोजगारी खोज्दै यूएई पुग्नुभएका सुकबहादुरको परदेश बसाइ सुखद रहेन । यूएईमा पाँच वर्ष बिताउनुभयो उहाँले । तर उहाँले परदेश बसाईमा देब्रो हातको बुढी औँला गुमाउन पर्यो ।
फेरि २०६९ सालमा कतार जानुभयो । एक वर्ष आठ महिना श्रम गर्नुभयो । अनि परदेश बसाइ बिट मारेर नेपाल आउनुभयो ।
यी दुई देशमा भोग्नु परेका दुःख र हण्डरले नै उहाँलाई देशमै केही गर्ने आँट दियो । तर थालेको कामलाई कोरोनाले गलाउँदा उहाँ पनि गल्नुभएको छ ।
उद्योगमा महिनामा एक ११ सय लिटर दूध प्रशोधन हुन्छ । यसबाट ३२/३२ किलो घ्यू र छुर्पी उत्पादन गर्नुहुन्छ । यी सबै उत्पादन स्थानीय बजारमा नै बिक्री हुन्छ । तर अहिले कोरोनाले उहाँको उद्योगलाई असर गर्दा न त उहाँले व्यवसाय विस्तार गर्न पाउनुभएको छ, न त उत्पादन बजारमा गएका छन् ।
सूर्योदय नगरपालिका – ३ स्थित लक्की डेरी उद्योगका प्रोप्राइटर तुलु तामाङको पनि उस्तै छ पीडा । लकडाउनका कारण एक महिना उद्योग बन्द भयो । यसको प्रत्यक्ष असर किसानमा पर्यो । बन्दपछि सुरु गर्दा उद्योगमा दुई हजार सात सय लिटर दूध घट्यो । व्यापार पनि डामाडोल भयो । उद्योग आसपासका तीन सय ५० जना किसान यसैमा निर्भर छन् ।
‘उद्योग खोलेपछिको पेमेन्ट गर्न पनि गाह्रो छ, जसोतसो दुई महिनामा एक पटक मात्रै पेमेन्ट गर्दैछौं,’ उहाँले भन्नुभयो ‘अपुग रकम आफ्नै गोजीको जाँदैछ, बैंकको ऋणको ब्याज तिर्न सकेको छैन ।’ वाणिज्य बैंकबाट लिएको लोनको ब्याज तिर्न सकेको छैन । उहाँलाई यो बेलामा बैंकको व्याजमा मात्र सहुलियत भए पनि व्यवसाय सञ्चालन गर्न सजिलो हुन्थ्यो भन्ने लागेको छ ।
लकडाउनका कारण केही महिना डेरी उद्योगहरु बन्द भए । कति त अझै पनि बन्द छन् । बन्दपछि सञ्चालन सुरु भएका उद्योगमा उत्पादित छुर्पी, घ्यू निर्यात त भए तर ढुवानीको मूल्य दोब्बर नै बढेर गएकाले समस्या भएको छ ।
इलाममा उत्पादन भएका धेरैजसो छुर्पी एग्रोकल्चर नेपाल नामको कम्पनीमार्फत विदेश निर्यात हुन्छ ।
अन्तर्राष्ट्रिय बजारमा निर्यात अहिले एकदम कम भइरहेको सेतो पहाड डेरी उद्योग तथा कम्पनी सञ्चालक मिलन खत्रीले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘गत सालको तुलनामा ढुवानीको मूल्य दोब्बर नै बढेर गएको छ, यसको प्रत्यक्ष असर किसानलाई परेको छ, महङ्गीका कारण किसानलाई उचित मूल्य दिन नसक्नु र समयमा नै पेमेन्ट गर्न नसक्ने जस्ता समस्या भइरहेको छ ।’
उत्पादित छुर्पी, घ्यू अमेरिका र भारत निर्यात हुन्छ । यी देशमा कुकुरका लागि छुर्पी निर्यात हुन्छ । निर्यात सहज नहुँदा कम्पनीमा तीन हजारभन्दा बढी छुर्पी र घ्यू स्टकमा रहेको र दुई हजारभन्दा बढी छुर्पी र घ्यू बिग्रिएको सञ्चालक खत्रीले जानकारी दिनुभयो ।
घरायसी प्रयोजनमा मात्रै सीमित हुने दूध विक्री हुन थालेपछि इलाममा व्यवसायिक गाईपालन सुरु भएको हो । केही वर्ष अघिसम्म दूग्ध संस्थान विराटनगरले संकलन गर्ने दूधको ८० प्रतिशत हिस्सा इलामले ओगट्थ्यो । तर, अहिले गाउँघरतिरै डेरी उद्योग सञ्चालन भएपछि भने दूग्ध विकास संस्थान बिराटनगरमा जाने दूधको परिमाण घटेको छ ।
जिल्लामा उत्पादन भएको दूधबाट घ्यू, छुर्पी, चिज, ललिपप, पनिर तथा मिठाइजन्य परिकार बनाइन्छ । साविक जिल्ला पशुसेवा कार्यालय इलामका अनुसार जिल्लामा बर्सेनि एक लाख २३ हजार सात सय मेट्रिकटन दूध उत्पादन हुन्छ ।
यसलाई हेर्दा इलाममा दैनिक तीन लाख ४० हजार लिटर दूध उत्पादन भएको देखिन्छ । आर्थिक वर्ष २०७२÷०७३ को तुलनामा २०७३÷०७४ मा दुई हजार एक सय ३८ मेट्रिक टन दूध उत्पादन बढेको तथ्याङ्कले देखाउँछ ।
आर्थिक वर्ष २०७०/०७१ सम्ममा इलाममा दुई सय १५ वटा डेरी उद्योग थियो । आर्थिक वर्ष २०७१/०७२ मा ५० वटा गाईफम र डेरी स्थापना भएका छन् । २०७२/०७३ मा २५ वटा, २०७३/०७४ मा ७३ उद्योग स्थापना भएको घरेलु तथा साना उद्योग विकास कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा इलाममा ५८ डेरी उद्योग छन् ।
दुई हजार छ सय २३ विभिन्न किसिमका उद्योग रहेको इलाममा चार सय २१ डेरी उद्योग रहेको घरेलु तथा साना उद्योग विकास कार्यालय इलामको तथ्याङ्कमा देखिएको छ । पछिल्लो समय आर्थिक वर्ष २०७५÷०७६ मा २२ र चालु आर्थिक वर्ष २०७६/०७७ मा ३४ वटा डेरी उद्योग मात्रै दर्ता भएको तथ्याङ्कले देखाएको छ । नवीकरण गर्न छुटेका उद्योगलेसमेत यस आर्थिक वर्षमा ३१ उद्योग र २५ गाई फार्म गरी ५६ वटाको नवीकरण भएको कार्यलयका सूचना अधिकारी युवराज घोर्साइले जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रमा उद्योग खुले पनि कतिपय उद्योग दर्ता नहुने उहाँको भनाई छ । इलाम जिल्लामा मात्रै झण्डै तीन लाख किलो छुर्पी उत्पादन हुन्छ । सरदर छ सय रुपैयाँका दरले मात्रै हिसाब गर्दा छुर्पीको बिक्रीबाट मात्रै वार्षिक एक अर्ब ८० करोड रुपैयाँ नेपाल भित्रिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।