भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको एकमात्र आइसोलेशन वार्डमा शय्या नभएपछि कोरोना सङ्क्रमितहरुलाई घरमै राखिएको छ ।
पछिल्लो समय हेटौँडामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको आशङ्का गरिए पनि सङ्क्रमितलाई व्यवस्थितसँग राख्ने क्षमता आइसोलेशनसँग छैन ।
हेटौँडा ४ काे कर्रामा रहेकाे श्रमिक माध्यमिक विद्यालयको नयाँ भवनमा ३५ शय्याकाे आइसोलेशन निर्माण गरिएको थियो । वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको आइसोलेशन वार्डमा सङ्क्रमित राख्न शय्या अपुग भएपछि सङ्क्रमित घरमै बस्न थालेका छन् ।
मङ्गलबार १३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका थिए । उनीहरूलाई सहजसँग उपचार गर्न सक्ने क्षमता राजधानीकै आइसोलेशनसँग नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् । आइसोलेशनमा सोमबारसम्म ३४ जना कोरोना सङ्क्रमित र एक जना शङ्कास्पद बिरामी भर्ना गरी राखिएको थियो । योसँगै हेटौँडामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ ।
मङ्गलबार नै आइसोलेशनका इन्चार्ज भोला चौलागाईंले १३ जनामध्ये पाँच जना सङ्क्रमितलाई जसोतसो व्यवस्थापन गरी भर्ना गरी राखेको बताउनुभयाे । ‘आइसोलेशनको क्षमताअनुसार सङ्क्रमित भर्ना भइसकेका थिए । १३ जनालाई कहाँ राख्ने भनेर मलाई तनाव भयो । जसोतसो पाँच जनालाई मिलाएर राखेको छु’, चौलागाईंले भन्नुभयाे । उहाँका अनुसार मङ्गलबार थपिएका १३ जनामध्ये आठ जना कोरोना सङ्क्रमितलाई आ–आफ्नै घरमा राखिएको छ ।
हेटौँडा ५ का चार जना, वडा नम्बर ४ का एक जना र वडा नम्बर १० का तीन जना सङ्क्रमितलाई घरकै आइसोलेशनमा राखिएको चौलागाईंले जानकारी दिनुभयाे । ‘आइसोलेशनमा राख्नलाई बेड छैन । घरमै सुरक्षित साथ आइसोलेशनमा राख्ने व्यवस्था मिलाएका हौँ’, हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षकसमेत रहनु भएका चौलागाईंले भन्नुभयाे । घरमै बसेका सङ्क्रमित नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहने चौलागाईंले बताउनुभयाे ।
‘उहाँहरूलाई स्वास्थ्यकर्मीहरूको नियमित सम्पर्क भइरहनेछ । कुनै समस्या आउन दिँदैनौँ,’ चौलागाईं भन्नुहुन्छ । कोरोना महामारीका बीच हेटौँडाका कोरोनाङ्संक्रमित पहिलो पटक घरमै बसेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।