मजदुरमा कोरोना देखिएपछि तातोपानी नाका खुलेको एक दिनमै बन्द

 असोज २०, २०७७ मंगलबार १८:२८:५० | किरण थापा
unn.prixa.net

फाइल फाेटाे

सिन्धुपाल्चोक – तीन महिनापछि खुलेको तातोपानी नाका एक दिनपछि फेरि बन्द भएको छ । आइतबार सामान लोड/अनलोड गरेर सोमबार सामग्री नेपाल भित्रिएपछि नाका फेरि बन्द भएको हो । भन्सार सामान लोड/अनलोड गर्ने मजदुरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि चीनले एकतर्फी रुपमा आयात बन्द गरेको हो ।

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत रामचन्द्र ढकालका अनुसार नाका खुल्दा भित्रिएका १२ कन्टेनरका सामग्रीको भन्सार भएको छैन । ती सामग्रीको कागजात मिल्ने क्रम बाँकी छ । 

चीनबाट आएका सामग्री मितेरी पुलपारि नै रहेका छन् । लोड/अनलोड गर्नेलाई कोरोना पुष्टि भएकै कारण सामग्री भुइँमै अलपत्र छाडिएको हो । नेपालमा परीक्षण गर्दा तीनैजना मजदुरको कोरोना रिपोर्ट निगेटिभ आएको थियो । तर चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएपछि चीनले एकतर्फी रुपमा आयात बन्द गरेको हो ।

खासा र न्यालममा रहेका डेढ सय कन्टेनर सामान दशैँअघि काठमाण्डाै ल्याउने योजनाअनुसार दुवै देशको सहमतिमा नाका खुलेको हो । सीमाबाट कोरोना फैलिन सक्ने भन्दै जाङ्मु प्रशासनले चीनतर्फ मितेरीपुलमा ल्याइएको सामान अर्को निर्णय नभएसम्म नेपालतर्फ नपठाउने भएको छ ।

गएको असार २५ गते बाह्रबिसेदेखि तातोपानीसम्मका सडक खण्ड कटान गर्ने गरी आएको बाढी पहिरोपछि बन्द रहेको तातोपानी नाका फेरि सञ्चालनमा ल्याइएको थियो । भोटेकोशी नदीमा आएकाे बाढी र पहिरोले क्षतिग्रस्त भएको सडक निर्माण भए पनि तिब्बतको ‘क्यानोन कु’ ताल फुट्न सक्ने सम्भावना रहेकै कारण बन्द थियाे । 

तर खुलेकाे एकदिनमै फेरि नाका बन्द हुँदा व्यवसायी मर्कामा परेका छन् । गएको असोज १३ गते सिन्धुपाल्चोकका उच्च सुरक्षा अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुरु गर्ने सहमति भएपछि नेपाल–चीनबीचको प्रमुख भन्सार नाका खुलाइएको थियो । कोरोना सङ्क्रमण फैलन सक्ने भएकोले दुवैतर्फबाट सजगता अपनाउने विषयमा छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयाे । 

चीनतर्फ कोरोना परीक्षण गर्दा तीन मजदुरको रिपोर्ट पोजेटिभ आएको भन्दै आयात मोडालिटी परिवर्तन गर्नुपर्ने जानकारी आएको उहाँले बताउनुभयाे । नजिकिँदो दशैँ प्रभावित नहोस् भनेर चिनियाँ अधिकारीसँग आयातको नयाँ मोडालिटीबारे छलफल जारी रहेको सीडीओ ढकालले जानकारी दिनुभयाे । 

सुख्खा बन्दरगाह लार्चाकाे तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले नयाँ मोडालिटीबारे छलफल भइरहेको बताउनुभयाे ।

नेपालमा नेगेटिभ रिपोर्ट आएको दुई दिनपछि खासा क्षेत्रमा परीक्षण गर्दा तीन जनाकाे रिपाेर्ट पोजेटिभ आएकोले आयात प्रभावित भएको खत्रीले बताउनुभयाे । तर नाकालाई सुरु गर्न पहल भइरहेको उहाँले बताउनुभयाे । 

पीसीआर मेसिन र डाक्टरको टिम आउँदो हप्ता तातोपानी भन्सार आएपछि मजदुरको कोरोना परीक्षण नियमित गरिने उहाँकाे भनाइ छ । खासाबाट चिनियाँ ड्राइभरले सिधै नेपालतिरको भन्सार यार्डमा ल्याएर सामान खसाल्ने मोडालिटीमा छलफल भइरहेको उहाँले बताउनुभयाे । 

अहिलेसम्म १२ कन्टेनर सामान नेपाल भित्रिएका छन् । यसअघि २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएपछि तातोेपानी नाका बन्द भएको थियो । २०७६ सालमा भूकम्पको चार वर्षपछि जेठमा खुले पनि फागुनमै फेरि बन्द भएको थियो । चीनमा देखिएको कोभिड–१९ का कारण नाका बन्द गरिएको हो ।

पछि नेपालमा स्वास्थ्य सामग्री अत्यावश्यक भएपछि केही समय नाका खुलाएर सामग्री ल्याइए पनि फेरि बन्द गरिएको हो । तातोपानीबाट सबै खाले सामग्री ल्याइने निर्णय गरेसँगै खुलेको नाका पछिल्लो पटक असार २४ गते अरनिको राजमार्गकाे बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशीमा बाढी आएर सडक क्षतिग्रस्त भएपछि असार २५ गतेदेखि नाका बन्द थियो ।

खासामा मात्रै नेपाली व्यवसायीका झण्डै आठ सय कन्टेनर सामग्री रोकिएका छन् । ती सामान न्यालाम, सिगात्से र खासाका गोदाममा छन् । नाका खुलेसँगै ती सामग्रीसमेत क्रमैसँग ल्याइनेछ ।  

भूकम्पअघि यो नाकाबाट हरेक दिन सवा करोडको हाराहारीमा राजस्व सङ्कलन हुने गर्दथ्यो । पछिल्लो आर्थिक वर्षमा भन्सारले एक अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया