लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुने
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – मानव जीवनका लागि महामारी अभिशाप हुन्, याे कतै पनि फैलनु हुँदैन । तर मानिसका अनेक प्रयासका बाबजुद पनि महामारी फैलिरहेका छन् । कोभिड–१९ को महामारी पछिल्लो उदाहरण मात्र हो । यसअघि पनि फ्लु, हैजा, दादुरा जस्ता महामारी भोगिसकेका हामीले कोभिड–१९ को महामारी पनि भोगिरहेका छौँ ।
यसबाट ठूलो मात्रामा जनधनको क्षति भएको छ भने हामीले ठूलो मानसिक तनाव बेहोर्याैँ । महामारी नआउनु थियो, आइहाल्यो । अब यसलाई सम्झेर चिन्ता गर्याे भने मानसिक तनाव मात्रै बढ्छ । यसबाट बच्ने उपायहरू अपनाउँदै यसले ल्याएका राम्रा उपलब्धिहरूको चर्चा गर्ने हो भने थोरै भए पनि राहत मिल्छ ।
कोरोना महामारीबाट सरसफाइका क्षेत्रमा सकारात्मक परिवर्तन भएको छ । कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भने झैँ महामारीको त्रासले पनि हामीलाई सरसफाइप्रति सजग बनाएको छ । यसअघि हात धुनुपर्छ भनेर सिकाउनकै लागि सरकार तथा विभिन्न सङ्घ संस्थाले ठूलो लगानी गरेका थिए तर उपलब्धि कमजोर थियो । तर अहिले गाउँ, सहर, जताततै हात धुने लहर चलेको छ । पहिले दिसा गरिसकेपछि मात्र साबुनपानीले हात धुनेहरू अहिले खाना खाने बेला मात्र नभइ घरबाहिर गएर फर्कंदा हात धोएर मात्र भित्र पस्न थालेका छन् ।
यो सामान्य उपलब्धि हैन । घरबाहिरै जुत्ता फुकाल्ने, कपडा सफा देखिएर मात्र हुँदैन भिडभाडमा गएर आएपछि धुनुपर्छ भन्ने, व्यक्तिगत सरसफाइसँगै घर आँगनको सरसफाइमा पनि कोभिड–महामारीले परिवर्तन ल्याइदिएको छ । अभियन्ताहरूले बारम्बार सम्झाउँदा उल्टै रिसाउने मानिसहरू कोरोना काल सुरु भएपछि सरसफाइप्रति सजग भएका छन् ।
कोरोना कालमा म सिरहा तथा सप्तरीमा रहेँ । त्यहाँ अहिले सामान्य परिवारले पनि धारामा साबुन राख्न थालेका छन् । बुढेसकाल लागेका मानिस जो दिसा गरेर फर्केपछि मात्रै साबुन पानीले हात धुन मान्नु हुन्नथ्यो, उहाँहरू अहिले बारम्बार साबुन पानीले हात धुन थाल्नुभएको छ ।
बालबच्चालाई सफा राख्नेदेखि व्यक्तिगत अनि घरायसी सरसफाइमा जुन परिवर्तन देखिएको छ, त्यसलाई म एक जना सरसफाइ अभियन्ताको हिसाबले असामान्य परिवर्तन भएको मान्छु । व्यावहारिक रूपमै यति धेरै परिवर्तन ल्याउन त हाम्रो जस्तो देशमा दशकौँको प्रयास आवश्यक पर्थ्याे तर कोरोना महामारीले केही महिनामै ल्याइदिएको छ ।
हामी लामो समयदेखि सरसफाइ अभियानमा छौंँ । कम्तीमा हप्तामा एक दिन अभियानमा जुट्नुपर्छ भनेर हामी अभियानमा सहभागी हुन्थ्यौँ । त्यस बेलामा बिरामी पर्दा पनि सकि–नसकी अभियानमा जुट्थ्यौँ, जसबाट बिरामी परेका मानिस त आएको छ भने हामी किन नआउने भनेर अरू मानिसले सिक्छन् भन्ने लाग्थ्यो । तर कोरोनाले त्यो बुझाइ फेरिदिएको छ । बिरामी भएको मानिस अभियानमा सहभागी हुँदा आफूमा भएको रोग अरुलाई पनि सार्छ भन्ने बुझाइ भयो ।
अहिले मानिस बिरामी परेपछि कुनै पनि अभियान तथा सामाजिक काममा जान छाडेको छ । यो कोरोना मात्र नभइ अरु विभिन्न सरुवा रोगको प्रकोप रोक्नका लागि पनि उपयोगी हुन्छ ।
हामी यसअघि भेट हुँदा हात मिलाउँथ्यौँ, अङ्कमाल गर्थ्याैँ, कतिपयले चुम्बन पनि गर्थे । तर यी कुराहरू पनि ठिक होइनन् भन्ने कुरा कोरोनाले स्थापित गराइदियो । हामी शौचालय पसेर निस्केपछि पनि हात नधोइ अरुसँग हात मिलाउन पछि पर्दैन थियाैँ । यसबाट धेरै जोखिम हुन्थ्यो ।
अहिले नमस्कार तथा हाई–हेल्लोले भेटघाटको अभिवादन पूरा हुन्छ । यो पनि सरसफाइका दृष्टिले ठूलो उपलब्धि हो । यसअघि हामी आफ्नो हातलाई कुनै ध्यान नदिइ जतिबेला पनि अनुहारमा लैजान्थ्यौँ । तर अहिले हात नधोइकन अनुहारमा लैजान मन लाग्दैन । नाक कोट्याउने, आँखा मिच्ने जस्ता बानी धेरैका हटेका छन् । आफ्नै हात भए पनि हात धेरै फोहोर कुराको सम्पर्कमा रहने भएकोले यसलाई बारम्बार धुने वा नधोइकन अनुहार नछुने बानीको विकास हुनु सरसफाइको क्षेत्रमा ठूलो उपलब्धि हो ।
यसलाई कोरोनाको सकारात्मक परिवर्तन मान्ने हो भने हामीलाई कोरोनाले दिने चिन्ता कम हुन्छ भने यिनै बानी, व्यवहार अपनाइरहने हो भने कोरोनासँगै अरु विभिन्न सरुवा रोगको जोखिम कम हुन्छ भन्ने कुरा त विज्ञहरुले बारम्बार बताइरहेकै छन् ।
कोरोनाको सङ्क्रमण नेपालमा पनि सुरु भएसँगै देशव्यापी लकडाउन भयो । सँगै सरसफाइ अभियान पनि स्थगित भए । केही ठाउँमा एक/दुई जना अभियन्ताहरू व्यक्तिगत दुरीसहित उपस्थित भएर साङ्केतिक रूपमा अभियान जारी राखेका भए पनि त्यो वास्तविक अभियान थिएन । महामारीसँगै अभियानहरू बन्द नै भए, बन्द गर्नु नै पर्थ्याे । किनकि सरसफाइ अभियानमा मानिसको ठूलो जमघट हुने भएकोले त्यहाँबाट सङ्क्रमण फैलन जोखिम भएकोले हामीले त्यस्ता अभियान स्थगित नै गरेका हौँ ।
तर कोभिड–१९ को धेरै सम्बन्ध सरसफाइसँग थियो । त्यसैले कोरोना कालमा हामीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लगायत विभिन्न निकायले भनेका कुरालाई आधार मानेर विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा छरछिमेकमा व्यक्तिगत दुरी कायम गर्दै कुराकानी गरेर सरसफाइप्रति सचेत रहन आग्रह गरिरह्यौँ ।
सकेसम्म घरबाहिर ननिसक्न, निस्कनै परेमा मास्क लगाएर व्यक्तिगत दुरी कायम गर्दै काम पूरा भएपछि घर फर्किहाल्ने क्रम बढ्यो । पहिले बाहिर गएर फर्केपछि हात खुट्टा नधोइ भित्र पस्ने बानी रहेकोले त्यसो नगर्न आग्रह गरिरह्यौँ । रोगसँगको सम्बन्ध देखिएकोले मानिसले व्यवहारमा चाँडो प्रयोग गरे । हप्तैपिच्छ अभियानमा सहभागी भइरहने हामीलाई त्यस बेला त्यत्तिकै बस्न धेरै गाह्रो भएकोले विभिन्न माध्यमबाट कोरोनाबाट बच्ने सरसफाइका उपायका बारेमा चर्चा गरिरह्यौँ । अहिले पनि त्यही गरिरहेका छौँ । अहिले नै मानिस भेला भएर सरसफाइ अभियान चलाउने बेला आएको छैन । कोरोना महामारी नियन्त्रणमा नआउञ्जेल धेरै मानिस भिड हुने कुनै पनि कार्यक्रममा सहभागी हुनु हुँदैन ।
कोरोना महामारीले दिएको सास्ती त छँदैछ, जसको पीडा हाम्रो पुस्ताले कहिल्यै भुल्न सक्दैन । तर महामारीले हामीलाई सरसफाइको क्षेत्रमा जति कुरा सिकाएको छ, यो कुराले हामीलाई आगामी दिनमा अरु थुप्रै सङ्कटबाट बचाउने पक्का छ । त्रासका बीच सिकिएको कुरा भएकोले यसले हाम्रो जीवनमा दिगो प्रभाव पार्छ भन्ने लाग्छ । हामीले अहिले दैनिक जीवनयापनमा प्रयोग गरिरहेका सरसफाइका वस्तु तथा उपाय सधैँभरि प्रयोग भइरहन्छन् भन्ने विश्वास पनि लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
साह सरसफाइ अभियन्ता हुनुहुन्छ ।