सिरियाको माइनस २० डिग्री तापक्रममा ड्युटी गर्दै नेपाली सेना

 माघ ७, २०७७ बुधबार १६:३२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली सेनाले सिरियाको अत्यन्तै चिसो मौसममा पनि कर्तव्य निर्वाह गरिरहेको छ ।

संयुक्त राष्ट्र सङ्घको विच्छेदन पर्यवेक्षक बल (यूएनडीओएफ) अन्तर्गत रहेर नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउण्ट हर्मनको २० फिटको हिउँ र माइनस २० डिग्री सेल्सियस चिसो कठ्याङ्ग्रिँदो सिरेटोमा पनि ड्युटी निर्वाह गर्दै आइरहेका छन् । यस क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम रहेकाले शान्ति सैनिकहरू तैनाथ गरिएका छन् ।

विश्वको सबैभन्दा अग्लो ठाउँमा शान्ति सैनिक तैनाथ भएको माउण्ट हर्मन क्षेत्रमा अहिले पनि ठूलो सङ्ख्यामा विद्युतीय धरापहरू छन् भने द्वन्द्वरत सशस्त्र समूहको चलखेल बढेको नेपाली सेनाले जनाएको छ । झण्डै ६ महिना हिमपात हुने गोलान क्षेत्रमा खटिने नेपाली सैनिकले मुस्ताङ जिल्लाको कैसाङ उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्ध कलासम्बन्धी तालिम प्राप्त गरि हिमपात र विकट भूगोलमा काम गर्न दक्षता प्राप्त गरेका हुन्छन् ।

सन् २०१३ देखि नेपाली शान्ति सैनिकहरू तैनाथ रहेको माउण्ट हर्मन इलाकामा हिँउमा प्रयोग गरिने विशेष किसिमको सवारी साधनहरू पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारबाहीहरू सञ्चालन गरिन्छ । 

नेपाली शान्ति सैनिकको सबैभन्दा ठूलो उपस्थिति रहेको सिरिया मिसनमा नेपाली सेनाको डाक्टर अधिकृतसहितको मेडिकल टिम र आन्तरिक द्वन्द्वकाे कारण विद्रोहीहरूबाट क्षति पुर्‍याइएका शान्ति सैनिकहरूको ब्यारेक संरचनाहरू पुनर्निर्माण र ब्यारेक स्थानहरूको सुरक्षा मजबुत बनाउन नेपाली सेनाको इञ्जिनियर टिम पनि कार्यरत छ ।

नेपाली सेनाको कार्यक्षमता, पेसागत दक्षता र विश्वसनीयताकाे कारण मिसनमा नेपाली शान्ति सैनिकहरूको संयुक्त राष्ट्र सङ्घ तथा सिरियाली सरकारको तर्फबाट प्रशंसा हुँदै आइरहेको छ । 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया