‘नागरिकको सेवक हूँ’ भनेर काम नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने मन्त्री पुनको चेतावनी

 भदौ १, २०७५ शुक्रबार १५:३७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले जनभावना अनुसार चल्न नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई कडा निर्देशन दिनु भएको छ । 

विद्युत प्राधिकरणप्रति सेवाग्राहीको गुनासो बढिरहेका बेला मन्त्री पुनले जनभावना अनुसार चल्न प्राधिकरणका कर्मचारीहरुलाई सचेत गराउनु भएको हो । उहाँले ‘नागरिकको सेवक हूँ’ भन्ने भावनाका साथ काम नगर्ने कर्मचारीलाई पदबाट बर्खास्त गर्ने चेतावनी पनि दिनुभयो । 

शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३३ औं वार्षिकोत्सव कार्यक्रमलाई काठमाडाैंमा उद्घाटन गर्दै मन्त्री पुनले प्राधिकरणका कर्मचारीहरुले नागरिकको आवाज नसुनेको गुनासो आफूसँग आएको उल्लेख गर्दै त्यस्ता कर्मचारीलाई पदबाट हटाउन सकिने स्पष्ट पार्नुभयो । 

उहाँले राम्रो काम गर्ने कर्मचारीलाई नागरिकले पनि सम्मान गर्ने गरेको पनि स्मरण गराउनु भयो । मन्त्री पुनले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेगरी कामलाई अघि बढाउन पनि नेपाल विद्युत प्राधिकरणलाई निर्देश गर्नु भयो । निजी क्षेत्रसँग प्रतिस्पर्धा नगरे प्राधिकरणको औंचित्य नहुने मन्त्री पुनको भनाई छ ।

मन्त्री पुनले प्राधिकरणको नियमनका लागि विद्युत नियमन आयोग गठन गर्ने घोषणा पनि गर्नु भयो । उहाँले आयोग गठन गर्नका लागि सरकारले त्यसको ऐन र नियमावली बनाउने कामलाई सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव एवम् प्राधिकरणका अध्यक्ष अनुपकुमार उपाध्यायले नागरिकलाई गुणस्तरीय सेवा वृद्धिमा ध्यान दिन प्राधिकरणलाई सचेत गराउनु भयो । उहाँले जनताको चाहेकै ठाउँमा विद्युत उपलब्ध गराउनका लागि आवश्यक योजना बनाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिनुभयो ।


कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको वार्षिक प्रगति विवरण पेश गर्दै यसको सेवालाई भरपर्दो, गुणस्तरीय र सर्वसुलभ बनाउनु प्राधिकरणको मुख्य चुनौती रहेको बताउनु भयो । उहाँले विद्युतको नियमित आपूर्ति र चुहावट नियन्त्रण नै एक वर्षको मुख्य अभियान भएको पनि जानकारी दिनुभयो ।

प्राधिकरणले यस वर्ष १ अरव १ करोड कुल मुनाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले नियमित विद्युत आपूर्ति र चुहावट नियन्त्रणका कारण प्राधिकरणले त्यो मुनाफा आर्जन गर्न सफल भएको पनि स्पष्ट पार्नुभयो ।
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया