२८१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको नौमुरे बहुउद्देश्यीय आयोजनाको सार्वजनिक सुनुवाइ

 माघ २२, २०७७ बिहीबार २०:२८:३७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – देउखुरीको नौमुरे बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदा प्रतिवेदनको विषयमा सार्वजनिक सुनुवाइ गरिएको छ ।

नौमुरे बहुउद्देश्यीय आयोजनामार्फत प्युठान, अर्घाखाँची र कपिलवस्तुबाट दुई सय ८१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको आयोजनाका लागि राप्ती नदीको लामातालमा एक सय ६९ मिटर अग्लो ड्याम निर्माण गरिने भएको छ ।    

यो आयोजना प्युठानको सरुमारानि गाउँपालिकाको ३, अर्घाखाँचीको शीतगङ्गा नगरपालिका ७ र ११ र कपिलवस्तुको शिवराज नगरपालिका १ मा स्थायी संरचना निर्माण गरि सुरु गरिने बताइएको छ । यसको मुख्य उद्देश्य विद्युत् उत्पादन, सिँचाईको व्यवस्था, बाढी नियन्त्रण, जैविक विविधता संरक्षण, जलाशय निर्माण गरि र्‍याफ्टिङ, माछा पालनलगायतका नमुना आयोजना सञ्चालन गर्दै लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकालाई नमुना सहर बनाउन मदत पुर्‍याउनु रहेको छ ।

जलाशय बनाएर झिमरुक नदीको ऐरावती गाउँपालिकासम्म र माण्डवी गाउँपालिकाको देवीस्थान नयाँ गाउँसम्म सञ्चालन गर्न सकिने विभिन्न सम्भावनाका विषयमा अध्ययन गरिएको, आयोजनाले अहिलेको पानीको अवस्था, सिँचाइको अवस्थामा समस्या नल्याउने भन्दै विगतमा आएका विभिन्न आशङ्कालाई चिर्ने गरि वास्तविक प्रतिवेदन निर्माण भएको विद्युत् विकास विभागका गौरीप्रसाद शाहले जानकारी दिनुभएको छ ।

यस आयोजनामा विगतमा धेरै अध्ययनका काम सुरु गरि बीचमै अलपत्र परेको थियो ।

विद्युत् विकास विभागका सिनियर डिभिजन प्रमुख गौरीप्रसाद शाहको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको उपस्थितिमा भएको सुनुवाइमा स्थानीय कुलोपानी समितिका प्रतिनिधिलगायतको पनि सहभागिता रहेको थियो ।  

नौमुरे बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदाका बारेमा विद्युत् विकास विभागका गौरीप्रसाद शाह, हरिबहादुर खत्री, डा. नारायणमान श्रेष्ठ, डा. ज्योतिप्रसाद गजुरेल, शङ्करबहादुर साउदले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि तथा कृषक अगुवाहरूले देउखुरीको सानको रूपमा रहेको कृषि भूमि सिँचाइ तथा नागरिकको पानीको पर्याप्तताको सुनिश्चितता हुनुपर्ने माग गर्दै लोक हिताय नौमुरे बहुउद्देश्यीय आयोजनाको सफलतामा सबैले सहयोग गर्ने बताउनुभएको छ ।

मस्यौदा प्रतिवेदनहरूलाई थाती राख्दै झण्डै तीन वर्ष अघिदेखि फेरि अध्ययनको काम सुरु गरिएको नौमुरे आयोजनाको नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभागको प्रस्तावमा इन्भार्मेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट प्राली नेपाल, एकिओना इञ्जिनियरिया एस. ए स्पेन र नेपाल इन्भार्मेन्ट एण्ड साइन्टिफिक सर्भिसेज प्रालीको जेभीले वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदा प्रतिवेदन तयार गरेको हो ।

नौमुरेलाई जलाशययुक्त बनाएर कपिलवस्तु हुँदै भारतको बिहारमा पानी लैजाने सर्तमा आयोजना भारत सरकारले उपहार स्वरूप बनाइदिन तयार भए पनि त्यसको विरोध भएपछि नेपाल सरकारले २०७१ साल साउनमा काम आफै अघि बढाउने निर्णय गरेको थियो ।  

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया