च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
सडकका कम्युनिष्ट माधव नेपाल र प्रचण्ड ! सरकारका कम्युनिष्ट केपी ओली ! जंगलका कम्युनिष्ट विप्लव ! वनपाखा, बाटाघाटा र सिंहदरबार कम्युनिष्टले भरिभराउ छ ! देशैभरि जताततै कम्युनिष्ट भएकाले हिजोआज विपक्षीले काम पाएका छैनन् । विपक्षी दलले गर्नुपर्ने काम कम्युनिष्टहरुले पालैपालो गरिरहेका छन् ।
दिनदिनै थरीथरीका नाटक र नौटङ्की देखाएर नागरिकलाई भरपुर मनोरञ्जन दिइरहेका छन् । केपी ओलीको राज चल्न थालेपछि हरेक बेलुका टीभी हेरेर मुसुक्क हाँस्दै ओछयान पस्ने बानी लागेको थियो, अहिले त हाँसेरै दिन बित्न थालेको छ । त्यसमाथि, प्रचण्डको हैसियत बढेर धुर्मसको भन्दा गतिलो भइसकेको छ, त्यसैले चौबीसै घण्टा नेपाली नागरिक मन्त्रमुग्ध भएर मुस्काइ रहेका छन्, हाँसिरहेका छन् ।
कहिले सडकको कम्युनिष्टले सरकार चलाउन खोज्छ, कहिले सरकारको कम्युनिष्टले सडक चलाउन खोज्छ । सरकारबाट सडकमा झरेका कम्युनिष्टले आमहड्ताल गरेर देश चलाएझैं गरे । देश चलाउने ठाउँमा पुग्न नपाएको रिस फेरे । सरकारमा बसेका कम्युनिष्ट पनि के कम ? छाडेर गएकाले सडक कब्जा गरे भन्ने रीसले बेलाबेला आफैं सडकमा पुग्छन् । कहिले मोटरसाइकल र्याली गर्छन्, कहिले दरबार अघिल्तिर भाषण ठोक्छन् । दुवै कोभन्दा को कम ? विश्वमै कहीँकतै नभएको आश्चर्य नेपालका कम्युनिष्टले देखाइरहेका छन् ।
मरिचमान सरकारले सडक प्रदर्शन गरेको अठ्तीस वर्ष पूरा भइसकेको थियो । यसबीचमा जन्मेका म जस्ता मान्छेले सरकारले सडकमा झरेर जुलुस निकालेको सुन्न र देख्न पाइएको थिएन । पञ्चायत ढलेको अठ्तीस र राजतन्त्र उन्मूलन भएको १० वर्षमा बल्लतल्ल देख्न पाइयो । ‘केपी बा’ले सुरुकै दिनदेखि अरु कसैले गर्न नसकेको कुरा गरेर देखाउँछु भन्थे । नभन्दै देखाइ छाडे । एकदिन एकछिनको लागि सरकारबाट सडकमा झरेर तमासा गरे । त्यो पनि पहिले राजा बस्ने नारायणहिटीको अघिल्तिर उभिएर । टाउकोमा श्रीपेच नभएको मात्रै हो, नत्र राजाभन्दा के मा कम छु भन्ने पारामा शान र ठाँट देखाए । मजस्तो कोही छैन भनेर सतसठ्टी वर्षे उमेरमा भर्खर “काला” हुन थालेका जुँगा मुसारे । नाक ठाडो पारे र त्यसैत्यसै गद्गद् भए ।
सडकका कम्युनिष्टमा यसै पनि कुर्सी नभेटेको छटपटी छ । देश चलाउन नपाएको थकथकी त झनै बढी छ । एकैदिनलाई मात्र भए पनि देश चलाउने हुटहुटी जाग्यो । त्यसपछि उनीहरुले आमहड्ताल भनेर घोषणा गरे । भन्नुपर्ने त नेपाल बन्द थियो । तर यसोभन्दा माधवकुमार नेपालको मात्रै नाम आउने, प्रचण्डको नाम छुट्ने । दुई/दुईवटा अध्यक्ष भएको पार्टीले गरेको कार्यक्रममा एउटा अध्यक्षको मात्रै नाम कसरी भन्ने ? नेकपा प्रचण्ड-नेपाल समूह भने जस्तो प्रचण्ड-नेपाल बन्द भन्न पनि नमिल्ने । त्यसैले नेपाल बन्द नभनेर आमहड्ताल भनियो ।
आमहड्ताल पनि अचम्मको । विद्यार्थी परीक्षा दिन जान पाउने, तर गाडीमा जान नपाउने । दूध बेच्न पाइने, तर पसल खोल्न नपाइने । अनि आमहड्ताल गर्ने नेताहरु त झन् बिचित्रका । अरुले गाडी चलाउन र गाडीमा यात्रा गर्न नपाउने, तर आमहड्ताल आह्वान गर्ने पार्टीका अध्यक्षहरु भने गाडी चढेरै गाडी बन्द गर्न जान पाउने । आमहड्तालको दिन देखिहाल्नुभयो, प्रचण्ड गाडी चढेर चिउरा खान सडकमा पुगे । माधव नेपालले स्कुटीको पछिल्तिर बसेर हात हल्लाउँदै रमिता हेरे ।
अलि दिनअघि प्रचण्डले भनेका थिए, ‘किन किन टाउको चिलाएको छ लाठी खान मन छ ।’ तर अघिपछि, वरपर सुरक्षाकर्मीको घेरामा बसेर आन्दोलन गर्न जानेलाई कसले हान्ने लाठी ? आफ्नै अंगरक्षक र सुरक्षाकर्मीले हान्दैनन्, अरुले हान्नै पाउँदैनन् । चिल्लो गाडीमा सुरक्षाकर्मी र अंगरक्षकले घेरिएर आन्दोलन गर्न जानुपर्ने भएपछि प्रचण्डको लाठी खाने सानो इच्छा त पूरा हुन पाएन भने सत्ता हत्याउने इच्छा कसरी पूरा होओस् ? त्यसकारण आमहड्तालको भोलिपल्ट रामबहादुर थापाले नारायणहिटी दरबार अघिको मञ्चबाटै उनको इच्छा चिडियाखानामा थुनेर पूरा गरि दिने घोषणा गरिदिए । प्रचण्डका दुःख पनि कम छन् र गाँठे ! ठाउँ न कुठाउँ कार्यकर्ताले ‘एमसीसी चाहिँदैन’ भनेर नारा लगाउँछन् । यस्तो नारा नलगाउ भन्दा पनि मान्दैनन् । अनि लुरुक्क परेर चिउरा गोजीमा राखेर हिँड्नुपर्छ ।
तर पनि आन्दोलन गर्नलाई रमाइलो छ । नेताहरुलाई चिटचिट पसिना आए पनि कार्यकर्ताले सडकमै भात पकाएर खान पाएका छन् । नाचगान गर्न पाएका छन् । अरुबेला सडकमा यसरी पिकनिक मनाउन पाइँदैन । रमाइलो गर्ने बेला यही हो ।
सरकारी नेकपाका कार्यकर्तालाई त झनै रमाइलो छ । प्रेम सप्ताहमा ‘केपी बा आई लभ यू’ भन्दै सडकमा कुद्न पाइएको छ । हाहा..हूहू.. गर्दै सिटी फुक्दै मोटरसाइकलमा हुइँकिन पाइएको छ । म त सरकारी मान्छे, निहुँ खोजेको हो भनेर पाखुरा सुर्कन पाइएको छ ।
नागरिकलाई पनि रमाइलो छ । सरकार र सडकमा रहेका कम्युनिष्टहरु कहिले नाटक देखाउँछन्, कहिले नौटङ्की देखाउँछन् । सत्तोसराप गर्दै एकअर्काको पोल खुलाउँछन् । सरकार र सडकमा रहेका कम्युनिष्टहरुले देखाउने चटकमा कहिल्यै सुन्न र देख्न नपाइएको कुरा सुन्न र देख्न पाउँदा आफ्नो मन मुस्कुराउन थालेको धेरै भएको थियो ।
सरकार बनेको दिनदेखि आमहड्ताल र नारायणहिटी सभाका दिनसम्म सडकमा देखेका कम्युनिष्टका चटक सम्झँदा हिजोआज राति पिसाब फेर्न बिउझिँदा पनि पो मन चाहिँ खित्खित् हाँस्छ गाँठे !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।