शिक्षक र विद्यार्थीकाे सङ्ख्या बराबर !

 फागुन १४, २०७७ शुक्रबार १६:२६:४९ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – धेरैजसो विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको कुरा त सुनिएकै हो तर तीन जना विद्यार्थीलाई तीनै जना शिक्षक रहेको सुन्दा अचम्मै लाग्न सक्छ ! यस्तै अचम्मको शिक्षक र विद्यार्थी सङ्ख्या बराबरी रहेको विद्यालय रामेछाप नगरपालिका ३ साँघुटारमा रहेको छ । साँघुटारमा रहेको ककनी आधारभूत विद्यालयमा विगत लामो समयदेखि तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले एउटै कोठामा राखेर पढाउँदै आएका छन् । 

२०५१ सालमा स्थापना भएको यस विद्यालयमा सुरुका वर्षमा कक्षा आठसम्म पढाइ हुन्थ्यो । अहिले गाउँमा रहेका युवायुवती वैदेशिक रोजगारीमा जाने क्रम बढ्दा र गाउँका अभिभावकहरू आफ्ना साना बालबालिकालाई सदरमुकामका सुविधा सम्पन्न विद्यालयमा पढाउन सुरु गरेपछि विद्यार्थीको सङ्ख्या घटेको ककनी विद्यालयका शिक्षकले बताएका छन् । 

विद्यार्थी नहुँदा अहिले यस विद्यालयमा कक्षा पाँचसम्म मात्रै पढाइ हुँदै आएको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या १५ जना रहेको विद्यालयले जनाएको छ । तर त्यस विद्यालयमा पत्रकारहरू पुग्दा विभिन्न समूहका तीन जना विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउँदै आएको भेटिएको हो, अन्य कक्षाकोठामा विद्यार्थी थिएनन् । 

धेरै वर्ष मेहनत गरेर गाउँमा आधारभूत विद्यालय स्थापना गरेको भए पनि अहिले विद्यालयको अवस्था निकै दयनीय बनेको रामेछाप नगरपालिका ३ साँघुटारका धनबहादुर खड्काले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयमा अहिले हेर्ने हो भने विद्यार्थीको सङ्ख्या र शिक्षक बराबरी छन् । हरेक वर्ष अन्य विद्यालयले विद्यार्थी भर्ना अभियान चलाउने सुने पनि आफ्नो गाउँको विद्यालयले भने त्यसमा चासो नदिँदा यस्तो समस्या आएको हुन सक्छ ।’  

पटक–पटक अनुगमन गर्दा यस विद्यालयमा विद्यार्थी सङ्ख्या एकदमै कम भएकाले कक्षा घटाउने विषयमा नगर शिक्षा समितिमा छलफल भइरहेको रामेछाप नगरपालिका शिक्षा शाखाका प्रमुख सुकदेव नेपालले जानकारी दिनुभयो ।

‘पहिलेदेखि चलिरहेको विद्यालयको एकै पटक कक्षा घटाउन स्थानीय अभिभावकहरूले नमानेका कारण घटाउन सकिएन । आउँदाे शैक्षिक सत्र २०७८ साल वैशाखदेखि लागू गर्ने गरी कक्षा तीनसम्म मात्रै सञ्चालन गर्ने गरी नगर शिक्षा समितिले काम अघि बढाएको छ’, उहाँले भन्नुभयो । यस विद्यालयका शिक्षकलाई अन्यत्र पदस्थापन गर्ने प्रमुख नेपालले बताउनुभयो ।   

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया