बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
म्याग्दी – सरकारले सामुदायिक विद्यालयलाई लक्षित गरेर ल्याएको ‘एक विद्यालय, एक स्टाफ नर्स’ कार्यक्रम म्याग्दी र बागलुङका विद्यालयमा पनि लागू गरिएको छ ।
सरकारले नेपालको ६० वटा विद्यालयमा ‘एक विद्यालय, एक स्टाफ नर्स’को कार्यक्रम लागू गरेकोमा गण्डकी प्रदेशमा म्याग्दी र बागलुङ जिल्ला छनोट भएका हुन् । त्यसमध्ये म्याग्दीको बेनी नगरपालिकाको पाँचवटा र बागलुङको बागलुङ नगरपालिकामा पनि पाँचवटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू गरी कार्यान्वयनमा ल्याएको दुवै नगरपालिकाले जनाएका छन् ।
विद्यालय छनोट मापदण्डको आधारमा विद्यालयहरु छनोट गरी स्टाफनर्सलाई नियुक्ति दिएर राखिएको बेनी नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लिला गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दीमा बेनपाको प्रकाश मावि, बेनी सामुदायिक मावि, जामुनाखर्क मावि अर्थुङ्गे, गलेश्वर मावि तोरीपानी र अर्जुन मावि भकुण्डेमा स्टाफ नर्स कार्यक्रम लागू भएको छ । यसैगरी बागलुङ नगरपालिकाको गणेश मावि नारायणस्थान, रुद्रेपिपल, विद्यामन्दिर, बौडेचौर तथा तितौरे मावि छनोट गरी स्टाफ नर्सको व्यवस्था गरिएको छ ।
ती विद्यालयमा करार सेवामा पाँचौं तहका स्वास्थ्यका कर्मचारीहरुको व्यवस्थापन गरिएको छ । बालबालिकाहरुलाई विद्यालय तहबाटै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्न तथा विद्यालयमा आधारित स्वास्थ्य तथा पोषण सेवाको पहुँचमा पुर्याउने कार्यक्रमको उद्देश्य रहेको छ । यसैगरी विद्यालयमा स्वस्थ, सफा र सिकाइमैत्री वातावरण तयार गर्न, किशोरकिशारीहरुको यौन तथा प्रजनन स्वास्थ्य एवं किशोरीहरुको महिनावारीसँग सम्बन्धित समस्याहरुको समाधान गर्ने कार्यक्रमले उद्देश्य लिएको छ । विद्यालयमा विद्यार्थीको स्वास्थ्य जाँचका साथै आइरन चक्की खुवाउने तथा सचेतनामूलक शिक्षा दिन थालिएको छ । कार्यक्रम लागू भएका विद्यालयमा नगरपालिकामार्फत आवश्यक औषधि, उपकरणसहित जनशक्तिको व्यवस्थापन गरिएको हो ।
पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण तथा भर्नादर घट्दै गइरहेको अवस्थामा स्टाफनर्स कार्यक्रम आएपछि शिक्षक, विद्यार्थी र अभिभावक खुसी भएका छन् । सरकारले सञ्चालन गरेको विद्यालय स्टाफनर्स तथा विद्यालयमा दिवा–खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने अनुमान गरिएको छ । विद्यालय स्टाफनर्स कार्यक्रमले धेरै फाइदा पुगेको हुँदा सामान्य एवं प्राथमिक उपचार गर्न सहयोग पुगेको प्रकाश मावि बेनीका प्रधानाध्यापक हरिकृष्ण सुवेदीले अनुभव सुनाउनुभयो ।
विद्यालयमा आउने स्वास्थ्य समस्या, सचेतना, स्वास्थ्य शिक्षा र वातावरणीय शिक्षाका लागि विद्यालयमा स्टाफ नर्स कार्यक्रममार्फत सेवा प्रदान गर्न थालिएको जनाइएको छ । विद्यालयमा अध्ययनरत किशोरीका लागि सेनेटरी प्याडको प्रयोगलगायत विषयमा समेत शिक्षा प्रदान गरिनेछ । छात्राको महिनावारी हुँदाको अवस्थामा गरिने स्वास्थ्य हेरचाहदेखि आकस्मिक दुर्घटनामा प्राथमिक उपचार स्टाफ नर्सले गर्नेछन् ।
उनीहरुले विद्यार्थीको तौल तथा उचाइका आधारमा वृद्धि तथा विकास भए नभएको स्वास्थ्य जाँच गरी अभिभावकलाई आवश्यक सल्लाह र सुझावसहित जानकारी दिनेछन् । विद्यालय स्टाफ नर्स कार्यक्रमबाट स्वास्थ्य सेवाको पहुँचदेखि टाढा रहेका विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।