क्रिसमस नजिकिँदै गर्दा मुख्य शहरका सडक, पसल, रेस्टुराँ लगायतम...
पुस ८, २०८१ सोमबार
इलाम - ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर गृह जिल्ला फर्किनुभएका दुर्गाप्रसाद तिम्सिनाले ६० वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । इलामको माई नगरपालिका - १० लुम्बाकका तिम्सिनाले बिहीवार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता प्राप्त गर्नुभएको हो ।
उहाँ आफ्ना भतिज गोपाल तिम्सिना, भिनाजु खडानन्द गजुरेल, भाइ धिरेन्द्र शर्मा रमणलगायत जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुभएको थियो । नागरिकताका लागि कार्यालय पुग्नुभएका तिम्सिनालाई प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गर्नुभएको हो ।
उहाँलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँले टीका लगाउँदै खादा ओढाएर सम्मान पनि गर्नुभएको छ । तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख गरिएको छ । तिम्सिनाको इलामको एकातप्पा गाविसको दोकानडाँडामा २०१७ साल साउन २० गते जन्म भएको हो । नागरिकता पाउँदा खुसी भएको उहाँले प्रतिक्रिया दिनुभयो ।
नागरिकता प्रदान गर्दै अधिकृत फुयाँलले नेपाली नागरिक जुनसुकै उमेर समूहका भए पनि नागरिकता प्राप्तिको प्रक्रिया चालेपछि कार्यालयले नागरिकता प्रदान गर्ने बताउनुभयो । कार्यालयमा तिम्सिना आइपुग्नुभएको २० मिनेटभित्रै नागरिकता प्रदान गरिएको थियो ।
तिम्सिनालाई कोलकाता उच्च अदालतले जेलबाट गएको चैत ४ गते बुधवार रिहाइको आदेश दिएको थियो । आदेशअनुसार उहाँ शनिवार बिहान साढे ११ बजे कोलकाताको दमदम जेलबाट छुट्नुभएको हो । व्यक्ति हत्या अभियोगमा सुनुवाइविना नै भारतको जेलमा ४० वर्ष बिताएर तिम्सिना गएको आइतवार घर आइपुग्नुभएको थियो ।
२०३७ साल माघमा घरबाट तोरी बेच्न भनी मङ्गलबारे बजार हिँडेको भन्दै घरबाट निस्केपछि बेपत्ता हुनुभएका तिम्सिना कहाँ हुनुहुन्छ भन्ने कसैलाई थाहा पत्तो थिएन । २०१७ सालमा जन्मिनुभएका उहाँ अहिलेसम्मकाे समय जेलमै बसेर बिताउनु भएकाले उहाँको नागरिकता नै बनेको थिएन ।
८५ वर्षकी आमा धनमाया भन्नुहुन्छ, ‘दुर्गाप्रसादको धार्मिक परम्पराअनुसार व्रतबन्ध र विवाहसमेत भएको छैन ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।