ओलीमा चरम अल्पज्ञान छ, उहाँको ढाँट्ने बानी देशका लागि घातक छ : गगन थापा

ओलीलाई चुनाैती : तथ्यमा बहस गर्ने भए संसदमा आउनस्, बाहिर बोलेको अर्थ छैन’

 चैत २६, २०७७ बिहीबार १५:४७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको बोली र व्यवहारमा फरक भएको भन्दै कांग्रेस नेता गगन थापाले चर्को आलोचना गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारकाे बैठकमा सांसद थापाले प्रधानमन्त्रीले गफ चुटेर दिन कटाइरहेको तर चमत्कारिक विकास भयो भनेर देश र नागरिकलाई भ्रममा पार्ने कोसिस गरिरहेको आरोप लगाउनुभयो । 

ओलीले देशमा चमत्कारिक विकास भइरहेको छ भन्नुमा उहाँमा भएको चरम अल्पज्ञान पनि एउटा कारण भएको थापाको भनाइ छ । 
‘ओलीलाई यस्तो चमत्कार भएको किन लागिरहेकाे छ, यसका दुई कारण छन्–  एउटा कुरा देशकाे अवस्थाबारे प्रधानमन्त्रीलाई थाहै छैन, चरम अल्पज्ञान छ वा ढाँट्ने बानी लागेको छ । विकृति असत्यभाषी यी दुवै अवस्था देशका लागि घातक छ’, थापाले भन्नुभयो ।  

मेलम्ची आयोजना २०७५ सालमै आउँछ भनेर प्रधानमन्त्रीले पहिल्यै दाबी गरेको तर ठेकेदारसँगको मिलेमतोमा दुई वर्ष ढिला गरेर अहिले आफैँले श्रेय लिन होडबाजी गरेको पनि थापाले आरोप लगाउनुभयो । आयोजनामा वर्षाैँ ढिलाइ भएको र अरबाैँ रुपैयाँ धेरै लगानी लागेकोमा ओलीले माफी माग्नुपर्नेमा पटक–पटक धारा खोल्दै, बाल्टिन थाप्दै उद्घाटन गर्नु लाजमर्दो भएको थापाको भनाइ छ । 

२०६७ सालमा सुरु भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना २०७३ सालमै सकिनुपर्ने भए पनि अहिलेसम्म नसकिएकोमा थापाले आपत्ति जनाउनुभयो । दोब्बर लागत र पाँच वर्ष ढिलो गरी सम्पन्न हुन लागेको तामाकोशी उद्घाटनमा पनि प्रधानमन्त्री ओलीले मेलम्चीमा जस्तै चटक देखाउने अनुमान गर्न सकिने थापाले बताउनुभयो । 

‘वर्षाैँदेखि थला परेका बूढीगण्डकी र पश्चिम सेती जलविद्युत् आयोजना, बबई र सिक्टा सिँचाइ आयोजना, फास्ट ट्र्याक, कोशी र कर्णाली करिडोरबारे कसैले नबोल्ने तर प्रधानमन्त्रीले गरेका खुद्रे कामलाई कवितामार्फत प्रशंसा गर्ने ?’ थापाले भन्नुभयो । 

उहाँले ओलीलाई संसदमा आएर तथ्याङ्कमा बसह गर्न पनि चुनौती दिनुभयो । 

‘आयोजनामा कसरी ढिलाइ भइरहेको छ र लागत किन बढिरहेको भनेर खोज्नु छैन, गर्नुपर्ने काम गरेको छैन, अनि मिथ्याङ्क ल्याएको छ, गफ चुटेको छ, हुँदा–हुँदा निर्माण सकिएर दुई वर्षअघि चालु भएको पुलको पनि उद्घाटन गर्न हिँडेका छन्, ठेक्का नलागेको सुनकोशी–मरीण डाइभर्सनको शिलान्यास गरेका छन्, सबस्टेशन चार्ज भएको उहिल्यै हो, अस्ति गएर बटन थिचेका छन्, यो के को तमाशा हो ?’ गगन थापाले भन्नुभयो । 

प्रधानमन्त्रीले आफूले गरेका कामको बारेमा प्रकाशित गरेको पुस्तक देखाउँदै थापाले भन्नुभयो, ‘म यो पुस्तकमा टेकेर बहस गर्न तयार छु, तथ्यमा टेकेर बहस गर्नका लागि म तपाईँलाई संसदमा आउन निम्तो र चुनौती दिन चाहान्छु । बाहिरको सभा सम्मेलनमा उभिएर, प्रश्न नसुन्ने ठाउँमा, हुक्के, चिलिमे, बैठके र चौतारे राखेर तपाईँले माथिबाट खोक्ने तलकाले ताली बजाउने, अनि माननीय सांसदहरूले संसदमा आएर बाल कविता सुनाएर बस्ने होइन । म तपाईँसँग बहस गर्न तयार छु, तपाईँले भनेका एउटा–एउटा सफलतामा बहस गरौँ, कहाँ तीन वर्षमा चमत्कार भएको छ, हिम्मत भए संसदमा बहस गर्न आउनुहोस् ।’ 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • अर्जुन के.सि.

    April 9, 2021, 11:11 p.m.

    सबै भन्दा पहिला आफ्नै महलको बुढो निक्ममा गोरु हरु हटाउने बाट सुरु गरौ ,अनि अर्काको गोठको त तेसै तहलगाउला , हामि आफ्नोलाइ झिल्के कहिले सम्म भनि रहने ?

  •  0 Reply
  • Sambhu Dhakal

    April 9, 2021, 6:36 a.m.

    नढाँट्ने नेता चै कुन पार्टी मा छन गगन जी ।पम्फादेवीकाे नाममा जम्मा भएकाे पैसा ल्याएर नेपाली जनतालाई बाँड्छु भन्ने नेता त तपाईकै दलमा थिए त विर्सनु भाे?

  •  0 Reply

तपाईको प्रतिक्रिया