युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पूरै युरोप असन्तुष्ट

 फागुन १७, २०८१ शनिबार १५:११:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई अमेरिकाले गरेको व्यवहारबाट युरोप असन्तुष्ट बनेको छ । जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच झन्डै १० मिनेट कडा बहस चलेसँगै अमेरिकाले जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठायो ।

त्यसपछि जेलेन्स्कीले विवाद मिलाउन सकिने बताए पनि ट्रम्पले फर्कने सन्देश पठाउँदै दुवै नेताबीच हुने तय भएको संयुक्त पत्रकार सम्मेलन पनि रद्द गरिदिनुभयो । यो भेटलाई युक्रेनी खनिजमा अमेरिकाको पहुँच र रुस–युक्रेन युद्ध रोक्ने शुरुआतका रूपमा हेरिएको भए पनि परिणाम उल्टो भएको हो । ट्रम्प र जेलेन्स्कीबीच वार्तापछि विश्वभरबाट प्रतिक्रिया आउन शुरु भएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लियनले युक्रेनलाई समर्थन गर्दै समाजिक सञ्जाल एक्समा लेखेर निडर बन्न भन्नुभएको छ । युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले युक्रेन युरोपको रहेको र आफूहरु युक्रेनको पक्षमा रहेको उल्लेख गर्नुभएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले युक्रेनमाथि आफ्नो समर्थन जारी राख्ने बताउनुभएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पनि युक्रेनलाई सहयोग जारी राख्ने बताउनुभएको छ । जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनलाई जर्मनी र युरोपको साथ रहने बताउनुभयो ।

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले पनि युक्रेनको साथमा रहेको बताउनुभएको छ । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले ट्रम्प र जेलेन्स्कीसँग कुरा गर्दै युक्रेनलाईसमर्थन जारी रहेको बताउनुभएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजीले पनि विज्ञप्ति निकालेर युक्रेनको समर्थन गर्नुभएको छ । अमेरिकामै पनि सांसदहरुले जेलेन्स्कीमाथीको व्यवहारको विरोध गरेका छन् ।   

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया