‘अहिलेकाे सरकारले ‘राष्ट्रियता देखाउने, चुच्चे नक्सा हराउने’ भन्ने कहावत व्याप्त छ’

 चैत ३०, २०७७ सोमबार १७:१७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले गम्भीर त्रुटि गरेको भन्दै त्यसबारे प्रधानमन्त्रीको जवाफ माग गर्नुभएको छ । 

प्रतिनिधि सभाको सोमवारको बैठकको विशेष समयमा बोल्दै भुसालले विभूषणमा नेपालको संशोधित नक्सा नराखिएकोमा गम्भीर आपत्ति जनाउँदै त्यसबारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गर्नुभएको हो । उहाँले सरकारले संशोधित नक्सा नराखेर संसद्को निर्देशन कार्यान्वयन नगरेको टिप्पणी गर्नुभयो । नक्सा संशोधन भए पनि भूमि फिर्ता ल्याउने विषयमा सरकार गम्भीर नभएको, पाठ्यक्रममा समावेश गर्न रोकिएको र त्यस भूमिमा पूर्वाधार निर्माणका काम भइरहँदा पनि उपयुक्त कदम नचालिएको भन्दै त्यसतर्फ गम्भीर आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले राष्ट्रियता देखाउने, चुच्चे नक्सा हराउने यो कहावत अहिले राष्ट्रिय राजनीतिमा छाएको छ । यो सदनबाट सर्वसम्मतबाट नक्सा पारित भएको थियो । सरकारले एउटा निर्देशन प्राप्त गरेको थियो । संसदबाट नक्सा पारित भएको छ । अब त्यसलाई कार्यान्वयन गर्नुपर्छ भनेर सरकारलाई निर्देशन पनि गरेको थियो । तर सरकारले संसद्ले दिएको निर्देशनलाई पालना पटक–पटक नगरेका धेरै उदाहरण हामीले देखिराखेका छौँ । कहिले नक्सामा संशोधन गरेका कुरामा, भूमि फिर्ता ल्याउने काममा कुनै पहलकदमी नगरेका घटना पनि अगाडि आएका छन् । त्यस ठाउँमा पूर्वाधारका कामहरू अगाडि बढेका कुरा पनि आइराखेका छन् । ती नक्सालाई संसदबाट पारित गरिसकेपछि पाठ्यक्रममा संशोधन गर्ने भन्दा सरकारले त्यसलाई रोकेका घटनाहरू पनि बाहिर आइराखेका छन् । सभामुख महोदय,  सबैभन्दा ठूलो आपत्ति सभामुख महोदय, जुन यही २७ गते राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा अहिलेको नक्सा संशोधन भएको प्रतीक हटाइएको छ, त्यसको जिम्मेवारी सभामुख महोदय यो सरकारले लिने कि नलिने ? यो गम्भीर भुल अहिलेको सरकारले गरेको छ । त्यसको जवाफदेहिता यो सरकारले सरकारको नेतृत्व गरेको स्वयम् सम्माननीय प्रधानमन्त्रीले लिने कि नलिने ? तर यत्रो ठूलो गम्भीर भुल सरकारले किन गरेको छ भन्ने कुरा संसद्ले जान्न खोजेको छ । संसदमा आएर सम्माननीय प्रधानमन्त्रीले यसको जवाफ दिनका लागि हामी आग्रह गर्न चाहन्छौँ ।’ 

नेतृ भुसालले नेपालको विकास हेर्न लखनउ जाऊ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीहरू नेपालको भूमिमा छौँ कि छैनौँ भन्ने भ्रममा परेको टिप्पणी गर्नुभयो । सरकारले  एमसीसीलाई संसदमा पेस नगरेर उल्टै एमसीसी पास गर्न दिइएन भनेर भ्रम छर्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले तत्काल एमसीसीलाई टेबुल गरी संसदीय प्रक्रिया अघि बढाउन पनि ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई दुःख लाग्यो सम्माननीय प्रधानमन्त्रीले भन्नुभयो– नेपालमा यति धेरै विकास भएको छ यहाँबाट देखिन्न भने लखनउबाट गएर हेरे हुन्छ नेपालमा कत्तिको विकास भएको छ भनेर । उहाँले भन्दै गर्दाखेरि हामी नेपालीहरू नेपालको भूमिमा छौँ कि छैनौँ भनेर भ्रम सिर्जना गर्ने काम स्वयम् सरकारको नेतृत्वले गरेको आफ्नो अभिव्यक्तिबाट गरेको छ । त्यसैले सभामुख महोदय यस्ता अभिव्यक्ति दिँदै गर्दा राष्ट्रियताको आधारमा, राष्ट्रियताको मूल्य र मर्मलाई लिएर यस्ता किसिमका अभिव्यक्ति दिनका लागि पनि यही संंसदबाट सभामुखमाफर्त हामी आग्रह गर्न चाहन्छौँ । यहाँ धेरै राष्ट्रियताका कुरा भइराखेको छ । धेरै सत्तापक्षले पटक–पटक भन्नुहुन्छ– एमसीसीलाई यहाँ पेस गर्नुपर्छ, एमसीसी यहाँ पास गर्नुपर्छ भनेर भनिराख्नुभएको छ । संसद्को आफ्नो प्रक्रिया छ सभामुख महोदय । सरकारले प्रस्ताव ल्याउनुपर्‍यो, सरकारले एमसीसीलाई टेबुल गर्नुपर्‍यो अनि मात्रै कार्यविधि संसदमा अगाडि बढ्ने छ । सरकारले एमसीसीलाई टेबुल नगर्ने र पटक–पटक एमसीसीलाई पास गर्न नदिने भनेर, संसदमा प्रवेश गर्न नदिने भनेर पटक–पटक अभिव्यक्ति आइराखेको छ । यसलाई तुरुन्त अगाडि बढाउनका लागि पनि सरकारलाई हामी संसदमार्फत आग्रह गर्न चाहन्छौँ ।’ 

नेतृ भुसालले मुल्यवृद्धिले नागरिकको ढाड सेकिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । वर्तमान सरकारले महँगी घटाउन नसकेको, सुशासन कायम गर्न नसकेको तथा संविधानमा प्रत्याभूति गरेका कुराहरूको व्यवस्था गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु, नेपाली नागरिक आज महँगीको मारमा परेका छन्, मूल्यवृद्धिबाट जनताको ढाड सेकिएको छ । चार÷चार पटक तेलको भाउ बढेको छ । भ्रष्टाचार यति धेरै बढेको छ । त्यसको मूल्य नागरिकको करबाट चुकाउनु परेको छ ।’  

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया