धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीहरूलाई सफल हुन नदिने बताउनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमवार काठमाण्डौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरू सलबलाइरहेको बताउनुभएको हो ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालतर्फ इङ्गित गर्दै उहाँले विगतमा विभिन्न किसिमका सपना बाँडेर युवालाई युद्धमा लगाउनेहरू नै अहिले लोकतन्त्र र अग्रगामी कदमविरुद्ध लागेको दाबी गर्नुभयो । झण्डै दुई तिहाइको पार्टी फुटाएर वर्तमान सरकार ढाल्नका लागि अरूसँग बिन्ती गर्दै हिँडेको भनी ओलीले दाहालप्रति व्यङ्ग्य गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एकेडेमीको डबलीमा जो भेट्यो त्यही । ए भाइ मन्त्री, प्रधानमन्त्री भइदेउन हउ । शेरबहादुरजीलाई भेट्यो, दाइ प्रधानमन्त्री भइदिनुपर्यो । महन्थजीलाई भेट्यो, ए दाइ प्रधानमन्त्री भइदिनुपर्यो । किन भन्दा कम्युनिस्ट सरकार ढाल्न पर्यो क्या त्यसकारण शेरबहादुर भइ दिनुपर्यो । यो देशलाई अगाडि बढाउन शेरबहादुरजी प्रधानमन्त्री बन्दिनुपर्यो । कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि, कम्युनिस्ट आन्दोलनको एकता बचाउन, यस्ता नक्कली कुरा गर्ने तत्त्वहरू अहिले पनि छन्, सलबलाइरहेका छन्, यी चुनौतीहरू अहिले पनि छन् । तर तपाईँहरू ढुक्क रहनुहोस्, यस्ता छद्भेषी, वामपन्थी विरोधी, कम्युनिस्ट विरोधी, प्रगति विरोधी, अग्रगामी आन्दोलन विरोधी, राष्ट्रियता र लोकतन्त्र विरोधी तत्त्वहरूलाई सफलता साथ अगाडि जान दिइने छैन । यिनका गलत र आपराधिक उद्देश्यहरू सफल हुन सक्ने छैन ।’
आफूहरूले जिताइ दिएकाले अहिलेको हैसियत प्राप्त भएको भन्दै प्रधानमन्त्री ओलीले केही दिनमा त्यो हैसियत पनि खोस्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘सदस्यताबाट निष्कासन गरेर धित पुर्याए हुन्छ । हामीले टाँसिदिएको जुँगा, अलिक दिनपछि त्यो जुँगा हामी निकाल्दिन्छौँ, त्यसपछि सक्कियो ।’
उहाँले नेकपा एमाले, कम्युनिस्ट, वामपन्थी र देश बनाउनेसँग नमिलेर दुई तिहाइको सरकार ढलाएर कम्युनिस्ट आन्दोलन समाप्त पार्न उद्धृत रहेको दाबी गर्नुभयो । माओवादी अध्यक्ष दाहालतर्फ इङ्गित गर्दै लोकतन्त्रविरुद्ध क्रान्तिका सपना देखाएर युद्धमा लागेको र कैयौँलाई पीडा दिएकाहरू नै ‘मैले आफ्नालाई छोडेर अरूसँग मिलेछु’ भनेर भन्ने गरेको भन्दै प्रधानमन्त्रीले प्रश्न गर्नुभयो, ‘झण्डै दुई तिहाइको पार्टी फुटाएर यो सरकार ढाल्नलाई कांग्रेससँग बिन्ती पत्र लिएर जाँदा आफ्ना छोडियो कि छोडिएन ? अन्त गइयो कि गइएन ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।