धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूले आफ्नो सत्ता कब्जा गर्ने महत्त्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताउनुभएको छ । बुधवार काठमाण्डाैमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेहरूले सत्ता कब्जा गर्नका लागि, आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताउनुभएको हो ।
संविधान, व्यवस्था र नागरिककाे अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका ईच्छा र आकाङ्क्षा पूरा हुन नसकेकाले त्यस्ता मान्छेहरूले प्रतिगमन भयो भनेर हल्ला चलाउने काम गरेको उहाँले बताउनुभयो । अहिलेको व्यवस्था र व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्रै प्रतिगमन हुने ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एकथरी मान्छे आफू प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन भयो भनेर आँगनमा निस्केर कराउन थाल्छन् । प्रतिगमन भयो भनेर । अहिले त्यस्तै केही स्याल हुइँया चलाउने मान्छेहरू छन् । के हो प्रतिगमन भनेको ? यिनीहरूले परिवर्तन नै बुझेको रहेनछन् कि क्या हो ? परिवर्तन र उपलब्धिहरू हामीले जे प्राप्त गरेका छौँ, ती प्राप्त गरेका उपलब्धिहरू गुमे भने, हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रणाली स्थापना गरेका छौँ त्यो गुम्यो भने, त्यो व्यवस्थालाई सङ्गठित र सञ्चालन गर्ने संविधान खोसियो भने, अहिले कसैले संविधान खोस्या छ र ? संविधान खोसिएको छैन । व्यवस्था खोसिएको छैन, नागरिकका अधिकार खोसिएको छैन, लोकतन्त्रका आधारभूत मूल्य मान्यता केही तलमाथि पर्याे र ? केही पनि परेन ।’
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले लुटपाट गरेर भए पनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन नहुने बताउनुभयो । आफूले ध्वस्त पार्न खोज्ने र ध्वस्त पार्न नसकेपछि प्रतिगमनको हल्ला चलाउने काम भएको पनि उहाँले बताउनुभयो । ओलीले भन्नुभयो, ‘केही मान्छेहरूको महत्त्वाकाङ्क्षा पूरा हुन पाएन । लुटपाट गरेर लुटेरा तरिकाले सरकारमा पुग्नपर्ने त्यो कुरा रोकियो त्यसो भएपछि प्रतिगमन भयो । आफूले ध्वस्त पार्न खोज्ने, ध्वस्त पार्न सकेन भने प्रतिगमन भयो भनेर हल्ला चलाउने । यस्ता शाब्दिक क्रान्तिकारीहरू नामका वामपन्थी, कामका दक्षिणपन्थी । आफ्नै बहुमतको, झण्डै दुई तिहाइको सरकार आफूहरूले नै उत्पात मच्चाएर ढाल्ने किनभने सत्ता कब्जा गर्ने, कब्जा गर्नका लागि हिँड्दा हिँड्दै कब्जा गर्ने किला, काँटा सबै फुत्कियो । अनि कब्जा गर्ने । कब्जा हुन सकेन भने प्रतिगमन भयो भन्ने ।’
आफ्नो पार्टी तोडफोड गरेर अर्को पार्टीलाई प्रधानमन्त्री भइदिनुहोस् भन्दै हिँडनेहरूले क्रान्तिका कुरा गर्न नसुहाउने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । सरकारले गरेको परिवर्तन, स्थायित्व, अग्रगमन, विकासको लहर सबै कुरालाई नागरिकले बुझ्ने प्रयास गरिराखेको उहाँले बताउनुभयो । हिजोका पीडा, घाउ र समस्याको सम्बोधन गर्न विकासका कामहरूलाई तीव्र गतिमा अगाडि बढाइएको पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देशका लागि गरिएको बलिदानको सम्मान, त्यागको सम्मान र अत्यन्त पीडादायक भोगाइको सम्मान गरिएको बताउनुभयो । सहिद परिवार र घाइतेहरूलाई आउँदा दिनमा सरकारको तर्फबाट गर्नुपर्ने कामहरू के–के हुन् भन्नेमा सरकारको ध्यानाकर्षण भएको बताउनुभयो ।
सहिदका परिवारको सामाजिक सुरक्षा, रोजगारी र बालबालिकाहरूको शिक्षादीक्षाको सम्बन्धमा सरकारले सम्बोधन गर्ने ओलीकाे भनाइ छ । यस्तै कुनै घाइते व्यक्तिको निरन्तर उपचारको आवश्यकता छ भने सरकारले ध्यान दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहिदका परिवारको सामाजिक सुरक्षाको सम्बन्धमा, सहिदको परिवारको रोजगारीको सम्बन्धमा, सहिदका परिवारको स–साना बालबालिकाहरू छन् भने तिनको शिक्षादीक्षाको सम्बन्धमा र सहिद नभएका तर घाइते भएका, अशक्तताबाट पीडितहरूका जीविकाको समस्याहरू छन् भने अथवा केही काम गर्न सक्ने तर अनुकूलको काम प्राप्त छ भने त्यस्तो स्थितिमा पनि कसरी त्यसको सम्बोधन गर्न सकिन्छ सरकारले त्यसतर्फ पनि सम्बोधन गर्छ । ’
सहिदका परिवार आवासविहीनको अवस्थामा छन् भने आवासको उपलब्ध गराउन, जमिन उपलब्ध गराउने व्यवस्था कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा सरकारले सोचिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयाे ।
अहिले नागरिकका लागि विकास आवश्यक भएको र विकासको प्रतिफल सबैको पहुँचमा हुनुपर्ने ओलीले बताउनुभयो । आफ्नो अधिकार, न्याय, जीवनलगायतका कुनै चिज कसैले पनि खोस्दैन भन्ने स्थिति ल्याउन सरकारले ध्यान दिएको उहाँकाे भनाइ छ । असमानताको विभेद, भेदभावजन्य कुरा हुन नहुनेतर्फ सरकारले काम गरिरहेको पनि उहाँले बताउनुभयो ।
सरकारले २०६२/०६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेश आन्दोलनमा ज्यान गुमाएकाका सहिद परिवार, घाइते तथा आपाङ्गता भएका र बहिर्गमित पूर्व लडाकुहरूलाई ‘लोकतन्त्रका योद्धा’को रूपमा सम्मान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सय ८१ जना परिवारलाई प्रमाणपत्र दिएर सम्मान गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।