भारतीय बजारबाट बिजुली किन्ने बाटो खुल्यो,  नेपालले बेच्ने विषय अझै टुङ्गिएन

 वैशाख २, २०७८ बिहीबार १३:४९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गरी आयात गर्न स्वीकृति पाएको छ ।

भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेञ्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिइएको जानकारी हिजो प्राधिकरणलाई दिएको छ ।

अब प्राधिकरण भारतीय पावर एक्सचेञ्ज मार्केटको सदस्य बनेकाले नेपालको ऊर्जा विकासको लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो ।

अब कसैको हस्तक्षेपबिना बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकताअनुसार विद्युत खरिद गर्न सकिने शाक्यको भनाइ छ । ऊर्जा एक्सचेञ्ज मार्केटमा नेपालले पहुँच पाएकाले भारत हुँदै बंगलादेशसम्मको विद्युत व्यापारका लागि अर्को स्टेपसमेत खुल्ला भएको पनि कार्यकारी निर्देशक शाक्यको भनाइ छ।

‘भारतीय ऊर्जा बजारमा विद्युत खरिद र बिक्रीका लागि प्रस्ताव गरेका थियौँ, खरिदको स्वीकृति पाएको छौंँ भने बिक्रीका लागि माग भएको थप आवश्यक कागजात पठाएका छौं’ शाक्यले भन्नुभयो।

प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी र ४५ मेगावाटको भोटेकोशी आयोजनाको विद्युत बर्खाको समयमा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव गरिएको कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । 

‘सुख्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत उत्पादन उल्लेख्य मात्रामा घटेकाले विद्युत माग र आपूर्तिको व्यवस्थापनमा चाप परेको छ, भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गर्न स्वीकृति पाएकाले तत्काल झण्डै ३० मेगावाट खरिदको प्रक्रिया अगाडि बढाएका छौँ, त्यति विद्युत ल्याउन सक्यौँ भने आपूर्ति व्यवस्थापन गर्न सकिन्छ’ उहाँले भन्नुभयाे । 

प्राधिकरणले अहिलेसम्म एनटीपीसी विद्युत निगम लिमिटेड(एनभीभीएन), पावर ट्रेड कम्पनी (पीटीसी) र बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका वितरण कम्पनीहरुसँग विद्युत खरिद गर्दै आएको छ। अब भारतीय बजारबाट सोझै आवश्यकताअनुसार विद्युत खरिद गरी आयात गर्न सकिने शाक्यले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया