बजेट रकमान्तर गरेर भए पनि नागरिकको जीवन रक्षा गर्न सांसदकाे माग

 वैशाख १२, २०७८ आइतबार १७:४१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सांसदहरूले बजेट रकमान्तर गरेर भए पनि कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवारको बैठकमा सहभागी भएका सांसदहरूले बजेट रकमान्तर गरेर भए पनि नागरिकको जीवन रक्षा गर्न माग गरेका हुन् । 

नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भए पनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गर्नुभयो । सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरिब मानिसले उपचार नै पाउन नसक्ने स्थिति रहेको उहाँले सुनाउनुभयाे । राज्यले अहिले विभिन्न क्षेत्रमा बजेट रकमान्तर गरिरहेको तर त्यस्तो पैसा कोभिड रोकथाम, नियन्त्रण तथा उपचारका लागि किन खर्च नगर्ने भन्दै प्रश्न गर्नुभयो । अर्थ मन्त्रालयले अरबाैँ रुपैयाँ रकमान्तर गरेको तर औषधि र अस्पतालको व्यवस्थाका लागि रकम उपलब्ध गराउन नसकेको पनि उहाँले बताउनुभयो । 

नेकपा माओवादी केन्द्रका सांसद महेश्वरजङ्ग गहतराजले तराईका जिल्लामा भयावह स्थिति आइसकेको बताउनुभयो । सीमावर्ती जिल्लाका स्वास्थ्यकर्मीहरूले हात उठाइसकेको अवस्थामा समितिले सरकारलाई आफैँले गरेका निर्णयहरू कत्तिको कार्यान्वयन गरिरहेको छ भन्ने सम्बन्धमा जानकारी लिइ आवश्यक निर्देशन दिनुपर्नेमा उहाँले जाेड दिनुभयाे । यस्तै कोभिडलाई केन्द्रमा राखेर सरकारले बजेट निर्माण गर्छ कि गर्दैन भन्ने सम्बन्धमा पनि समितिले विशेष चासो दिनुपर्ने उहाँले बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद रामसहाय प्रसाद यादवले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले लापर्बाही गरिरहेको बताउनुभयो । सरकारले आफैँ मापदण्ड बनाइ नागरिक र विभिन्न निकायलाई कार्यान्वयन गर्न निर्देशन दिने तर आफैँले विभिन्न मेला गर्ने, भिडभाड गर्ने, उद्घाटनको नाममा भिड गराउने काम गरिरहेको बताउनुभयो । 

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सरकारको मातहतमा रहेकाे अक्सिजन प्लान्टहरूलाई मर्मत गरेर सञ्चालन गर्नतर्फ सरकारको ध्यान नगएको बताउनुभयो । कोभिड सङ्क्रमित बिरामीलाई अक्सिजन अत्यावश्यक छ भन्ने थाहा हुँदा हुँदै पनि सरकारले ध्यान नदिएको उहाँकाे आराेप छ । सरकारसँग भएका प्लान्टहरू बिगारेर कमिसनको खोजीमा हिँड्ने र नागरिकलाई हाहाकार बनाएर सहुलियतको कुरा गरिरहेको पनि उहाँले सुनाउनुभयाे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा भएको अक्सिजन विदेश पठाउने र अक्सिजन सिलिण्डर खरिदका लागि भन्दै व्यवसायीलाई सहुलियत दिने कुरा उठिराखेको बताउनुभयो । यसमा संलग्न उद्योगी व्यवसायीहरू को–को हुन्, नामावली सङ्कलन गरेर नागरिकलाई थाहा दिनुपर्ने उहाँले बताउनुभयो । अहिले सहुलियत दिएर २० हजार थान अक्सिजन सिलिण्डर ल्याउन खोजिएको पनि उहाँले भन्नुभयाे ।

बैठकले कोरोना रोकथाम र नियन्त्रण तथा सङ्क्रमित बिरामीको उपचारका लागि के–कस्तो काम भइराखेको छ भन्ने सम्बन्धमा विभिन्न ठाउँमा पुगेर अनुगमन गर्ने निर्णय पनि गरेको छ । काेभिडको बाहनामा सुशासनका विषयमा कमजोरी हुन सक्ने भन्दै समितिले अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको हो ।    

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया