देशभरको मौसम सफा
मंसिर २०, २०८१ बिहिबार
म्याग्दी – उत्तर फर्केर हेर्दा दन्ते लहर जस्तै देखिने हिमाल । तलतिर हेर्यो भने बेसीं फाँट र म्याग्दी खोलाको दृश्य । पुस, माघमा सेताम्य हिउँ । चैत, बैशाखमा ढकमक्क लालीगुराँस । ग्रामीण बस्तीहरुको सौन्दर्यसहित तरेली परेका पहाडको सुन्दरता नियाल्न पाइने म्याग्दीको बराङ्जामा पर्ने झाँक्रीपानीको बारेमा जानकारी सायद कमैलाई होला ।
ग्रामीण बस्तीको सुन्दर दृश्य अनि हिमालको साथै वरपरका डाँडाहरुको दृश्यले त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्छन् । बिहानीपख सूर्योदयले मनमा झन् आनन्द थपिदिन्छ । हरियाली वनजङ्गल, फराकिलो डाँडाकाँडा र मनोरम दृश्यावलोकनका साथै म्याग्दीको अधिकांश भू–भागहरु देखिने झाँक्रीपानीको वर्णन गरि साध्य छैन । पुस, माघमा पर्ने हिउँ खेल्न र लालीगुराँससँगै फोटो खिचाउन पर्यटकहरु निकै लालायित हुन्छन् ।
मंगला गाउँपालिका–३, बराङ्जाको झाँक्रीपानी पछिल्लो समय पर्यटकीय गन्तव्यका लागि आकर्षणस्थल बन्दै गएकाे छ । बराङ्जा गाउँभन्दा माथि झाँक्रीपानी पर्छ । झाँक्रीपानीमा पछिल्लोपटक खासगरी आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् ।
स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको झाँक्रीपानी बराङ्जामा विभिन्न कार्यक्रम लिएर जानेहरु समेत पुग्ने गरेको स्थानीय बताउँछन् । झाँक्रीपानी पुगेपछि म्याग्दीका ग्रामीण वस्तीको सौन्दर्य, मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन तथा मगर समुदायको कला, संस्कृति र भेषभूषाको अध्ययन गर्न पाइन्छ ।
परापूर्वकालमा झाँक्रीले त्यस स्थानमा पानी निकालेको भएर झाँक्रीपानी नाम रहन गएको किम्बदन्ती पाइने स्थानीय युवा दर्पण रोकाले बताउनुभयो । झाँक्रीपानीबाट प्राकृतिक सौन्दर्यको अवलोकनका साथै मनोरम दृश्यहरु हेर्न पाइने भएकाले पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । झाँक्रीपानीबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरिसहित अन्नपूर्ण, नीलगिरी, मानापाथी, सिस्ने, माछापुच्छ्रे, गूर्जालगायत दर्जनौं हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ ।
झाँक्रीपानीमा स्वदेशी र विदेशी पर्यटकहरुको आगमन बढ्दै गएपछि वडा कार्यालय, मंगला गाउँपालिका र सङ्घीय सरकारको २० लाख रुपैयाँको लागतबाट पर्यटकलक्षित भ्यू–टावर निर्माण गरिएको छ । झाँक्रीपानीमा भ्यू–टावर बनाएपछि अहिले हिमालसहितको दृश्य हेर्ने पर्यटकको आगमनमा वृद्धि भएको स्थानीय युवा रोकाले जानकारी दिनुभयो । समुन्द्री सतहदेखि झण्डै २ हजार ३ सय मिटरको उचाइमा झाँक्रीपानी अवस्थित छ ।
इलामबाट कार्यक्रमको सिलसिलामा म्याग्दी आउनुभएकी टीका उप्रेतीले बराङ्जाको झाँक्रीपानी क्षेत्रको भ्रमण गर्दा आनन्दको अनुभूति मिलेको अनुभव सुनाउँदै झाँक्रीपानी पर्यटन प्रवर्द्धनका लागि उपयुक्त स्थल रहेको बताउनुभयो । उहाँ गाउँमा पर्यटन प्रवर्द्धन गर्नसके स्थानीयको जीविकोपार्जनमा समेत सुधार आउने सुझाव दिनुहुन्छ ।
झाँक्रीपानी गाउँनजिकै ऐतिहासिक चिनाकोट दरबार पनि रहेको छ । मंगला गाउँपालिकामा बराङ्जाको झाँक्रीपानी, चिनाकोट, कुहुँको टोड्के, अर्मनको चाङ्गा र तीनचुलेलगायत पर्यटकीय स्थलहरु छन् । स्थानीयस्तरमा पर्यटन पवर्द्धन गर्न झाँक्रीपानी र पूर्णगाउँमा होमस्टे कार्यक्रम लागू भएको गाउँपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।
Anil Kumari Poudyal
May 8, 2021, 7:31 p.m.यो ठांउमा जानको लागि कसरी पुग्न सकिन्छ र उपयुक्त समय पनि जानकारी गराइदिनु भएको भए आन्तरिक पर्यटनलाई सघाउ पुग्ने थियो ।