एमाले कार्यदलको पहिलो बैठक बस्दै

 जेठ ४, २०७८ मंगलबार १२:५६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेभित्रको विवाद समाधानका लागि बनेको कार्यदलको पहिलो बैठक मङ्गलवार (आज) बस्दै छ । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको एमालेको ओली समूहका तर्फबाट कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो । 

पार्टीलाई २०७५ सालको जेठ २ गतेको अवस्थामा पुर्‍याउनका लागि आवश्यक निर्णय गर्न १० सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा अध्यक्ष ओली समूहकाे तर्फबाट नेम्वाङसहित विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पाेखरेल र विष्णु रिमाल रहेका छन् । 

यस्तै खनाल–नेपाल समूहको तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

गएको वैशाख ३१ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र नेपाल समूहबीच एमालेलाई एकताबद्ध गरेर लैजाने सहमति जुटेको थियो । त्यसका लागि पार्टीलाई २०७५ को जेठ २ गतेको अवस्थाबाट अघि बढाउने दुई जनाबीच सहमति बनेको थियो । त्यो सहमति कार्यान्वयनका लागि १० सदस्यीय कार्यदल बनेको हो । कार्यदलले बुधवार (भोलि) सम्ममा स्पष्ट खाकासहितको प्रतिवेदन तयार गरिसक्नुपर्ने समयसीमा रहेको छ ।

नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेकाहरूको व्यवस्थापन र दुवै तर्फबाट बनेका समानान्तर कमिटीका कारण नेकपा एमालेभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । यसअघि खनाल–नेपाल समूहले सामूहिक राजीनामा दिएर पार्टी अध्यक्ष ओलीलाई अप्ठ्यारो बनाउने तयारीसमेत गरेको थियो ।

ओली २०७५ सालको जेठ २ गते फर्कने र त्यसका लागि कार्यदल बनाउन सहमत भएसँगै खनाल–नेपाल समूहको राजीनामा रोकिएको थियो । खनाल–नेपाल समूहले सामूहिक राजीनामा दिएको भए विपक्षी गठबन्धनलाई बहुमतको सरकार बनाउन सहज हुने थियो । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया