दलहरु औपचारिक र अनौपचारिक छलफलमा

 जेठ ८, २०७८ शनिबार ९:२२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रतिनिधि सभा विघटन भएर मध्यावधि चुनाव घोषणा भएसँगै राजनीतिक दलहरु औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् । 

गएराति राष्ट्रपति विद्यादेवी भण्डारीले कार्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको चुनाव गर्ने मिति तोकेर प्रतिनिधि सभा विघटन गर्नुभएको छ । 

त्यसबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ । 

देउवा निवास बुढानिलकण्ठमा केहीबेरमा बैठक सुरु हुने कांग्रेसका नेताहरुले बताएका छन् । यस्तै नेकपा माओवादी केन्द्रले पनि उत्पन्न परिस्थितिबारे बिहानैदेखि आन्तरिक छलफल सुरु गरेको छ । 

उत्पन्न राजनीतिक परिस्थितिबारे आफूहरु बिहानैदेखि औपचारिक र अनौपचारिक छलफलमा जुटेको नेता देव गुरुङले उज्यालोलाई जानकारी दिनुभयो । 

यस्तै जनता समाजवादी पार्टीका नेताहरु पनि बिहानैदेखि छलफलमा जुटेका छन् । जसपाले आज बिहान ११ बजेका लागि कार्यकारिणी बैठक डोकेको र बैठकले थप निर्णय गर्ने नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो । जसपामा अध्यक्ष महन्थ ठाकुर समूह तटस्थ बस्दा वैकल्पिक सरकार बनाउन विपक्षी गठबन्धनलाई समस्या भएको थियो । 

यस्तै नेकपा एमालेले पनि औपचारिक र अनौपचारिक छलफल सुरु गरेको छ । आज बेलुकासम्म अब कसरी अघि बढ्ने भन्नेबारे केही निर्णय आउने एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो। यस्तै अब कसरी अघि बढ्ने भन्नेबारे एमालेको खनाल-नेपाल समूहले पनि छलफल गर्दै छ ।  बिहान ११ बजे छलफलको समय तय भएको र अब कसरी अघि बढ्ने भन्नेबारे केही निर्णय गरिने खनाल-नेपाल समूहका नेता घनश्याम भुषालले जानकारी दिनुभयो । 

 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया