बजेटमा लोकप्रिय कार्यक्रम

 जेठ १५, २०७८ शनिबार १९:११:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले मतदातालाई खुशी पार्ने हिसाबले बजेट ल्याउने तयारी गरेको भन्दै आलोचना भैरहँदा सार्वजनिक भएको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् ।

अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा कोरोना रोकथाम र नियन्त्रणमा जोड दिइएको छ । खोप किन्न र अस्पतालको पूर्वाधार बढाउन पर्याप्त रकम विनियोजन गरिएको छ । कर्मचारीको तलब र ज्येष्ठ नागरिकको भत्ता बढाइएको छ । समग्रमा सरकारले वितरणमुखी बजेट बनाएको छ ।

बजेटमा समेटिएका केही लोकप्रिय कार्यक्रम यस्ता छन् :

सरकारी कर्मचारीको तलब बढ्यो

सरकारी कर्मचारीको तलब बढेको छ । सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँका दरले बढाएको हो । यो तलब साउन १ गतेदेखि लागू हुनेछ । महंगीभत्ता यथावत राखिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

वृद्धभत्ता अब मासिक ४ हजार

सरकारले वृद्धभत्ता बढाएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अब वृद्धभत्ता मासिक ४ हजार पुर्याइएको जानकारी दिनुभएको हो । उहाँले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको जानकारी पनि दिनुभयो ।

सरकारी कर्मचारीलाई भत्ता दिएर घुम्न पठाइने

सरकारले आन्तरिक पर्यटन बढाउन सरकारी कर्मचारीलाई घुम्न पठाउने भएको छ । आउँदो बजेटमा सरकारी कर्मचारीलाई घुम्न पठाउन प्याकेज घोषणा भएको छ । सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको घुम्ने रकम दिइने बजेटमा उल्लेख छ । यस्तै विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क छुट दिइएको छ ।

सुरक्षाकर्मीको रासन भत्ता बढ्यो

सरकारले सुरक्षाकर्मीको रासन भत्ता बढाएको छ । देशमा शान्ति, सुरक्षा कायम गर्ने काममा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढाउने बजेटमा उल्लेख छ ।

सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क

सरकारले देशभित्रका सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासङ्घको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार परिचयपत्रका आधारमा सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिनुभयो ।

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले स्नातक, स्नातकोत्तर वा त्यो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी बढीमा पाँच प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने जानकारी गराउनुभएको हो ।

खोप लिन बाँकी सबैलाई निःशुल्क

सरकारले कोरोना खोप खरिद तथा व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड विनियोजन गरेको छ । यस्तै सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

सरकारले भेन्टिलेटर तथा मेडिकल उपकरणका लागि चार अर्ब छुट्याएको मन्त्री पौडेलले बताउनुभयो । यस्तै सरकारले पालिकाहरुमा पठाउने बजेट रकम बढाएको छ । कोरोनाले ज्यान गुमाएकाका सन्तानलाई छात्रवृत्तिसँगै साना किसानलाई मल र बिउमा अनुदान दिने घोषणा पनि गरेको छ । सरकारले गरिबी निवारण कोष र सांसद विकास कोष खारेजी पनि गरेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ramesh patel

    May 29, 2021, 9:31 p.m.

    पछिल्लो बर्षको बजेट मा शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भनेको थियो तर पाइएन। मात्र मूर्ख बनाएको छ सरकारले । पाउने हो भने कहा कसरी के प्रक्रिया रहेको छ सब जानकारी दिनुपर्यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया