लुम्बिनी उपचुनावमा विपक्षी गठबन्धन बलियो

 जेठ १७, २०७८ सोमबार ७:४९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लुम्बिनी प्रदेशमा आज हुन गइरहेको राष्ट्रिय सभा उपचुनावमा विपक्षी गठबन्धन बलियो रहेको छ । वाग्मती प्रदेशमा भएको राष्ट्रिय सभा चुनावमा एमालेकै माधव-नेपाल समूहका प्रतिनिधिहरुले विपक्षी गठबन्धनका उम्मेदवारलाई मत दिँदा एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित हुनुभएको थियो । तर लुम्बिनीमा एमालेका असन्तुष्ट पक्षले मत नदिए पनि सङ्ख्याका हिसाबले विपक्षी गठनबन्धकै जित हुने देखिन्छ ।

लुम्बिनीमा एमालेका ३८ सांसद र ८७ पालिकाका प्रतिनिधिको गरी ३३ सय ९० मतभार छ । विपक्षी गठबन्धनमा कांग्रेसको १९ सांसद र ६६ पालिकाका प्रतिनिधि गरी २१ सय मतभार र माओवादीका १९ सांसद र ४२ पालिकाका प्रतिनिधि गरी १६ सय ६८ मतभार छ । कांग्रेस र माओवादीको मात्रै ३७ सय ६८ मतभार छ ।

विपक्षी गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद र पाँच पालिकाका प्रतिनिधि गरी एक सय ३८ मतभार छ । जसपाका ६ सांसद र १४ पालिका तहका प्रतिनिधि गरी चार सय ४४ मतभार छ । जसपा दुई सांसद गठबन्धनको पक्षमा छन्  । यस्तै, राप्रपाका दुई र स्वतन्त्रबाट निर्वाचित एक जनाको गरी एक सय ४४ मतभार छ ।

राष्ट्रिय राजनीतिमा आफ्नै पार्टीसँग असन्तुष्ट एमालेको खनाल–नेपाल पक्षसँग पनि लुम्बिनीमा उल्लेख्य मतदाता छन् । चुनावमा माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा चुनाव हुन लागेको हो । चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । उहाँलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन छ ।

विपक्षी गठबन्धनले कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उहाँ हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो । पाण्डेलाई माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ । मतदान आज बिहान नौ बजेदेखि सुरु हुँदैछ ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया