जबरजस्ती सामाजिक सुरक्षा कोषमा समावेश गराउन खोजे आन्दोलन गर्छाैँ : फियन

 जेठ २०, २०७८ बिहीबार १५:११:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ (फियन) ले आन्दोलनको चेतावनी दिएको छ । 

सामाजिक सुरक्षा कोषले एक सूचना निकाल्दै २०७८ असार मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सुचीकृत हुनका लागि निजी तथा सङ्गठित संस्थाहरूलाई आग्रह गरेको थियो । तर सरकारको नीति नियमअनुसार व्यावसायिक, पारदर्शी र अनुशासित रूपमा सञ्चालित बैंक, बीमा तथा वित्तीय संस्था तथा संस्थाका कर्मचारीलाई खाइपाइ आएकाे सेवा, सुविधा कटौती हुने गरी जबरजस्ती सामाजिक सुरक्षा योजनामा सरिक गराउन कोषले दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आकर्षक हुने गरी योजना नल्याइ षड्यन्त्रमूलक र दुराशयपूर्ण किसिमले कर्मचारीलाई मर्का पर्ने किसिमले सामाजिक सुरक्षा योजनामा लान खोजिएकाले आफूहरु विरोधमा उत्रिनुपरेको नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष पदमराज रेग्मीले बताउनुभयो ।

कोभिड–१९ महामारीका कारण बैंक तथा वित्तीय क्षेत्र सङ्कटमा परेको भन्दै यस्तो बेला कोषमा सूचीकृत हुन नसकिने सङ्घले जनाएको छ । अहिलेकाे व्यवस्थाहरू परिमार्जन गर्नुपर्ने सङ्घको ठम्याइ रहेको अध्यक्ष रेग्मीले बताउनुभयो । सामाजिक सुरक्षा कोषमा जबरजस्ती गरेर समावेश गराउन खोजे आन्दोलनमा उत्रिने अध्यक्ष रेग्मीले बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थाहरूमा कार्यरत कर्मचारीको स्वास्थ्य सुरक्षा, औषधि तथा स्वास्थ्य उपचारको व्यवस्थाका साथै यस क्षेत्रमा खोप लगाउन छुटेका कर्मचारी तथा कर्मचारीको कारणले जोखिममा परेका कर्मचारीका परिवारका सदस्यलाई समेत अनिवार्य खोपको व्यवस्था गर्न पनि सङ्घले माग गरेको छ ।  

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया