च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
खोप कहाँ, कहिले र कसरी लगाइन्छ भन्नेबारे पालिकाहरुसँग समन्वय गरेर थाहा पाउन सकिन्छ । सम्बन्धित जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको खोप समन्वय समितिको निर्णयको आधारमा जिल्लाभित्र कहाँ केन्द्र राख्ने, कसलाई लगाउने र कहिलेदेखि लगाउने भनेर निर्णय गरिएको हुन्छ ।
जिल्ला तहमा भएका निर्णय थाहा पाउनका लागि पालिकासँग समन्वय गर्नुपर्छ । सञ्चारमाध्यमबाट पनि खोपबारे सूचना वा जानकारी प्रवाह भइरहेको हुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले, खोप केन्द्रहरुलाई व्यवस्थित बनाउँदै सहज तरिकाले खोप लगाउने वातावरण बनाउनका लागि खोप केन्द्रमा खटिएकाहरुलाई निर्देशन दिएको छ ।
खोप केन्द्रमा भीडभाड हुन नदिन के गर्ने ?
खोप लगाउनुपर्ने व्यक्तिहरु अथवा लक्षित वर्गमा परेका व्यक्तिहरुका लागि खोप लगाउनका लागि पाँच, सात दिनको समयअवधि तोकिएको छ भने पहिलो र दोस्रो दिन धेरैजना एकैपटक गयौँ भने अवश्य पनि भीड हुन्छ । पहिलो दिन सहज हुनेले पहिलो दिन, दोस्रो दिन सहज हुनेले दोस्रो दिन र तेस्रो दिन सहज हुनेले तेस्रो दिन र अन्तिम दिनतिर सहज हुनेले अन्तिम दिन खोप लगाउन जाँदा धेरै भीडभाड नहुन सक्छ ।
अर्को कुुरा भनेको लक्षित वर्ग मात्र तोकिएको समयमा जानुपर्छ । लक्षित वर्गभन्दा बाहेकका अरु वर्ग खोप केन्द्रमा गएर मलाई पनि खोप चाहिन्छ भनेर अनावश्यक दबाब दिनु हुँदैन । आफ्नो पालोमा मात्र खोप लगाउन जानुपर्छ ।
आफू केको आधारमा खोप लगाउन जाँदैछु भन्ने कुराको ध्यान दिनु पर्छ । उमेर अनुसार हो भने उमेर खुल्ने परिचयपत्र साथमा लैजानुपर्छ । कुनै सेवाको आधारमा खोप लगाउन गइएको छ भने सेवा गरिरहेको हो भन्ने कुरा खुल्ने परिचयपत्र लैजानुपर्छ । अथवा कुनै अपाङ्गता भएका कारण खोप लगाउन गएको भए त्यसको पनि आवश्यक कागज साथमा लैजानुपर्छ । त्यस्तै विदेश जानुपर्ने कारणले खोप लगाउनु पर्नेछ भने विदेश जानुपर्ने कुरा उल्लेख गरिएको कागजात लैजानुपर्छ ।
खोप केन्द्रमा गएका जति सबै सुरक्षित हुँदैनन् । कोरोना भएर कसैलाई लक्षण देखिएको वा कसैलाई नदेखिएको हुन सक्छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ भने खोप केन्द्रमा जानु हुँदैन । छुटेकाहरुले पछि पनि खोप लगाउन पाइन्छ ।
‘सबैलाई पुग्ने गरी खोप ल्याउन तयारी भइरहेको छ’
खोप केन्द्रमा जाँदा भौतिक दूरी कायम गर्नुपर्छ । अनिवार्य रुपमा मास्क लगाउनुपर्छ । खोप केन्द्रबाट फर्किसकेपछि कसैले कोरोना सारेको छ कि भनेर आफ्ना सामानहरु बाहिर राख्ने, सरसफाइमा विशेष ध्यान दिने र दुई, चार दिन आफूलाई अनुगमन गर्न सके सङ्क्रमणको चक्र रोक्न सकिन्छ ।
जति धेरै खोप केन्द्र भयो, त्यति धेरै सहज हुन्छ । भीडभाड कम हुन्छ । ज्येष्ठ नागरिक लगायतका समस्या भएका नागरिकलाई जान सहज हुन्छ । तर कतिपय कुराहरु प्राविधिक कारण, स्वास्थ्यकर्मीको परिचालनको कारण र सुरक्षाको कारणले समस्या हुन सक्छ । अहिले खोपको धेरै माग छ । पछि खोप पाइँदैन कि भन्ने डर धेरैमा छ । सबैलाई पुग्नेगरी खोप ल्याउने तयारी भइरहेकाले डराउनु पर्दैन ।
केन्द्रहरु सकेसम्म धेरै बनाउनका लागि अनुरोध गरिएको छ । त्यसैअनुसार व्यवस्थापन गर्न अनुरोध पनि गरिएको छ । दैनिक रुपमा खोप केन्द्रहरुमा भइराखेका कुराहरुको विषयमा सरकारले समीक्षा गर्दै आएको छ । आफूले देखेका, सञ्चारमाध्यममा आएका र आयोजकहरुको रायका आधारमा समस्याको समाधान गर्ने प्रयास गरिएको छ ।
चाँडो भन्दा चाँडो खोप लगाएर फर्किनको लागि व्यवस्था गरिदिनका लागि सरकारले आग्रह गर्दै आएको छ । लामो समय लाइनमा नबस्ने गरी, भौतिक दूरी कायम गर्ने विषयमा ध्यान दिन उहाँहरुलाई भनिएको छ । खोप लगाउन आएकाहरुलाई सहज तरिकाले खोप लगाएर पठाउँनका लागि स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको छ ।
एक डोज लगाएर, दोस्रो डोज लगाउन नपाएकाहरु, अहिल्यै खोप लगाउन पाउनुपर्यो भन्नेहरु, पहिला एक डोज लगाएको तर अहिले लगाउन नमिल्ने लगायतका वर्गहरु केन्द्रमा आएका हुन सक्छन् । रिसाउन सक्छन् । यस्ता विभिन्न खालका मानिसहरु आउँदा कसैसँग झिँजो नमानिकन यथार्थ जे हो त्यही, मिठो भाषामा सम्झाएर व्यवस्थापन गर्न सबैलाई अनुरोध गरिएको छ ।
कोरोनाको बिरामीको उपचार स्वास्थ्यकर्मीहरुले निक्कै प्रभावकारी रुपमा गरिएकाले निक्कै प्रशंसा भएको छ । त्यो प्रशंसालाई पछिसम्म कायम राख्ने गरी व्यवहार गरिदिन अनुरोध गरिएको छ ।
आफ्नो र अर्को भनेर भेदभाव नगरौँ
स्वास्थ्यकर्मीहरुले तोकिएको मापदण्डभित्र रहेर सेवा दिनुपर्ने हुन्छ । यो आफ्नो मान्छे, यो अर्काको मान्छे भनेर भेदभाव गर्नु हुँदैन । लक्षित वर्गलाई तोकिएको मापदण्डभित्र रहेर खोप लगाइदिएमा व्यवस्थापनमा त्यति गाह्रो हुँदैन । सबै नेपालीलाई खोप लगाइदिनु पर्ने सरकारको दायित्व छ । त्यो सरकारले गर्छ । आफन्तको नाउँमा, चिनेजानेको नाउँमा दबाब दिएको भरमा तोकिएको मापदण्ड भन्दा बाहिर रहेर खोप नलगाइ दिन आग्रह छ ।
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा लाखौँ मानिस छन् । उनीहरुलाई दोस्रो मात्राको पनि सुनिश्चितता गरेर नै खोप लगाएको हो । तर भने अनुसारको समयभित्र खोप आइपुगेन। त्यही भएर केही समय उहाँहरुले कुर्नुपरेको अवस्था छ । पछिल्लो समय धेरै समन्वयात्मक विकासहरु भएका छन् ।
धेरै ठाउँबाट उनीहरुका लागि दोस्रो मात्रा खोप आइपुग्ने सुनिश्चितता भएको छ । तर देशभित्र खोप नआइकन खोप लगाइने समय सार्वजनिक गर्न मिल्दैन । जापान लगायतका देशहरुबाट चाँडै खोप ल्याउने प्रयासहरु भइरहेका छन्। खोप आउने बित्तिक्कै सार्वजनिक सूचना जारी गरेर खोप अभियानमा सहभागी हुन अनुरोध गरिन्छ ।
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीसँग गरिएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा. समिर अधिकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता हुनुहुन्छ ।
Deepak
July 19, 2021, 6:20 a.m.कोरोनाको खोप के बुढापाका हरुलाइमात्रै हो तरुनो तन्नेरी हरुलेचाही पचाउन सक्छ भनेर हो खोप नदेको अनि वैदेशिक रोजगारमा जाने श्रमिक हरुको लागि चै के गर्ने सर्कार